• १६ भदौ २०८१, आइतबार

सामुदायिक वनका पदाधिकारीको मिलेमतोमा काठ तस्करी

blog

नेपालगन्जस्थित डिभिजन वन कार्यालय, बाँके । तस्बिर: गजेन्द्र गुरुङ

खजुरा, साउन १२ गते । बाँकेको डुडुवा गाउँपालिकास्थित एक सामुदायिक वनका पदाधिकारीले काठ तस्करसँग मिलेर काठ चोरी तथा तस्करी गरेको उपभोक्ताले आरोप लगाएका छन् । डुडुवा गाउँपालिका वडा नम्बर ३, ४ र ५ रहेको गोकुल सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीलाई सोही वनका उपभोक्ताहरूले काठ चोरी तस्करी गरेको आरोप लगाएका हुन् ।

उक्त सामुदायिक वनका उपभोक्ता डुडुवा गाउँपालिका वडा नम्बर ३ का बडेलाल यादव, वडा नम्बर ५ का काशीराम यादव, सोही वडाका विजय यादव, रामलखन यादव र सूर्यलाल यादवले उक्त समूहका पदाधिकारीले तस्करसँग मिलेर उपभोक्ताको नाममा रसिद काटी, वनको टाँचा लगाई नियमविपरीत ३६४.१० क्यूफुट सिसौ जातको काठ विक्री गर्ने प्रयोजनले जानकी गाउँपालिका वडा नम्बर ६ पिप्रहवास्थित श्री शिवशङ्कर सः मिलमा काठ चिरानी गर्न लगेको हुँदा छानबिन गरी कारबाही गर्न भन्दै डिभिजन वन कार्यालय बाँकेमा उजुरी दर्ता गराएका छन् ।

डिभिजन वन कार्यालय बाँकेका अनुसन्धान अधिकृत रमेश बुढाथोकीले उक्त समूहका अध्यक्ष राजेश यादवले समूहको लेटर प्याडमा गत असार २४ गते काठ चिरानी गरी उपभोक्तालाई आन्तरिक खपत अन्तर्गत बिक्री वितरण गर्न भन्दै ३४ थान सिसौ जातको गोलियाको ३६४.१० क्यूफुट काठ चिरानी आदेश मागेको र उक्त वन कार्यक्षेत्रभित्र पर्ने नेपालगन्ज सब-डिभिजन वन कार्यालयको समेत उपभोक्तालाई आन्तरिक खपतमा विक्री वितरण गर्न मनासिब देखिएको भनी चिरानी सहमति दिनुहुन भनी पत्र प्राप्त भएकाले सोही अनुसार असार २५ गते वन कार्यालयबाट चिरानी सहमति दिइएको जानकारी दिनुभयो ।

वन कार्यालयले नेपालगन्ज सब-डिभिजन वन कार्यालयलाई चिरानी गर्न मिलमा लगिएको उक्त काठमा विवाद उत्पन्न भएको, आन्तरिक खपत बापतको रकम बैङ्क दाखिला भई नसकेको र समूहको अध्यक्षको एकल निर्णयले चिरानी सहमति माग भई आएको भनी उपभोक्ताहरूको उजुरी परेको भन्दै तत्काल काठ चिरानी कार्य रोक्का गर्न भन्दै निर्देशन दिएको अनुसन्धान अधिकृत बुढाथोकीले जानकारी गराउनुभयो ।

विवाद आइसकेपछि उक्त काठको छानबिन गर्नका लागि नेपालगन्ज सब-डिभिजन वन कार्यालयलाई स्थलगत जाँचबुझ गरी सत्य तथ्य पत्ता लगाई दोषी पाइएमा नियमानुसार कारबाहीको लागि पेस गर्न र उक्त काठलाई मिलबाट उठाएर सामुदायिक वनकै घाट गद्दीमा लैजाने व्यवस्था गर्न भनी निर्देशन दिइएको बुढाथोकीले जानकारी दिनुभयो ।

बाँकेमा रहेका विभिन्न सामुदायिक वनहरूमा उपभोक्ता समूहकै पदाधिकारीको मिलेमतोमा काठ चोरी तस्करी भएका घटनाहरू समय समयमा बाहिर आइरहेका हुन्छन् ।   

Author
गजेन्द्र गुरुङ

उहाँ बाँके (खजुरा)बाट रिपोर्टिङ गर्नुहुन्छ ।