• ८ जेठ २०८१, मङ्गलबार

हिलाम्मे सडक मर्मत गर्न श्रमदान

blog

ताप्लेजुङ समाचारदाता

ताप्लेजुङ, साउन ११ गते । फक्ताङ्लुङ गाउँपालिका–२, खेजेनिमका स्थानीय बासिन्दाले हिलाम्मे सडकको मर्मत गर्न श्रमदान अभियान सुरु गरेका छन् । वर्षा मौसममा कच्ची सडक हिलाम्मे भएर यातायात सञ्चालनमा हुँदै आएको सकसपूर्ण अवस्थालाई सहज बनाउने उद्देश्यसहित स्थानीय बासिन्दाले श्रमदान अभियान सुरु गरेका हुन् । 

खेजेनिमका युवा पङ्क्तिको अग्रसरतामा श्रमदान अभियान चलाई हिलाम्मे सडक मर्मत गर्न सुरु गरिएको स्थानीय पदम बुढा क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार सोमबारदेखि श्रमदान अभियान सुरु गरिएको छ । अभियान अन्तर्गत पहिलो दिन खेजेनिम पुछार हाङ्बुरुङ बेँसी क्षेत्रको हिलाम्मे सडकमा श्रमदान गरिएको उहाँले बताउनुभयो ।

श्रमदानमार्फत हिलाम्मे सडकमा सोलिङ (ढुङ्गा बिछ्याउने), फिलिङ (माटो सम्याउने) लगायतका कार्य गरिएको बुढा क्षेत्रीले जानकारी दिनुभयो । श्रमदान अभियान सुरु गरेको पहिलो दिन नै १०७ जना जनशक्ति स्वतःस्फूर्त रूपमा सहभागी भई सडक मर्मतको काममा जुटेको उहाँले बताउनुभयो । आफूसँग भएको बेल्चा, हम्मर, काटा, कोदालो, झम्पलजस्ता घरेलु औजारसहित स्थानीयवासी सडक मर्मत गर्न श्रमदानमा सहभागी भएका थिए ।

बर्खा मौसमसँगै कच्ची सडक हिलाम्मे हुनुका साथै ठाउँठाउँमा बिग्रिएर यातायात सञ्चालनमा समस्या भएपछि श्रमदान अभियान सञ्चालन गरी सडक मर्मतको कार्य गरिएको खेजेनिमका वडाध्यक्ष भूपेन्द्र चौलागाईंले बताउनुभयो । कुनै करकाप र दबाब नभई स्वतःस्फूर्त रूपमा सडक मर्मत गर्न खेजेनिमवासी श्रमदानमा जुटेको वडाध्यक्ष चौलागाईंको भनाइ छ । वडाका जनप्रतिनिधिसहित स्थानीय बासिन्दा जुटेर श्रमदान गरी यातायात सञ्चालनमा सहजता ल्याउने योजना बनाएको पनि उहाँले बताउनुभयो ।

खेजेनिमवासी युवाको अग्रसरतामा सुरु गरिएको श्रमदान अभियानलाई जारी राख्ने पनि स्थानीय दिलकुमार पतङ्वा लिम्बूले बताउनुभयो । गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) का स्वकीय सचिवसमेत रहनुभएका पतङ्वाका अनुसार हप्तामा एक दिन श्रमदान गरेर सडक मर्मतलगायत सार्वजनिक महìवका काममा जुट्ने योजना बनाउन सुरु गरिएको छ । 

खेजेनिम र फक्ताङ्लुङ गाउँपालिका–३, लिङ्खिम जोड्ने सिँवास्थित तमोर नदीमा पक्की मोटरेबल पुल भर्खंरै निर्माण सम्पन्न भएकाले पनि श्रमदान गर्नमा स्थानीयवासी उत्साहित भएका हुन् । हिउँद मौसममा मात्र यातायात सञ्चालन हुँदै आएको क्षेत्रमा मोटरेवल पुलका कारण बर्खा मौसममा पनि यातायात नियमित हुने भएपछि सडक मर्मतमा श्रमदान गर्न जाँगर चलेको एक जना स्थानीयवासीको भनाइ छ । थोरै सडक बिग्रिएको र हिलाम्मे भएको ठाउँमा मर्मत सम्भार गर्दा यातायात सुविधा पाउने भएपछि श्रमदान गर्न कठिनाइ नभएको उहाँले बताउनुभयो ।

सदरमुकाम फुङ्लिङदेखि दुर्गममा रहेको खेजेनिमका बासिन्दाले सडक मर्मत गरेपछि गाउँदेखि नै यातायात प्राप्त गर्ने छन् । गाउँगाउँसम्म सडक निर्माण भए पनि यसअघि तमोर नदीमा पुल नहुँदा खेजेनिमका बासिन्दाले यातायात सेवा उपभोग गर्न अर्थात् यात्रुलाई यात्रा गर्न र सामग्री ढुवानीका लागि सिँवा बजारसम्म धाउनुपर्ने अवस्था थियो । सिँवास्थित तमोर नदीमा मोटरेबल पुल निर्माण भएसँगै करिब डेढ महिनादेखि खेजेनिम तथा वडा–१, सावादिनका बासिन्दाले यातायातमा खेप्दै आएको सास्तीको अन्त्य भएको छ ।