• १३ असोज २०८१, आइतबार

ग्यालरी बैठक भवन प्रबलीकरण मङ्सिरदेखि सुरु हुन्छ : मन्त्री गुरुङ

blog

काठमाडौँ, साउन १० गते । सरकारले सिंहदरबारस्थित पुरानो संसद् (ग्यालरी बैठक) भवनको प्रबलीकरण आगामी मङ्सिरदेखि सुरु गर्ने तयारी गरिरहेको संसदीय समितिलाई जानकारी गराएको छ । राष्ट्रिय सभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिलाई मन्त्रालयका पदाधिकारीले ऐतिहासिक  राजनीतिक र नेपाली वास्तुकलाको महत्त्व बोकेको भवनलाई पुरानै शैलीमा प्रबलीकरण गरिने बताउनुभयो ।

समितिको आजको बैठकमा सहरी विकासमन्त्री सीता गुरुङले मुलुकको संसदीय इतिहासको साक्षीकारुपमा रहेको भवन र त्यहाँको वास्तुकलामा कुनै क्षति नपु¥याइ पुरानो शैली जस्ताको त्यस्तै ढाँचामा निर्माणका लागि कोसिस गरिने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “नेपालको संसदीय इतिहास र भवनबारे भावी पुस्ताले हेर्न तथा जान्न सकुन् भन्ने उद्देश्यले ग्यालरी बैठक भवनलाई संसदीय सङ्ग्रहालयकारुपमा विकास गर्न पुरानै ढाँचामा प्रबलीकरणको कार्ययोजना अघि बढाइएको छ ।”

ग्यालरी बैठक निर्माण योजना तयार गर्ने, बजेट व्यवस्थापन र कार्यक्रम कार्यान्वयनको सम्पूर्ण जिम्मा सहरी विकास मन्त्रालयको कार्यक्षेत्रभित्र पर्छ । पुरातात्त्विक प्रतिवेदनअनुसार ग्यालरी बैठक भवन एक सय वर्षभन्दा पुरानो भएको तथा माटोद्वारा निर्माण गरिएकाले प्रबलीकरण महँगो हुनसक्ने अनुमान गरिएको छ ।

उक्त भवन निर्माणका सन्दर्भमा परामर्शदाता नियुक्त भई डिजाइन कार्यअघि बढिसकेको र यही महिनाको अन्त्यसम्ममा प्रतिवेदन प्राप्त भएपछि निर्माणका लागि बोलपत्र आह्वान हुने भवन सहरी विकास तथा भवन विभागका महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “एक सय वर्षको इतिहासको प्राविधिक र महत्त्व बोकेको भवन जस्ताको त्यस्तै राख्न कोसिस गरिरहेका छौँ । प्रतिवेदन तयार भएपछि बोलपत्र आह्वान गर्छौ, स्रोत सुनिश्चितता गरी भित्रको डिजाइन र कलाकृतिलाई जस्ताको त्यस्तै राख्ने कोसिस हुनेछ ।” चालु आर्थिक वर्षमा उक्त भवन सबलीकरणका लागि रु १५ करोड बजेट विनियोजन भएको छ । उक्त भवन बहुवर्षीय योजनाको आधारमा निर्माण अघि बढाइने जानकारी दिइयो । 

वि.सं. २०७२ को भूकम्पबाट क्षतिग्रस्त बनेको उक्त भवन भत्काएर नयाँ बनाउने कि सबलीकरण गर्ने भन्ने सन्दर्भमा लामो बहस र छलफल भएको थियो । पछिल्ला केही वर्ष भवनको छानोबाट पानी चुहिएर भत्कने सम्भावना बढ्दै गएपछि प्लास्टिकले छोपेर राखिएको थियो । हाल उक्त भवन संसद् सचिवालयका बिग्रेका, भाँचिएका र तोडफोड भएका सामग्री थन्क्याउने थलोका रूपमा प्रयोग भइरहेको छ । 

वि.सं. २०१६ बाट प्रारम्भ भएको नेपालको संसदीय इतिहास त्यहीँ भवनबाट सुरु भएको हो । यसअघि बैठकमा सदस्यले नेपालीपन, वास्तुकला र चित्रकलाको विशिष्ट ओज बोकेको ग्यालरी बैठकको इतिहास मेटन नदिन गरिएको प्रयासले सार्थकता पाउन लागेको भनी महानिर्देशक श्रेष्ठले खुसी व्यक्त गर्नुभयो । 

समितिका सभापति मायाप्रसाद शर्माले भन्नुभयो, “भवन प्रबलीकरण हुने भएपछि हामीलाई निकै खुसी लागेको छ ।” सदस्य तुलसाकुमारी दाहाल र गरिमा शाहले भवन निर्माणमा नेपालीपन  र परम्परागत शैली झल्कनुपर्नेमा जोड दिनुभयो । सदस्य गोमा तिमिल्सिनाले भन्नुभयो, “पुराना संरचना मुलुकको धरोहर हुन्, सकेसम्म त्यो शैली जोगाउनुपर्छ । प्रबलीकरण गरिएपछि यो समितिको पहिलो बैठक त्यही बस्नुपर्छ ।” 

मुलुकको संसदीय इतिहासमा लामो समयसम्म प्रतिनिधिसभाको बैठक त्यही भवनमा बस्ने गरेकोमा संविधान सभा निर्वाचनपछि सदस्यको सङ्ख्या ६०१ भएसँगै नयाँ बानेश्वरको सम्मेलन केन्द्रमा संसद् सरेको हो । रासस