गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस ११ गते । टेलिशृङ्खला ‘सक्किगो नि’ समूहद्वारा निर्माण भएको चलचित्र ‘लाज शरणम्’ को अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री भएको छ । शिवरात्रिको अवसर पारेर फागुन १४ गते प्रदर्शन गर्ने तयारीमा रहेको यो चलचित्रको भारतबाहेकको अन्तर्राष्ट्रिय वितरण अधिकार सेभेन सिज इन्टरनेसनलले खरिद गरेको हो । निर्माण कम्पनी जेपिटी क्रियसनका तर्फबाट अर्जुन घिमिरे ‘पाँडे’ र वितरण कम्पनीका तर्फबाट प्याट्रिक सुवेदीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।
सेभेन सिज इन्टरनेसनलले ‘लाज शरणम्’ लाई दुई चरणमा विभाजित गरी अन्तर्राष्ट्रिय बजारमा वितरण गर्ने योजना बनाएको छ । वितरक सुवेदीका अनुसार ‘लाज शरणम्’ आगामी फेब्रुअरी २८ र मार्च ७ तारिखमा विभिन्न देशमा प्रदर्शन गरिने छ । कुन कुन देशमा प्रदर्शन हुने भन्ने विस्तृत जानकारी भने चाँडै सार्वजनिक गरिने सुवेदीले बताउनुभयो । नेपालमा भने चलचित्रलाई ब्याङ्कटेस इन्टरटेनमेन्टले जिम्मा लिएको छ । कुमार कट्टेल ‘जिग्री ब्रो’ द्वारा निर्देशित चलचित्रमा विजय बराल, मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामासँगै सक्किगो नि टिमबाट अर्जुन घिमिरे, सागर लम्साल (बले), हरिष निरौला (कक्रोज), प्रियाना आचार्य (मुन्नी), कमलमणि नेपाल (खुपीका बाउ) लगायतका कलाकारको अभिनय रहेको छ ।