• ११ पुस २०८१, बिहिबार

मेघौलीमा राष्ट्रिय खाना महोत्सव हुँदै

blog

शान्ता अधिकारी

चितवन, पुस ११ गते । भरतपुर भ्रमण वर्ष २०२४ वार्षिकोत्सवको अवसर पारेर पश्चिम चितवनको मेघौलीमा राष्ट्रिय खाना महोत्सव आयोजना गरिने भएको छ । नारायणी र राप्ती नदी किनारको रमणीय मेघौली क्षेत्रको पर्यटकीय सम्भावना अभिवृद्धि गरी त्यस क्षेत्रको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवर्धन गराउने उद्देश्यका साथ उक्त महोत्सव गर्न लागिएको हो । 

स्थानीय सङ्घ संस्थाको साझेदारीमा भरतपुर महानगरपालिकाले आयोजना गर्न लागेको महोत्सवबारे जानकारी दिन बुधबार आयोजित पत्रकार भेटघाटमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भ्रमण वर्षको समयमा लक्ष्यभन्दा बढी पर्यटक महानगरमा भित्रिएको दाबी गर्नुभयो । 

महानगरपालिकाभित्र एक वर्षमा बाह्य दुई लाख र आन्तरिक १० लाख पर्यटकले अवलोकन गरेका छन् । भरतपुर भ्रमण वर्षले यहाँका पर्यटकीय क्षेत्रको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवर्धनमा टेवा पुगेको, आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्विमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उहाँको भनाइ थियो । भरतपुर भ्रमण वर्षले महानगरभित्र पर्यटन विकासका पूर्वाधार थपिएको, होटेल रेस्टुरेन्टमा सेवास्तर वृद्धि भएको, पर्यटकको सङ्ख्या, बसाइ अवधि एवं आर्थिक क्रियाकलापमा वृद्वि भएको जानकारी उहाँले दिनुभयो । भ्रमण वर्षको वार्षिकोत्सव अवसर पारेर आयोजना गर्न लागिएको मेघौली राष्ट्रिय खाना महोत्सवले यस क्षेत्रको पर्यटन प्रवर्धनमा थप टेवा पुग्नेमा आफू विश्वस्त रहेको उहाँले बताउनुभयो । महानगर उपप्रमुख चित्रसेन अधिकारीले भ्रमण वर्षले महानगरपालिकाको विकास सँगै जनतालाई प्रत्यक्ष लाभान्वित गराउन सफल हुने दाबी गर्नुभयो । महोत्सव मूल आयोजक समितिका संयोजक मायाराम चौधरीका अनुसार जानकी माध्यमिक विद्यालय परिसरमा आयोजना गरिने महोत्सवमा ५० वटा स्टल रहने छन् । पुस १२ देखि १६ गतेसम्म सञ्चालन हुने उक्त महोत्सवमा विशेष गरी स्थानीय (रैथाने) खानाका परिकारलाई प्राथमिकतामा राखिने छ ।

एक लाखभन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको महोत्सवमा स्थानीय थारू, कुमाल, दराई, मगर, गुरुङ, बोटे, मुसहर समुदायसहितका स्थानीय जातका खाना राखिने छ । स्थानीय समुदायको जीवनस्तरमा सुधार ल्याउन महोत्सव फलदायी हुने संयोजक चौधरीले बताउनुभयो । महोत्सवमा स्थानीय खानासँगै ७८ औँ जिल्लाको उपमा पाएको ७७ जिल्लाको प्रतिनिधत्व गरेको ७७ मिटर लम्बाइको नेपालको नक्सा विशेष आकर्षकका रूपमा बनाइने छ ।