• ११ पुस २०८१, बिहिबार

पाँच वस्तुले बढायो निर्यात व्यापार

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस ११ गते । चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा निर्यातमा झन्डै १७ प्रतिशतले वृद्धि भएको छ । अन्य महिनामा घट्दै गएको निर्यात व्यापार मङ्सिर महिनामा आएर ह्वात्तै बढेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।  

यसरी निर्यात व्यापार बढाउने पाँच वस्तु छन् । ती हुन् : सोयाबिन तेल, अलैँची, सूर्यमुखी तेल, कार्पेट र चिया । यिनै वस्तुका कारण समग्र निर्यात व्यापार बढेको छ ।

पाँच महिनामा निर्यात १६.५४ प्रतिशतले बढेर ७३ अर्ब  ६५ करोड ९७ लाख रुपियाँको निर्यात भएको तथ्याङ्क छ । कात्तिकसम्मको तुलनामा मङ्सिरमा २१ अर्ब रुपियाँले बढेको छ । कात्तिकसम्म ५२ अर्ब ६७ करोड ७१ लाख रुपियाँको निर्यात भएको थियो । 

निर्यात भएका वस्तुमध्ये पहिलो नम्बरमा सोयाबिन तेल रहेको छ । पाँच महिनाको अवधिमा आठ अर्ब ३६ करोड ८१ लाखको सोयाबिन तेल भारत निर्यात 

भएको छ । व्यवसायीले तेस्रो मुलुकबाट सोयाबिनको कच्चा पदार्थ आयात गरी नेपालमा ल्याएर रिफाइन गरेर भारत निर्यात गर्छन् । भारतले तेल आयातको भन्सार बढाएपछि व्यवसायी स्वदेशमा भन्दा निर्यातमा केन्द्रित छन् । 

नेपालबाट निर्यात हुने दोस्रोमा अलैँचीको निर्यात तीन अर्ब ४५ करोड ६३ लाख रुपियाँको भएको छ । तेस्रोमा नम्बरमा रहेको सूर्यमुखी तेलको निर्यात दुई अर्ब ९७ लाख ६१ करोड रुपियाँको निर्यात भएको छ । सूर्यमुखी तेल पनि विशेष गरी भारत निर्यात भएको छ । यस्तै पाँच महिनामा दुई अर्ब ८३ करोड ५४ लाखको कार्पेट निर्यात भएको छ । यस अवधिमा दुई अर्ब ५६ करोड ९५ लाखको चिया निर्यात भएको छ । चिया भारतमै निर्यात भएको छ ।

भारतबाहेक युरोप र अमेरिकी मुलुकमा नेपाली अर्थोडक्स चियाको माग पनि उत्तिकै छ । पाँच महिनामा दुई अर्ब ३९ करोड ७४ लाखको धागो, दुई अर्ब १० करोड ७६ लाखको स्टिल तथा आइरन निर्यात भएको छ । दुई अर्ब तीन करोड ८३ लाखको जुस र दुई अर्ब दुई करोड ६९ लाखको जुट पनि निर्यात भएको छ । व्यापारविज्ञ रविशङ्कर सैजु सोयाबिन तेलको निर्यात बढेर कुल निर्यातमा वृद्धि भए पनि दीर्घकालीन नहुने बताउनुहुन्छ । “व्यवसायीले बाहिरी मुलुकबाट कच्चा तेल ल्याएर प्याकेजिङ गरेर सिधै पठाउने गर्छन्,” उहाँले भन्नुभयो, “यसले नेपालमा भ्यालुएड पनि कम हुने र रोजगारी सिर्जना नहुने हुँदा निर्यातमा सकारात्मक प्रभाव देखिँदैन ।” निर्यात बढाउन कच्चा आयात गरेर भन्दा पनि स्वदेशी उत्पादन बढाएर निर्यात बढाउनेतर्फ लाग्नुपर्ने उहाँको भनाइ छ । 

भारतले गत भदौ १९ बाट लागु हुने गरी कच्चा र प्रशोधित खाद्य तेलमा आधारभूत भन्सार कर २० प्रतिशतले बढाएको थियो  । नेपालमा ३० प्रतिशत मूल्य अभिवृद्धिसहित उत्पादन भएको वस्तुले भारतीय बजारमा भन्साररहित प्रवेश पाउँछन् । सोही सुविधाको फाइदा उठाउँदै तेल उद्योगीले स्वदेशमा भन्दा भारततर्फ बिक्री केन्द्रित गरेका छन्, जसले गर्दा निर्यात बढेको उहाँको भनाइ छ  । 

चालु आवको पाँच महिनामा चार अर्ब ९६ करोड ३३ लाख रुपियाँ बराबरको दुई लाख ४६ हजार ४०४ वर्ग मिटर गलैँचा निर्यात भएको छ ।