काठमाडौं, पुस ९ गते । सभामुख देवराज घिमिरेले प्रेसमाथि अङ्कुश लगाउने कानुन बन्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल पत्रकार महासङ्घको नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरूलाई निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा सभामुखले आफू प्रेस स्वतन्त्रता रक्षा गर्न प्रतिबद्ध रहेको बताउँदै प्रेसमाथि अङ्कुश लगाउने गरी कानुन नबनाउने बताउनुभएको हो ।
“नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको छ,” सभामुख घिमिरेले भन्नुभयो,“प्रेस स्वतन्त्रतलाई कुण्ठित हुने गरी कुनै पनि कानुन बनाइने छैन ।”
सभामुख घिमिरे र निर्वाचन समितिका प्रमुख प्रा.चिरन्जीवी खनालले नवनिर्वाचित पदाधिकारी तथा कार्यसमितिका सदस्यलाई प्रमाणपत्र प्रदान गर्नुभयो ।
महासङ्घका अध्यक्ष निर्मला शर्माले पत्रकार महासङ्घको गरिमालाई कायम राख्दै प्रेस स्वतन्त्रता र पत्रकारको पेसागत सुरक्षाका लागि लडिरहने प्रतिबद्धत्ता व्यक्त गर्नुभयो । महासङ्घका पूर्वसभापति हरिहर विरहीले सङ्गठनलाई सबै पत्रकारको साझा संस्थाका रूपमा विकास गर्नु सुझाव दिनुभयो । रासस