• ५ पुस २०८१, शुक्रबार

सङ्घीयता कार्यान्वयनमा जोड दिन सभामुखको आग्रह

blog

सभामुख देवराज घिमिरे राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको स्मारिका बिमोचन कार्यक्रममा बोल्नुहुँदै ।

काठमाडौं, पुस ५ गते । सभामुख देवराज घिमिरेले सङ्घीयताको कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभएको छ । शुक्रबार राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको स्मारिका बिमोचन कार्यक्रममा बोल्नुहुँदै सभामुख घिमिरेले सङ्घीयता कार्यान्वयनमा जोड दिन आवश्यक रहेको बताउनुभएको हो ।

अहिले सङ्घीयता चाहिँदैन भन्ने टिप्पणीहरु बढिरहेको भन्दै सङ्घीयताको सही कार्यान्वयन आवश्यक भएको उहाँको भनाइ छ । उहाँले सङ्घीयतासँग सम्बन्धित निकायहरुलाई बलियो पार्ने कानुन बनाउनेदेखि लिएर व्यवहारमा कार्यान्वयन गरेर जानुपर्ने आजको आवश्यकता भएको बताउनुभयो ।

‘‘आज सङ्घीयता चाहिँदैन भन्ने टिप्पणीहरु बढी आइरहेको छ । सङ्घीयतालाई कार्यान्वयन गर्नका लागि हामीले गर्नुपर्ने कामहरु कति गर्‍यौँ । सङ्घीयतासँग सम्बन्धित निकायहरुलाई बलियो पार्ने कानुन बनाउनेदेखि लिएर व्यवहारमा काम गर्नेदेखि कामहरु कति गरेका छौँ ।,’’ उहाँले भन्नुभयो, ‘‘त्यहाँ कामका लागि के अनुभव आए त्यो टिप्पणी हुनुपर्छ । सङ्घीयता खर्चिलो भयो, व्यवहारिक भएन, स्रोतको  दुरुपयोग भयो, दोहनका लागि मात्रै सबै कोशिस भयो भन्नेकुराहरु भइरहेको छ ।’’

सभामुख घिमिरेले कानुन र बुझाइको क्षमताको अभावका कारण सङ्घीयता कार्यान्वयन हुन नसकिरहेको बताउनुभयो । उहाँले सङ्घीयताको सफल कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय सरकारले एक भएर काम गर्न जरुरी रहेको जानकारी दिनुभयो ।

‘‘सानो मुलुक, अन्त जे भएको छ, त्यो हेर्दा बेठिक नै भएको छ भन्ने कोणबाट हेर्ने कोशिस गरिएको छ । अब कार्यान्वयन गर्दा ल्याएका कुराहरु के बेठिक भए कार्यान्वयनबाट प्रमाणित गर्ने मेहनत हामीले गर्नुपर्छ । कानुनको, बुझाइको, क्षमताको अभावमा ति कुराहरु अड्किएका छन् । त्यसलाई पूरा गर्न के गर्न सकिन्छ, त्यसमा संघ, प्रदेश र स्थानीय सरकारले ध्यान दिनुपर्छ । संविधान संशोधनमा आफ्नै तर्कहरुबाट सङ्घीयतासम्बन्धी बहस गराउने कोशिस भएको छ ।’’ सभामुख घिमिरेले संविधान संशोधनमा आफ्नै तर्कहरुबाट सङ्घीयतासम्बन्धी बहस छेड्ने कोशिस भइरहेको बताउनसभयो ।