• ११ पुस २०८१, बिहिबार

तातोपानी नाकाबाट विद्युतीय सवारीसाधनको आयात बढ्दै

blog

चित्र मिजार

सिन्धुपाल्चोक, पुस ११ गते । पछिल्लो समय तातोपानी नाकाबाट विद्युतीय सवारीसाधनको आयात बढेको छ । यस नाकाबाट विशेष गरी विद्युतीय कार आयात भइरहेका छन् ।

चालु आर्थिक वर्ष २०८१/८२ को मङ्सिरसम्ममा चीनबाट एक हजार ४४० विद्युतीय सवारीसाधन भित्रिएको तातोपानी भन्सारका सूचना अधिकृत सूर्यप्रसाद काफ्लेले जानकारी दिनुभयो । दसैँतिहारमा बढी विद्युतीय सवारीसाधन आयात भएका थिए ।

गत असोज ११ र १२ गतेको अविरल वर्षापछिको बाढीपहिरोले कोदारी राजमार्ग २६ दिन अवरुद्ध भएको थियो । राजमार्ग अवरुद्ध बनेपछि चीनबाट आउँदै गरेका विद्युतीय सवारीसाधन तिब्बतको खासा क्षेत्रमा नै रोकिएका थिए । बाढीले बगाएको लार्चा पुल र लिपिङखोलामा अस्थायी संरचना हालेर यातायातका साधन सञ्चालनमा ल्याइएपछि खासामा रोकिएका विद्युतीय सवारीसाधन तातोपानी भन्सार कार्यालयको यार्डमा ल्याइएको काफ्लेले बताउनुभयो । 

यसअघि तीन अर्ब ९२ करोड ७६ हजार रुपियाँ बराबरको विद्युतीय गाडी भन्सार भएर राजधानी पुगेको उहाँले जानकारी दिनुभयो । त्यसबाट दुई अर्ब ११ करोड २७ लाख ५४ हजार रुपियाँ राजस्व सङ्कलन भएको थियो । 

मङ्सिरदेखि यता आयात भएका दुई सयभन्दा बढी विद्युतीय सवारीसाधन भन्सार यार्डमा रही राजस्व प्रक्रियामा रहेको भन्सार कार्यालयले जनाएको छ । 

१५ देखि २५ सिट भएका मिनी बस ४७ वटा, ११ देखि १४ सिट भएका माइक्रो बस १०९ वटा, ५० किलोवाटका कार, जिप, भ्यान ११७ वटा, ५१ देखि एक सय किलोवाटका ८९९ वटा कार, जिप, एक सय एकदेखि दुई सयसम्मका कार, जिप भ्यान १३४ वटा, दुई सय एकदेखि तीन सय किलोवाटका दुई र तीन सय किलोवाटभन्दा माथिका एक वटा कार र फोरह्विल ३१ वटा गाडी आयात भएको काफ्लले बताउनुभयो । 

सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष उमेश प्रधानले पछिल्ला समय चीनबाट विद्युतीय सवारीसाधन आयात वृद्धिले मुलुकका अर्थतन्त्रमा विशेष महत्व राख्ने बताउनुभयो । 

तातोपानी नाकाबाट आयातसँगै निर्यातका वातावरण निर्माण गर्न नेपाल सरकारले चिनियाँ सरकारसँग कूटनीतिक पहलमा लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । नाका दुईतर्फी सञ्चालनमा आएको लामो समय हुँदासमेत अहिलेसम्म नेपाली उत्पादन चीनतर्फ निर्यात हुन पाएको छैन । चीनतर्फ निर्यात नहुँदा नेपाली वस्तु उत्पादन र बिक्रीमा लागेका व्यापारी व्यवसायीहरू विस्थापित हुने अवस्थामा पुगेका छन् ।