• ११ पुस २०८१, बिहिबार

कर्णाली डेभलपमेन्ट बैङ्क समस्याग्रस्त

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस ११ गते । नेपाल राष्ट्र बैङ्कले कर्णाली डेभलपमेन्ट बैङ्कलाई समस्याग्रस्त संस्था घोषणा गरेको छ । केन्द्रीय बैङ्कको बुधबार बसेको सञ्चालक समितिको बैठकले बाँकेको नेपालगन्जमा केन्द्रीय कार्यालय रहेको उक्त बैङ्कलाई समस्याग्रस्त घोषणा गर्ने निर्णय गरेको हो । समस्याग्रस्त घोषणासँगै कर्णालीको सम्पूर्ण व्यवस्थापन नेपाल राष्ट्र बैङ्कले लिएको छ । 

कर्णाली डेलभपमेन्ट बैङ्कले राष्ट्र बैङ्कले तोकेको न्यूनतम पुँजीकोष अनुपात कायम नगरेको, संस्थागत सुशासनको अवस्था कमजोर भएको, आर्थिक हिनामिनाको आशङ्का भएको राष्ट्र बैङ्कले जनाएको छ । त्यस्तै कमजोर तरलता स्थितिसँगै संस्थाले भुक्तानी गर्नुपर्ने निक्षेप दायित्व पूरा गर्न नसकेको पनि केन्द्रीय बैङ्कले समस्याग्रस्त घोषणा गर्नुपर्ने कारणमा उल्लेख गरेको छ । 

संस्थाबाट प्राप्त वित्तीय अपचलनको जानकारीसमेतका आधारमा संस्थालाई यथास्थितिमा सञ्चालन हुन दिँदा निक्षेपकर्ताको हित सुरक्षित नहुने र बैङ्किङ प्रणालीप्रति अविश्वास सिर्जना हुने अवस्था देखिएकाले सर्वसाधारणको हित कायम गर्न संस्थालाई समस्याग्रस्त घोषणा गरी नियन्त्रणमा लिइएको राष्ट्र बैङ्कले जनाएको छ । 

केन्द्रीय बैङ्कले यसअघि पनि कर्णाली डेभलपमेन्ट बैङ्कले तोकेबमोजिमको न्यूनतम पुँजीकोष अनुपात कायम नगरेको, निष्क्रिय कर्जा अनुपात ४०.८५ प्रतिशत रहेकोलगायतका कारण देखाएर २०८१ मङ्सिर ११ गतेदेखि लागु हुने गरी शीघ्र सुधारात्मक कारबाही गरेको थियो । उक्त कारबाहीपछि पनि संस्थामा कुनै सुधार नआएपछि नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ को दफा ८६ (ख) बमोजिम उक्त संस्थालाई सञ्चालक समितिले बुधबार समस्याग्रस्त घोषणा गर्ने निर्णय गरेको हो । 

समस्याग्रस्त घोषणापछि उक्त संस्था सञ्चालनका निम्ति बैङ्क तथा वित्तीय संस्था नियमन विभागका उपनिर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समूह गठन गरिएको राष्ट्र बैङ्कले जनाएको छ । उक्त समूहमा वित्तीय संस्था सुपरिवेक्षण विभागका उपनिर्देशक विष्णुकुमार विश्वकर्मा र कानुन महाशाखाका उपनिर्देशक जुगलकिशोर कुशवाहा सदस्य हुनुहुन्छ । 

व्यवस्थापन समूहलाई सञ्चालक समिति र संस्थाको विशेष साधारण सभाको समेत काम, कर्तव्य र अधिकारको प्रयोग गर्ने गरी सञ्चालक समितिले अख्तियार प्रदान गरेको छ । 

त्यस्तै समूहलाई सर्वसाधारणको हित संरक्षणलाई केन्द्रित गर्दै बचतकर्ताको बचत भुक्तानी र संस्थाको ऋण असुलीलाई प्राथमिकता दिई कार्य गर्ने, संस्थाको ड्यु डेलिजेन्स अडिट सम्पन्न गराउन आवश्यक कार्य गर्ने, संस्थामा भएका वित्तीय अपचलनउपर आवश्यक छानबिन गरी कानुनी कारबाहीको प्रक्रिया अघि बढाउने अख्तियारी पनि सञ्चालक समितिले प्रदान गरेको छ । 

कारोबार रोक्का गर्न पत्र

समस्याग्रस्त घोषणा भएसँगै कर्णाली डेभलपमेन्ट बैङ्कको कारोबार रोक्न राष्ट्र बैङ्कले बुधबार नै धितोपत्र बोर्डलाई पत्र पठाएको जनाएको छ । यससँगै बिहीबारदेखि दोस्रो बजारमा कर्णाली डेभलपमेन्ट बैङ्कको कारोबार रोक्का हुने छ । मङ्गलबार बैङ्कको प्रतिसेयर कारोबार ३३ रुपियाँ २० पैसाले बढेर ८१० रुपियाँ कायम भएको थियो ।