• ११ पुस २०८१, बिहिबार

राप्रपा सभापति गैह्रेको निधन

blog

स्वर्गीय सागर गैह्रे ।

राधाकृष्ण डुम्रे

वालिङ, पुस १० गते । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता सागर गैह्रेको निधन भएको छ । स्याङ्जा क्षेत्र नं. २ (क) का सभापति समेत रहनु भएका नेता गैह्रेको ६२ वर्षको उमेरमा मङ्गलबार राति निधन भएको उहाँका दाजु जगदिशप्रसाद गैह्रेले जानकारी दिनुभयो । 

गैह्रे २०५४ सालको स्थानीय निकायको चुनावमा नेपाली कांग्रेसको तर्फबाट तत्कालीन तिन्दोबाटे गाविसको उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो । यस्तै, गत प्रदेश सभा सदस्य निर्वाचनमा राप्रपाको तर्फबाट स्याङ्जा क्षेत्र नं. २ (क) को उम्मेद्वार समेत रहनुभएको थियो । 

विभिन्न विद्यालय तथा सामाजिक सङ्घ संस्थाको नेतृत्व समेत गर्नु भएका गैह्रे उच्च रक्तचाप उपचारका क्रममा हुनुहुन्थ्यो । उपचारपछि गैह्रेलाई मङ्गलबार मात्र वालिङ नगरपालिका –१० आम्बोट–मोहोरियामास्थित घरमा ल्याइएको परिवारले जनाएको छ । 

गैह्रेको बुधबार राम्दीस्थित कालीगण्डकी तटमा अन्तिम संस्कार गरिएको परिवारले जनाएको छ । सो अवसरमा राप्रपाको तर्फबाट पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरिएको छ । स्वर्गीय गैह्रेका श्रीमती, चार छोरी र एक छोरा छन् ।