• २० असोज २०८१, आइतबार

हिलाम्मे सडक मर्मतमा श्रमदान अभियान

blog

हिलाम्मे सडक मर्मतमा श्रमदान गर्दै खेजेनिमका स्थानीयहरु ।

चन्द्र पन्दाक

ताप्लेजुङ, साउन ९ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका-२ खेजेनिमका स्थानीयले हिलाम्मे सडकको मर्मत गर्न श्रमदान अभियान सुरु गरेका छन् । बर्खा मौसममा कच्ची सडक हिलाम्मे भएर यातायात सञ्चालनमा हुँदै आएको सकसपूर्ण अवस्थालाई सहज बनाउने उद्देश्यसहित स्थानीयले श्रमदान अभियान सुरु गरेका हुन् । 

खेजेनिमका युवा पङ्क्तिको अग्रसरतामा श्रमदान अभियान चलाई हिलाम्मे सडक मर्मत गर्न सुरु गरिएको स्थानीय पदम बुडाक्षेत्रीले जानकारी दिनुभयो । बुडाक्षेत्रीका अनुसार सोमबारदेखि श्रमदान अभियान सुरु गरिएको छ । अभियानअन्तर्गत पहिलो दिन खेजेनिम पुछार हाङ्बुरुङ बेसी क्षेत्रको हिलाम्मे सडकमा श्रमदान गरिएको उहाँले बताउनुभयो ।

श्रमदानमार्फत हिलाम्मे सडकमा सोलिङ (ढुङ्गा बिछ्याउने), फिलिङ (माटो सम्याउने) लगायतका कार्य गरिएको बडाक्षेत्रीले जानकारी दिनुभयो । श्रमदान अभियान सुरु गरेको पहिलो दिन नै १०७ जना जनशक्ति स्वतःस्फूर्त रूपमा सहभागी भई सडक मर्मतको काममा जुटेको उहाँले बताउनुभयो । आफूसँग भएको बेल्चा, हम्मर, काटा, कोदालो, झम्पलजस्ता घरेलु औचारसहित स्थानीयवासी सडक मर्मत गर्न श्रमदानमा सहभागी भएका थिए ।

बर्खा मौसमसँगै कच्ची सडक हिलाम्मे हुनुका साथै ठाउँ–ठाउँमा बिग्रिएर यातायात सञ्चालनमा समस्या भएपछि श्रमदान अभियान सञ्चालन गरी सडक मर्मतको कार्य गरिएको खेजेनिमका वडाध्यक्ष भूपेन्द्र चौलागाईंले बताउनुभयो । कुनै करकाप र दबाब नभई स्वतःस्फूर्तता सडक मर्मत गर्न खेजेनिमवासी श्रमदानमा जुटेको वडाध्यक्ष चौलागाईंको भनाइ छ । वडाका जनप्रतिनिधिसहित स्थानीय जनता जुटेर श्रमदान गरी यातायात सञ्चालनमा सहजता ल्याउने योजना बनाएको पनि उहाँले बताउनुभयो ।

खेजेनिमबासी युवाहरूको अग्रसरतामा सुरु गरिएको श्रमदान अभियानलाई जारी राख्ने पनि स्थानीय दिलकुमार पतङ्वा लिम्बूले बताउनुभयो । गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) का स्वकीय सचिवसमेत रहनुभएका पतङ्वाका अनुसार हप्तामा एकदिन श्रमदान गरेर सडक मर्मतलगायत सार्वजनिक महत्वका कामहरूमा जुट्ने योजना बनाउन सुरु गरिएको छ । श्रमदान अभियानमा सहभागिता जनाउन वडावासीहरू साथ रहनुभएको पनि उहाँले बताउनुभयो ।

खेजेनिम र फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिम जोड्ने साँवास्थित तमोर नदीमा पक्की मोटरेबल पुल भर्खरै निर्माण सम्पन्न भएकाले पनि श्रमदान गर्नमा स्थानीयवासी उत्साहित भएका हुन् । हिउँद मौसममा मात्र यातायात सञ्चालन हुँदै आएको क्षेत्रमा मोटरेबल पुलका कारण बर्खा मौसममा पनि यातायात नियमित हुने भएपछि सडक मर्मतमा श्रमदान गर्न जाँगर चलेको एकजना स्थानीयको भनाइ छ । थोरै सडक बिग्रिएको र हिलाम्मे भएको ठाउँमा मर्मत सम्भार गर्दा यातायात सुविधा पाउने भएपछि श्रमदान गर्न कठिनाइ नभएको उहाँले बताउनुभयो ।

सदरमुकाम फुङ्लिङदेखि दुर्गममा रहेको खेजेनिमका बासिन्दाले सडक मर्मत गरेपछि गाउँदेखि नै यातायात प्राप्त गर्ने छन् । गाउँ–गाउँसम्म सडक निर्माण भएपनि यसअघि तमोर नदीमा पुल नहुँदा खेजेनिमका बासिन्दाले यातायात सेवा उपभोग गर्न अर्थात् यात्रुलाई यात्रा गर्न र सामग्री ढुवानीका लागि सिँवा बजारसम्म धाउनुपर्ने अवस्था थियो । साँवास्थित तमोर नदीमा मोटरेबल पुल निर्माण भएसँगै करिब डेढ महिनादेखि खेजेनिम तथा वडा १ सावादिनका बासिन्दाले यातायातमा खेप्दै आएको सास्तीको अन्त्य भएको छ ।

यता गाउँपालिकाले पालिकावासीलाई सेवा दिनका लागि भर्खरै दुईवटा एम्बुलेन्ससमेत खरिद गरेर सञ्चालनमा ल्याएको छ । सामान्य यातायात सुविधासहित गाउँमा बिरामी पर्दा वा अन्य अप्ठ्यारो परेको अवस्थामा गाउँपालिकाले उपलब्ध गराएको निःशुल्क एम्बुलेन्स सेवा गाउँघरबाटै उपभोग गर्ने लक्ष्य राखेरसमेत सडक मर्मतमा श्रमदान गरेको स्थानीय बडाक्षेत्रीको भनाइ छ । 

उहाँका अनुसार श्रमदानलाई निरन्तरता दिने र गाउँपालिका अध्यक्ष राजन लिम्बू, उपाध्यक्ष रवीन साम्रासहितका जनप्रतिनिधिले पनि श्रमदान अभियानमा सहभागिता जनाउनुहुने भएको छ । श्रमदानमा गाउँपालिकाले एक्साभेटरलगायत आवश्यक मेसिन उपकरण सहयोग गरेको छ भने स्थानीयसँग भएको ट्याक्टरसहित सामग्री सम्बन्धित धनीले उपलब्ध गराउनुभएको पनि वडाध्यक्ष चौलागाईंले जानकारी दिनुभयो ।