• २१ वैशाख २०८१, शुक्रबार

चुनावमा तीन मत अब स्वतः विव्यस अध्यक्ष !

blog

काठमाडौँ, साउन ९ गते । ‘घुमी फिरी रुम्जाटार’ भने झैँ विद्यालयको व्यवस्थापन समिति (विव्यस) पराजित व्यक्तिकै पोल्टामा आइलाग्ने भएको छ । पुतली सडकस्थित पद्मोदय माध्यमिक विद्यालय विव्यसमा गत वर्ष पराजित वडाध्यक्षलाई फेरि सोही पद आइलाग्न लागेको हो । 

गत २०७९ असार ११ गते भएको पद्मोदय माविको विव्यस निर्वाचनमा पराजित वडा नं. २८ का वर्तमान वडाध्यक्ष भाइराम खड्गी काठमाडौँ महानगरपालिकाको नयाँ नीतिका कारण विव्यस अध्यक्ष हुनुहुने भएको छ । उहाँलाई तुल्सीप्रसाद अगस्तीले पराजित गर्नुभएको थियो । वर्तमान विव्यस अगस्तीले ५१ र खड्गीले तीन मत पाउनुभएको थियो ।

२०७९ वैशाखमा सम्पन्न वडाध्यक्षको निर्वाचनमा भारी मत ल्याएर विजयी  खड्गीले विव्यसको निर्वाचनमा भने तीन मत मात्र पाउनुभयो । वडाध्यक्षलाई सामुदायिक विद्यालयका विव्यस अध्यक्ष हुने व्यवस्था गर्न गत असार ३० गते सम्पन्न कामपा नगरसभाले सबै विव्यस भङ्ग गर्ने निर्णय गरेको थियो । शिक्षावृत्तमा अहिले त्यसको चर्को विरोध भइरहेको छ । यस विषयमा धारणा तय गर्न सोमबार कामपाभित्रका ८९ विद्यालयका विव्यस अध्यक्षको बैठक बसेको थियो । यो निर्णयको प्रमाणीकरण हुन बाँकी छ । 

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घका अध्यक्ष गुणराज मोक्तानले नयाँ व्यवस्था कार्यान्वयनमा आएमा विद्यालयमा अनावश्यक रूपमा राजनीति प्रवेश गर्ने र विव्यस अध्यक्ष तथा प्रधानाध्यापकबिच राजनीतिक द्वन्द्व बढेर समग्र शिक्षाको गुणस्तर नै प्रभावित हुने बताउनुभयो । 

उक्त निर्णयबाट महानगरपालिका पछि नहटेमा कानुनी उपचारमा जाने चेतावनी महासङ्घले दिएको छ । प्रमाणीकरणपछि निर्णय कार्यान्वयनमा जाँदा कामपाभित्रका ३२ मध्ये ३० जना वडाध्यक्षको हातमा विव्यस जाने छ । वडा नं. २ र वडा नं. २४ मा सामुदायिक विद्यालय छैनन् । सबैभन्दा धेरै विव्यसको जिम्मेवारी वडा नं. १६ का अध्यक्षले पाउने छन् । यो वडामा आठ वटा सामुदायिक विद्यालय छन् । वडा नं. ५, १८, २२ लगायतका वडाध्यक्षलाई एक एक वटा विद्यालयको मात्रै व्यवस्थापन जिम्मा पर्ने छ । वडा नं. ११ का अध्यक्षको जिम्मेवारीमा पाँच वटा विद्यालय पर्ने छ भने वडा नं. १, ७, ९, १३, १४ का वडाध्यक्षको जिम्मेवारीमा चार/चार वटा विव्यसको जिम्मा पर्ने छ । 

स्रोतका अनुसार सीमित वडाध्यक्षको जोडबलमा नगरसभामा उक्त प्रस्ताव पेस भएको थियो । “केही वडाका अध्यक्षले आफू मातहत रहेका विद्यालयका प्रधानाध्यापकसँग राजनीतिक बदला लिनकै लागि यो प्रस्ताव नगरसभामा लैजाने तयारी पहिलेदेखि नै गरेका थिए,” नाम उल्लेख नगरिदिन अनुरोध गर्दै महानगरपालिकाका एक प्रधानाध्यापकले भन्नुभयो, “कतिपय वडाध्यक्षले त मलाई चुनावमा सहयोग नगर्ने शिक्षकलाई बदला लिई छाड्ने चेतावनी पनि दिनुभएको थियो । वडाध्यक्षको सोही चेतावनीलाई बल पुग्ने गरी नगरसभाबाट निर्णय भएको छ ।”

केही वडामा त चुनावका समयमा एकथरि पार्टीको पक्षमा वकालत गर्दै हिँडेका प्रधानाध्यापक चुनावपछि अर्को पार्टीमा लागेका कारण पनि वडाध्यक्ष रुष्ट भएर नगरसभामा यस्तो प्रस्ताव लगेको आरोप लागेको छ । एउटा पनि सामुदायिक विद्यालय नरहेको वडा नं. २ का वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठका अनुसार नगरसभामा पनि धेरै विद्यालय रहेका वडाका अध्यक्षको जोडबल उक्त प्रस्ताव जसरी पनि पारित गर्नु पर्छ भन्ने थियो भने थोरै विद्यालय रहेका वडाका अध्यक्षले खासै रुचि देखाएका थिएनन् । 

Author
सूर्यप्रसाद पाण्डे

उहाँ शिक्षा र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।