• १६ चैत २०८०, शुक्रबार

बिपी र पुष्पलालको सपना

blog

नेपालको लोकतन्त्रवादी राजनीतिक वृत्तमा श्रद्धाका दुई मिति छन्– साउन ६ र ७ गते । नेपाली राजनीतिका दुई शिखरपुरुष बिपी कोइराला र पुष्पलालको स्मृति दिवस हुन् यी । यी दुई व्यक्तित्वले निरङ्कुशताविरुद्ध स्वतन्त्रता, न्याय र विकासका लागि आफ्नो जीवनकालमा दुई फरक राजनीतिक धारलाई नेतृत्व दिनुभएको थियो । जनता र देशको हितार्थ आफ्नो सैद्धान्तिक आस्था र आदर्श अगाडि बढाउन पार्टी सङ्गठनको स्थापना एवं विस्तारमा जीवन बिताउनुभएका नेताद्वयकै धारका राजनीतिक सङ्गठन अहिले नेपालका मूल राजनीतिक शक्ति छन् । यिनै सङ्गठनले शासकीय शक्ति प्रयोग गरिरहेका छन् तर बिपी र पुष्पलालको परिकल्पना अनुसार समाज निर्माण हुन सकेको छैन । जनजीवनको कायापलट हुन सकेको छैन । श्रद्धेय नेताहरूको स्मृति गरिरहँदा उहाँहरूको सपना साकार पार्ने दृढताको वचन होइन, कर्म अपेक्षित छ । 


बिपी कोइराला (१९७१ भदौ २४–२०३९ साउन ६) नेपाली राजनीतिका प्रजातान्त्रिक नायक, योद्धा हुनुहुन्छ । नेपाली कांग्रेसको स्थापना र विकासमा अतुलनीय योगदान छ उहाँको । राणा निरङ्कुशताविरुद्ध उदार लोकतान्त्रिक शासनप्रणाली, स्वतन्त्र र भयरहित समाज निर्माणको चाहना र कर्म थियो उहाँमा । उहाँले राजनीतिक स्वतन्त्रताको मात्र कुरा गर्नुभएन, समाजवादी अवधारणा अङ्गीकार गर्नुभयो । छोटो समय सत्ता सञ्चालनको मौका पाउँदा उहाँले गरिब जनता र राष्ट्रिय विकासका पक्षमा योजना बनाउनुभयो । मूर्धन्य बौद्धिक व्यक्तित्व बिपी राष्ट्रियताको पक्षमा पनि खरो रूपमा उत्रिनुभयो, राष्ट्रिय मेलमिलापको नीति अगाडि सार्नुभयो । उहाँको साहित्यिक व्यक्तित्व बेग्लै महिमायुक्त छ ।


पुष्पलाल (१९८१ असार १५–२०३५ साउन ७) सिद्धान्त, सङ्गठन र सङ्घर्षका नायक हुनुहुन्छ । प्रारम्भिक राजनीतिक संलग्नता नेपाली राष्ट्रिय कांग्रेसमा भए पनि त्यो सङ्गठनको कचपचबाट विरक्तिएर नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्नुभयो उहाँले । नेकपाका संस्थापक महासचिव पुष्पलाल कम्युनिस्ट आदर्श पुष्टि गर्ने सादा जीवन, उच्च विचारका प्रतिमूर्ति हुनुहुन्थ्यो । नेपाली समाजको पहिलो वर्ग विश्लेषक उहाँ समाजवादी अर्थ व्यवस्थाको पक्षमा हुनुहुन्थ्यो । नेपाली संयुक्त जनआन्दोलनको सिद्धान्तकारसमेत हुनुहुन्छ उहाँ । २०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्र शाहद्वारा लादिएको निरङ्कुश तथा निर्दलीय पञ्चायती व्यवस्था ढालेर संसद् पुनस्र्थापना गर्न कांग्रेस र कम्युनिस्ट मिलेर आन्दोलन गर्नु पर्छ भन्ने उहाँकै अवधारणा कार्यान्वयन हुँदा २०४६ सालको जनआन्दोलन सफल भयो । 


यी दुवै विचारकसँगै कुशल सङ्गठक हुनुहुन्थ्यो । बिपीले प्रजातान्त्रिक समाजवाद भनेर सङ्गठन गर्नुभयो, पुष्पलालले कम्युनिस्ट पार्टी बनाएर भोकभोकै सिङ्गो नेपाल घुमेर सङ्गठन गर्नुभयो । दुवैको राजनीतिक प्रारम्भ समान उद्देश्यबाट निर्देशित थियो– राणा शासनको समाप्ति र लोकतान्त्रिक समाज निर्माण । राणा शासन समाप्तिपछि राजनीति र लोकतन्त्रका बारेमा दुवैमा मौलिक भिन्नता थिए । बिपी उदारवादी लोकतन्त्रको राजनीतिक संरचनामा समाजवादी आर्थिक–सामाजिक नीतिका पक्षमा हुनुहुन्थ्यो । पुष्पलाल साम्यवादी राजनीतिक एवं आर्थिक संरचनाका पक्षमा । दुवै माक्र्सवादी विचारबाट प्रभावित तर राजनीतिक र पार्टीगत बाटो भिन्न थियो । 


राणा शासन अन्त्य गरी स्थापित बहुदलीय प्रजातन्त्र २०१७ मा लुटेर राजाले निरङ्कुश निर्दलीय व्यवस्था लादेपछि दुवै नेताले काराबास र निर्वासनमा कष्ट बेहोर्नु परे पनि जीवनकालमा दुवैको राजनीतिक सहकार्य हुन भने सकेन । दुवैको शेषपछि २०४६ सालको संयुक्त जनआन्दोलनले प्रजातन्त्र पुनस्र्थापना ग¥यो । राजनीतिक विकासव्रmममा अहिले मुलुकमा मूलतः कांग्रेस र कम्युनिस्टकै जोडबल र सहमतिमा निर्मित संविधान कार्यान्वयन भइरहेको छ । संविधानले स्वतन्त्रता, समानता, न्यायपूर्ण समाजवादी गन्तव्य आत्मसात् गरेको छ । हिजो लोकतान्त्रिक गणतन्त्रका लागि आन्दोलनमा सहकार्य गरेका शक्तिकै गठबन्धन सरकार छ । फरक राजनीतिक धार भए पनि समृद्धि हासिल गर्ने समान लक्ष्य बनाइएको छ । यो सकारात्मक परिस्थितिमा पनि श्रद्धेय नेताका सपनाका उत्तराधिकारीहरूले जनताका आवश्यकता पूरा गर्न नसके उहाँहरूको स्मृति केवल ओठेभक्ति मात्र हुने छ । जनताले सुशासन, विकास र समृद्धि खोजिरहेका छन् । भ्रष्टाचारमुक्त, अपराधमुक्त, स्वाभिमानी नेपाल चाहिरहेका छन् । आधारभूत कुरा र सेवाको सहज, सुलभ उपलब्धता अनि देशमै रोजगार खोजिरहेका छन् । राजनीतिमा भ्रष्टीकरण होइन शुद्धीकरण खोजिरहेका छन् । कांग्रेस कांग्रेस जस्तै र कम्युनिस्ट कम्युनिस्ट जस्तै अनि एकताबद्ध शक्ति बनून् भन्ने चाहिरहेका छन् । पार्टी र शासकीय सत्ताका सारथिहरूले यति जनअपेक्षा बुझेर पाइला चलिदिए, श्रद्धेय नेताद्वयको पदचिह्न पछ्याइदिए उहाँहरूको सपना साकार भएको ठहरिने छ । नेपालीको मुहारमा उज्यालो छाउने छ ।