• १० मंसिर २०८१, सोमबार

आमा ! (कविता)

blog

माया ममता र स्नेहको खानी रहेछ्यौ तिमी

नौनी झैँ कमलो मुटु रहेको आमा रहेछ्यौ तिमी ।

दुःख लुकाएर खुसी दिने आमा रहेछ्यौ तिमी

खुसी बाँडेर दुःख लुकाउने आमा रहेछ्यौ तिमी ।


सन्तानलाई परे सन्ताप भरिन्छ तिनको गह

आमाको मोह जतन गरे जस्तै माहुरीले मह ।

खुवाउँछिन् नख्वाइ अरूलाई खाँदिनन् तिनिता

मिठो नमिठो जे छ खान्छिन् बाँडीचुँडी तिनिता ।


नौ महिना कोखमा बोक्छिन् जन्मेपछि मुटुमा

आधापेट खाई नखाई चुसाउँछिन् अमृत मुखमा

यस्ती आमाको सबजनले तिर्ने कसोरी भारा

बाँचुन्जेल सेवा जे गरेनी तिरिन्न तिनको सारा ।


थलापरी ओछ्यानमै उठ्नै नसक्दा पनि

गर्छिन् सुर्ता सन्तानकै गाह्रो भो तिन्लाई भनी

घर घरमा दीप जगाउने आमा रहेछ्यौ तिमी

माया ममता र स्नेहको खानी रहेछ्यौ तिमी ।