• ७ जेठ २०८१, सोमबार

सहजै राहदानी पाउँदा सेवाग्राही खुशी

blog

त्रिपुरेश्वरस्थित राहदानी विभागमा राहदानी बनाउन पुगेका युवा । तस्बिरः केशब गुरुङ

काठमाडौं, साउन ५ गते। उदयपुरका हेमकुमार विश्वकर्मा मन्द मुस्कानका साथ त्रिपुरेश्वरस्थित राहदानी विभागको गेटमा भेटिनुभयो। उहाँको हातमा राहदानी थियो। तोकिएकै समयमै राहदानी प्राप्त गर्दा उहाँ खुशी हुनुभएको हो। 

उहाँले भन्नुभयो, “धेरै लाइन लाग्नुपर्छ र दुःख पाइन्छ भन्ने डर थियो। तर विभागले तोकेको समयमा आउँदा सजिलै राहदानी पाएँ।” फारम भरेपछि विभागले दिएको समयमा आउँदा ‘बायोमेट्रिक’ परीक्षण पश्चात तीन दिनमा नै राहदानी हात परेको  उहाँले सुनाउनुभयो। 

हेमकुमार जस्तै लमजुङ्का मीना लामासमेत तोकिएकै समयमा राहदानी पाउनुभएको छ। पहिला दिदीको राहदानी बनाउन धेरै दुःख पाएको सम्झदै उहाँले भन्नुभयो, “राहदानी विभाग त अहिले धेरै परिवर्तन भएछ। दिदीको राहदानी बनाउँदा धेरै दुःख पाएका थियौँ। अहिले सहजै काम भयो।’’ 

प्रकृया पुर्याएर कार्यालय पुग्नेले प्रशासनिक झन्झट बिना राहदानी पाउने उहाँको अनुभव छ। पाँच महिना अगाडिसम्म राहदानी विभागमा देखिने भीडसँग तर्सिनेहरु अहिले सहजै काम हुँदा खुशी भएर फर्किने गरेका छन्। 

प्रशासनिक झन्झटको व्यवस्थापन भएपछि राहदानी विभागमा अहिले भीडभाड कम हुँदै गएको छ। राहदानी बनाउने भनेपछि रातभर लाइन बस्ने तयारीसहित काठमाडौं आइपुग्ने युवाका लागि अहिले विभागको काम सहज बन्दै गएको छ। व्यवस्थित भवनले पनि कार्यशैलीलाई सहज बनाएको देखिन्छ। सेवा दिनै नसकेको भन्दै गुनासो र गाली खाने विभाग अहिले गुनासोमुक्त भएको छ। 

विभागका निर्देशक डमरुबल्लभ पौडेल भन्नुहुन्छ, “पहिला दैनिक कोटा छुट्याएर फारम खुला गरेका थियौँ। दुई घण्टामै सबै फारम सकिन्थ्यो। अर्को दिन फारम भरेका सबैै विभागमै आएर भीडभाड हुन्थ्यो तर अहिले हामीले एक महिनाका लागि फारम खुलाउँछौँ। यसले काम सहज बनेको छ।”

विभागले २०७९ साल माघ १६ गतेदेखि अनलाइन आवेदन एक महिनाका लागि नै खुला गर्दै आएको छ। यसले सेवाप्रवाह सहज भएको निर्देशक पौडेलको भनाइ छ। 

पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुनुभए लगत्तै विभागको अनुगमन गरेर सेवा प्रवाहलाई प्रभावकारी बनाउन निर्देशन दिनुभएको थियो। प्रधानमन्त्रीको निर्देशनलगत्तै विभागले सेवा प्रवाहलाई व्यवस्थित बनाउन सबै जिल्लामा एक महिनाका लागि फारम खोल्ने निर्णय गरेको थियो।   

दैनिक १० हजार आवेदन 

विद्युतीय राहदानीका लागि अहिले विभाग र ७७ जिल्लामा गरेर १० हजार आवेदन प्राप्त हुने निर्देशक पौडेलले जानकारी दिनुभयो। विभागमा मात्रै अहिले एक हजार पाँच सय जनाको आवेदन आउने गरेको उहाँको भनाइ छ। जिल्लाबाट फारम भर्ने प्रक्रिया सुरु भएपछि विभागको चाँप कम भएको उहाँको बुझाइ छ। विभागबाट अहिले दैनिक छ हजार राहदानी वितरण भइरहेका छन्। 

जिल्लाबाट वितरण हुने राहदानीका लागि  काठमाडौं उपत्यका नजिकमा १०, तराईका जिल्लामा १५, हिमाली तथा विकट जिल्लामा एक महिना र  विदेशस्थित कूटनीतिक नियोगमा २५ दिनमा ढुवानी हुँदै आएको निर्देशक पौडेलले जानकारी दिनुभयो। 

तीन लाख राहदानी स्टकमा 

विभागसँग अब तीन लाख प्रति विद्युतीय राहदानी मौज्दात छ। वि.सं. २०७८ मा फ्रान्सको ओडिमिया कम्पनीसँग २० लाख राहदानी उपलब्ध गराउने सम्झौता भएको थियो। सो सम्झौता अनुसार नै विभागले २० लाख राहदानी पाएको थियो। विभाग आफैले १५ प्रतिशत खरिद गर्नसक्ने भएकाले खरिदसहित मौज्दातमा तीन लाख प्रति राहदानी छन्।

अब पाँच वर्षका लागि अब ६० लाख राहदानी खरिदको प्रक्रियामा रहेको निर्देशक पौडेलले बताउनुभयो। यसका लागि टेण्डर खोल्ने तयारी भइरहेको छ। अहिले ७७ जिल्ला, १७ इलाका प्रशासन कार्यालय र ३८ विदेशस्थित नेपाली नियोगबाट विद्युतीय राहदानी वितरण हुँदै आएको छ।  

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।