• १५ मंसिर २०८१, शनिबार

मर्मतपछि सञ्चालनमा आयो तेल दल्ने झोलुङ्गे पुल

blog

बाबुराम शर्मा 

दोलखा, साउन ४ गते । एक सय वर्षभन्दा अघि बनेको दोलखाको बिगु गाउँपालिका–३ र गौरीशङ्कर गाउँपालिका–८ जोड्ने तामाकोशी नदीको जीर्ण तेल दल्ने जामुने साङ्ले झोलुङ्गे पुल मर्मतपछि प्रयोगमा आएको छ। 

स्थानीय आचार्यका पुर्खाले १९७३ सालमा र त्यसपछि २००४ सालमा पुनर्निर्माण गरिएको सो पुल मर्मतपछि तेल दलेर सञ्चालनमा आएको छविलाल आचार्यका पनाति अमृतकुमार आचार्यले जानकारी दिनुभयो। 

उहाँका अनुसार १९७३ सालमा छविलाल आचार्यले बनाएको दुई साङ्लेलाई २००४ सालमा प्रयागराज, कोमलप्रसाद, कलाधर, देवदत्त र गौरीकान्त आचार्यले थप गरी चारसाङ्ले बनाइएको थियो। २०७२ सालको भूकम्पले क्षति पुगेपछि यो पुल जीर्ण बनेको थियो। अहिले मर्मत गरेपछि सञ्चालनमा आएको हो। 

यो पुल पुर्खाको योगदान र ऐतिहासिक पनि भएकाले सन्ततिसम्म पु¥याउन पनि मर्मत गरिएको हो। छविलालका सन्तानहरूले नै आर्थिक सङ्कलन गरी पुल मर्मत गरेका हुन्। अमृतकुमार आचार्यले १० लाख रुपियाँमा पुलको काम पूरा गरिएको जानकारी दिनुभयो। 

आचार्यहरूले साँघु रेखदेखका लागि आफ्नो निजी जग्गा गुठी बनाएर तेल दल्ने व्यवस्था मिलाएका थिए। घामपानीले फलामका साङ्लामा खिया लाग्ने र चुँडिने हुँदा प्रत्येक वर्ष साँघुका साङ्लामा तेल दलिन्थ्यो। २०२८ सालपछि साँघुमा तेल दल्न बन्द भयो। 

पहिले तामकोशी नदी वारपार गर्न लामाबगर, साँघुरे, सुरीदोभान, भोर्ले, सिँगटी, पिखुती, नागदहलगायतका स्थानमा यस्ता पुल बनेका भए पनि अहिले ती पुलको नामनिसाना छैन। यी सबै पुल व्यक्तिको निजी खर्चमा बनाइएका हुन्। 

“त्यति बेला तामाकोशी नदी तरेर लुगाफाटो किन्न काठमाडौँ जान्थ्यौँ। तामाकोशी नदीमा बनेको फलामे साँघु तरेर एक हप्ता लगाएर काठमाडौँ पुगेको थिएँ। तामाकोशी नदीका अरू ठाउँमा पनि फलामे साँघु थिए। यी फलामे साँघु सरकारले नभएर व्यक्तिको खर्चमा बनाइएका थिए। रामेछापको ठोसे मेक्चनमा रहेको फलाम खानीबाट काँचो फलाम बोकेर हप्तौँ लगाएर फलाम ल्याइन्थ्यो,” ७४ वर्षीय रत्नबहादुर जिम्बाले भन्नुभयो। २०१९ सालमा १३ वर्षको उमेरमा पहिलो पटक काठमाडौँ लुगा किन्न गएको उहाँलाई सम्झना छ। 

“काँचो फलाम डोकोमा बोकेर ल्याइन्थ्यो। यो फलामलाई साँघु बनाउने ठाउँमा आरनमा गालेर साङ्लो बनाउँथे। त्यस बेला यस्तो एउटा साँघु बनाउन छ महिना लाग्थ्यो,” जिम्बाले स्मरण गर्नुभयो।

साँघु बनाउने स्थलमा भारीका भारी दाउरा ल्याएर फलाम गालेर साङ्ला बनाइन्थ्यो। त्यसपछि ढुङ्गामा गहिरो प्वाल खोपेर फलामका ठेडी गाडिन्थ्यो। सो ठेडीमा अङ्कुश बनाएर साङ्ला तन्काएर साँघु हालिन्थ्यो। साँघुमा स्थानीय टुनी जातका फल्याक हालिने गरिन्थ्यो। साँघु तर्दा हल्लिन्थ्यो तर साङ्ला मजबुत बनेकाले चुँडिने डर थिएन।