यी लहराहरू
लहरिए भुइँमा
यत्रतत्र फैलिइरहेका छन्
कहिलेकाहीँ
मानव जीवनका बाटाहरूमा पनि
अल्झन बनेर आइदिन्छन्
जुक्ति नमिल्दा मानिसलाई नै
हिँड्दा हिँड्दै लडाइदिन्छन्
लहराको आफ्नो मेरुदण्ड हुँदैन
त्यसैले यी आफैँमा उभिन सक्दैनन्
उभिन उनीहरूलाई सहारा चाहिन्छ
नभेटे टेक्ने सहारा
गुजुल्टिएर यिनले
भुइँमै जिन्दगी बिताउँछन्
लहराले टेक्न
र बेर्न थाङ्ग्रो भेटेका बेला
आकाशतिर आकासिन्छन्
आफ्नै मेरुदण्ड भएका
सजीव जीवहरूलाई उछिनेर
निकै अग्लो छु भनी हेराउँछन्
थाङ्ग्राहरूमा चढ्न पाएका बेला
आफ्नो रवाफ देखाउँछन्
मकाएर भाँचिँदा थाङ्ग्रो
सोहोरिएर फेरि लहरा
भुइँमै थुप्रिन आइपुग्छन्
जहाँबाट यात्रा सुरु भयो
त्यहीँ आइपुग्नु हो
गन्तव्य लहराको
हललहाएर मुना बढेका बेला
भ्रमले स्वत्व आफ्नै ठानिए पनि
पराश्रित जिन्दगी हो लहराको
त्यसकारण अलमल नगर
हटाऊ लहरा जीवनका बाटाहरूबाट
झार तिनलाई मूल्यहीन थाङ्ग्राहरूबाट
एउटा सपाट बाटो बनाउन
अघि बढ तिमी
मूल्य खोज्दै जीवनको
नासिऊन्
मासिऊन्
अनिष्टका सञ्जालहरू
रक्षा गर्नु पर्छ मानक बनेर
मानवीय भविष्यको
लहरा लहरिएर भुइँमा ।