काठमाडौँ, साउन ४ गते । काठमाडौँ महानगरपालिकाले अनामनगरस्थित भद्रकुमारी घले सेवा सदनको भवन भत्काएको छ । महानगरको प्रहरी टोलीले बुधबार डोजर लगाएर सेवा सदनको भवन भत्काएको हो ।
महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेले महानगरको अर्बौं रुपियाँ पर्ने सार्वजनिक जग्गा कब्जा गरी निर्माण गरिएका सो सेवा सदनका केही भवन भत्काइएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “काठमाडौँ महानगरको क्षेत्रमा सो जग्गा पर्छ । सो जग्गाको जग्गाधनी प्रमाणपुर्जा कसैको नाममा छैन । सार्वजनिक जग्गा खाली गराउने महानगरको अभियान अन्तर्गत ती संरचनामा डोजर चलाइएको हो ।”
सार्वजनिक जग्गामा निर्माण गरिएका संरचना तीन दिनअघि नै हटाउन महानगरले सो सदनलाई लिखित आग्रह गरे पनि नहटाउँदा महानगरले हटाउन सुरु गरेको नगर प्रहरी प्रमुख पाण्डेले स्पष्ट पार्नुभयो ।
सेवा सदनको नाममा महानगरको करिब छ रोपनी सार्वजनिक जग्गा कब्जा गरी त्यहाँ निजी विद्यालय, सहकारी संस्था सञ्चालन, २५ भन्दा बढी सटर निर्माण गरी भाडामा दिनुका साथै अन्य शीर्षकमा मासिक करोडौँ रुपियाँको व्यापार भएको देखिएको उहाँको भनाइ छ ।
उक्त सदनभित्र माध्यमिक तहसम्मको विद्यालय, काठमाडौँ उपत्यका गुम्बा तर्मु सेवा समिति, सार्वजनिक स्वास्थ्य सेवा तथा अनुसन्धान केन्द्र वाचनालय, पुस्तकालय, सङ्ग्रहालय, आर्ट ग्यालरीलगायत १९ वटा शीर्षकमा कार्यालय सञ्चालन गरिएको छ ।
अल्पकालीन अन्तरिम आदेश
बुधबार नै उच्च अदालत पाटनले छलफलबाट निर्णय नभएसम्म सो सेवा सदनको घरजग्गामा क्षति पु-याउने वा अतिक्रमण गर्ने काम नगर्न नगराउन काठमाडौँ महानगरपालिकाको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालत नियमावली, २०७३ अनुसार सो आदेश जारी गरिएको अदालतले जनाएको छ ।
महानगरको डोजरले संरचना भत्काउने क्रममा नै सेवा सदनले अदालतबाट सो आदेश लिएर आएपछि महानगरको टोली संरचना भत्काउने काम रोकी त्यहाँबाट फिर्ता भएको थियो ।