• १३ मंसिर २०८१, बिहिबार

अतिक्रमणमा परेको फिर्केखोला पुल भासियो

blog

अतिक्रमणका कारण भासिएको फिर्केखोलाको पुल । तस्बिर : रमेश पौडेल

रमेश पौडेल

पोखरा, साउन १ गते । पोखरा महानगरपालिकाको वडा ५ र ८ जोड्ने फिर्केखोलाको पुल भासिएको छ । गएराति परेको अविरल वर्षाका कारण पोखराको पस्र्याङ र बगालेटोल जोड्ने प्रमुख पुल भासिदा सवारीसाधन आवागमनमा समस्या भएको छ । 

भासिएको पुलमा चारपाङ्ग्रे सवारी बन्द गरिएको छ भने सो स्थानको फिर्केखोलामा तत्काल जाली हालेर थप क्षति हुनबाट रोक्ने प्रयास गरिएको छ । एडिबीका १५ वटा दिगो पर्यटन विकासका योजनामध्ये  फिर्केखोला पनि महत्त्वपूर्ण योजना हो । फिर्के कोरिडोरको लम्बाई ८ किमी रहेको छ भने यस खोलासँग पोखरा महानगरकाको वडा २, ४, ५ , ६, ७, ८, ६ र १७ जोडिएको छ ।

फिर्केखोलाको संरक्षणका निम्ति महानगर, वडा, सम्बन्धित निकायलगायतले चासो दिनेगरेको देखिए पनि यसको भौतिक प्रगति न्यून छ । खोलाको संरक्षणस्वरुप झाडी फाड्नेजस्ता काम सरोकारवालाले गरे तापनि संरक्षणको ठोस पहल भएको छैन । सो खोलामा वरपरका २० घरबस्तीले सोझै ढल मिसाएको अनुगमनमा देखिएको छ भने सयौँ घरहरूले फिर्केको मापदण्ड मिचेर संरचना निर्माण गरेका छन् । तर मापदण्ड विपरीतका संरचना भत्काउन महानगरलाई चुनौती थपिएको छ ।

निजी तवरबाट बनाइएका घरमात्र नभई आमा समूहको भवन, समाज घर, व्यापारिक भवन, विद्यालय भवनलगायतले मापदण्ड मिचेर संरचना बनाएका छन् । हालको फिर्केखोलाको मापदण्ड दाँयाबाँया १०–१० मिटरको कायम गर्नुपर्ने भनेकोमा कार्यान्वयन भएको छैन । महानगरले सो मापदण्ड घटाएर  ५–५ मी. को प्रस्ताव अघि सारेको पोखरा महानगरपालिका वडा ५ का वडाध्यक्ष विष्णुप्रसाद बरालले जानकारी दिनुभयो ।

भूगोलविद् डा. कृष्ण केसीले पोखरा महानगरको नदीपुरदेखि छोरेपाटन मूल जोखिम क्षेत्रका रूपमा रहेको बताउनुभयो । बसोबास र दबाब बढ्दैजाँदा सतहबाट भूमिगत भूक्षय पनि बढ्दैगएपछि मानवनिर्मित संरचनाको चापले भत्कन सुरु हुने उहाँको भनाइ छ । मानवनिर्मित संरचना एवं प्राकृतिक प्रकोपका कारण सो पुल भासिएको उहाँको भनाइ छ ।

पोखरा महानगरका सूचना अधिकारी किरण कोइरालाले नापीको बेला फिर्केको वास्तविक स्वरूप निकाल्न लागिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘फिर्केखोला पहिला जति थियो त्यति हुनुपर्छ, मापदण्ड सही रूपमा अगाडि आउनुपर्छ ।’ खोलाको नापजाँच, सिमाङ्कन पश्चात् मानवनिर्मित संरचना एवं फिर्केखोलाले व्यहोरिरहेको समस्या समाधान निकाल्न सघाउ पुग्ने कोइरालाको भनाइ छ । 

मापदण्ड लागु गर्न सकिएमा दुईतर्फ कोरिडोरसँगै साइकल लेनको परिकल्पना पूरा हुने उहाँको भनाइ छ । फिर्के एकातर्फ अतिक्रमणको चपेटामा छ भने अर्कोतर्फ खोलामा गरिने प्रदूषणले फेवाताल समेत प्रभावित भएको छ । फिर्केको पानी अन्ततः गएर फेवातालको अन्तिम बाँध साइडमा मिसिएको छ । यसले फेवातालको सुन्दरता र अवस्थालाई असर गरेको स्थानीय पर्यटन व्यवसायीहरूको भनाइ छ ।