• २० असोज २०८१, आइतबार

हेवाखोलामा निर्मित बेलिब्रिज उद्घाटन

blog

हेवाखोलामा निर्मित बेलीब्रिज । तस्विर : राधा लुइटेल

राधा लुइँटेल 

फिदिम, साउन १ गते । मेची राजमार्ग अन्तर्गत फिदिम –४ र हिलिहाङ –७ को सङ्गममा पर्ने हेवाखोला दोभानमा निर्मित बेलिब्रिज उद्घाटन भएको छ ।

ताप्लेजुङको भूभागसँगै हेवाखोला पारी पर्ने पाँचथरका फालेलुङ हिलिहाङ र याङवरक गाउँपालिकालाई जोड्ने सो स्थानमा रहेको मोटरेबल पुल गत असार २ गते आएको बाढीले बगाएपछि सङ्घीय सरकारले बेलिब्रिज निर्माण गरेको हो ।

सडक डिभिजन कार्यालय इलाममार्फत निर्माण भएको ब्रिजको उद्घाटन कोशी प्रदेशका भौतिक पूर्वाधार तथा यातायातमन्त्री कमलप्रसाद जवेगूले गर्नुभयो । उद्घाटन कार्यक्रममा जवेगूले पुल निर्माणका क्रममा खट्ने कामदार र प्राविधिकसँगै जनप्रतिनिधि र सुरक्षाकर्मीलाई धन्यवाद दिनुभयो ।

उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति पाँचथरका प्रमुख रामराज आङदेम्वे, फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्ले, हिलिहाङ गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारी र सडक डिभिजन इलामका प्रमुख विदुर पोखरेलसहित सर्वसाधारण र राजनैतिक दलका नेता कार्यकर्ताको उपस्थिति थियो ।

वर्षासँगै आएको बाढीले पुल बगाएपछि असार ६ गते बेलिब्रिज निर्माण कार्य सुरु भएको थियो ।  बाढी आएको २९ दिनपछि आइतबार साँझ निर्माण सकिएको बेलिब्रिज उद्घाटन गरिएसँगै सवारी आवागमन सुरु भएको छ ।

बेलिब्रिज निर्माणका लागि सङ्घीय सरकार अन्तर्गतको भौतिक तथा यातायात मन्त्रालयले  सडक डिभिजन इलामलाई जिम्मेवारी दिएको थियो । सात दिनभित्र निर्माण सक्ने भनिए पनि ढिलो गरी सम्पन्न भएको थियो । यस बेलिब्रिजको लम्बाइ ४८ मिटर छ । बेलिब्रिज २ करोड रुपियाँको लगानीमा निर्माण भएको सडक डिभिजन कार्यालय इलामले जनाएको छ  ।