विनय कर्ण
कल्याणपुर (सप्तरी), वैशाख २७ गते । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकामा बेवारिसे अवस्थामा एक व्यक्तिको शव फेला परेको छ । नगरपालिकाको वडा नम्बर १ स्थित कोशी व्यारेजको पुलदेखि तीन सय मिटर दक्षिण नदी किनारमा पुरुषको शव फेला परेको हो ।
नाम र ठेगाना नखुलेको अन्दाजी ४२ वर्षीय तराई मुलको जस्तो देखिने पुरुष पानीमा घोप्टो परी मृत अवस्थामा शुक्रबार फेला परेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
शवलाई पानिबाट बाहिर निकालेर पोस्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज पठाइएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।