• २७ वैशाख २०८२, शनिबार

‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ ललितपुरमा सुरु

blog

आजदेखि ललितपुरमा सुरु भएको नेपाल प्रेस युनियनको आयोजनामा ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’मा सहभागीहरू । तस्बिर : विकास द्वारे

ललितपुर, वैशाख २७ गते । नेपाल प्रेस युनियनको आयोजनामा ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ शनिबार ललितपुरमा सुरु भएको छ । समिटको उपराष्ट्रपति रामसहाय प्रसाद यादवले उद्घाटन गर्नुभएको छ । 

समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालगायत विभिन्न देशका पत्रकारहरूबाट सम्बोधन गर्ने क्रम जारी रहेको युनियनका अध्यक्ष लम्सालले जानकारी दिनुभयो । समिट काठमाडौँदेखि पोखरा हुँदै मुस्ताङसम्म वैशाख २७ गते ३० गतेसम्म चल्ने छ ।

विश्वका बदलिँदो परिवेशमा प्रविधिले निम्त्याएको अवसर र चुनौती तथा दक्षिण एसियामा मिडियाले भोग्नु परेका समस्या, दक्षिण एसियाको पत्रकारिताको प्रभावबारेमा दक्षिण एसियासहित विभिन्न ६ मुलुकबाट आएका विषय विज्ञहरूको कार्यक्रममा प्रस्तुति रहेको छ । 

समिटमा विश्व परिवेशलाई केन्द्रमा राखेर दक्षिण एसिया र नेपालको पत्रकारिताको बारेमा चिन्तन मनन गरिने छ ।  समिटमा नेपाली पत्रकारितामा पत्रकारहरूले भोग्नु परेका कठिनाइ अवसर र चुनौतीमा प्रस्तुति, छलफल सुझावसहितका निष्कर्ष निकाल्ने लक्ष्य राखिएको छ। साथै जलवायु परिवर्तनले निम्त्याएको जलवायु सङ्कट, समस्या पहिचान र पत्रकारिताको भूमिकालगायत विविध पक्षमा विश्लेषण हुने छन् ।

उद्घाटन समारोहपछि ‘राजनीतिक दल, नागरिक समाज, लोकतन्त्र र पत्रकारिताको कति नजिक, को कति टाढा ?’ विषयमा पहिलो प्रस्तुति हुने छन् जसमा डा. हरि शर्माले कार्यपत्र प्रस्तुत गर्नुहुने छ । कार्यक्रममा दिलेन्द्र बडु, पार्वत गुरुङ, रेखा शर्मा, डा. भासिल सोतिरोभ र पत्रकार शिव गाउँले वक्ताका रूपमा रहनुभएको छ । 

मिडिया समिटको यात्रा काठमाडौँदेखि पोखरा हुँदै मुस्ताङको लोमाङथाङसम्म हुने नेपाल प्रेस युनियनका महासचिव दिलीप पौडेलले दिनुभयो । समिटको अन्तिम दिन लोमान्थाङ घोषणा पत्र जारी गर्ने युनियनका महासचिव पौडेलले जानकारी दिनुभयो ।