• ५ असार २०८२, बिहिबार

६ दिनदेखि खोटाङका दुई गाउँ अन्धकार

blog

विद्युत आपूर्ति बन्द भएको धारापानी गाउँ ।

राजकुमार भट्टराई

खोटाङ, असार ५ गते। खोटाङका दुई गाउँ ६ दिनदेखि अन्धकार बनेका छन्।विद्युत् आपूर्ति बन्दहुँदा रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीका दुई गाउँ अन्धकार बनेका हुन्।जेठ ३१ गतेदेखि दुई गाउँका करिब १ सय १० घर अन्धकारमय बनेको स्थानीय एवं धारापानी माध्यमिक विद्यालयका शिक्षक शेरबहादुर बस्नेतले बताउनुभयो ।

जेठ ३१ गते चट्याङसहित आएको पानीले उक्त क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको थियो।त्यसयता आजसम्म विद्युत् नआएको शिक्षक बस्नेतले बताउनुभयो।पानी रोकिएपछि जेठ एक गतेदेखि अन्य ठाउँमा विद्युत् आए पनि डुम्रेधारापानीको साविक ६ र ७ नम्बर वडा धारापानी र डाँडागाउँमा विद्युत् आएको छैन्।सामुदायिक विद्युतका प्राविधिकले विद्युतको ट्रासफर्मर बिग्रिएको आशङ्का गरेका थिए।तर, के कारण विद्युत् बिग्रिएको भन्नेसमेत थाहा नभएको स्थानीयको भनाइ छ ।

रावाबेँसी गाउँपालिकाको वडा नम्बर १ कुभिण्डे, ४ डुम्रेरापानी, ५ दुवेकोल र ऐसेलुखर्क गाउँपालिकाका ज्यामिरे र महेश्वरी दुवेकोल सामुदायिक विद्युत अन्तर्गत रहेका छन्। सामुदायिकको आग्रहमा विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्राविधिक असार ५ गते गएर परीक्षण गर्दा ट्रासफर्मर बिग्रिएको पाइएको छ।विद्युत् बिग्रिनुको कारण थाहा पाउन ६ दिन लागेको र बनिन कति दिन लाग्छ भन्ने टुङ्गो नभएको स्थानीय बताउँछन्।

दिक्तेल वितरण केन्द्रका प्रमुख सोवितकुमार क्षेत्रीका अनुसार दुवेकोल सामुदायिक अन्तर्गत रहेकाले उक्त ट्रासफर्मर सोही संस्थाले बनाउनुपर्ने हुन्छ। हाल दिक्तेलमा पनि अतिरिक्त ट्रासफर्मर नभएका कारण तत्काल उक्त क्षेत्रमा विद्युत् बाल्न सक्ने सम्भावना नरहेको उहाँको भनाइ छ। विराटनगरमा ट्रासफर्मर बनाउन पठाएकाले शनिबारसम्ममा आइपुग्ने दिक्तेल वितरण केन्द्रका प्रमुख क्षेत्रीले बताउनुभयो। प्रमुख क्षेत्रीका अनुसार धारापानीका नागरिक अझै केही दिन अन्धकारमा बस्न बाध्य हुने देखिन्छ ।

दुवेकोल सामुदायिक विद्युतका अध्यक्ष लीलानाथ निरौलाका अनुसार आफुहरूले वितरणको विद्युत् मात्र हेर्ने गरेको र मुख्य विद्युत् लाइन प्राधिकरणकै जिम्मामा रहेको छ।जसकारण ट्रासफर्मर प्राधिकरणकै जिम्मामा भएकाले विद्युत् आपूर्ति धेरै दिन बन्द भएको अध्यक्ष निरौलाको भनाइ छ। तर प्राधिकरणका प्रमुखका अनुसार बिग्रिएको ट्रासफर्मर सामुदायिकले नै बनाउनुपर्ने हुन्छ।

प्राधिकरण र सामुदायिकको दोहोरो कुराले उपभोत्ता भने मारमा परेका छन्। उक्त क्षेत्रका उपभोक्ताहरू प्राधिकरणमै जोड्नु पर्ने आवाज पनि उठाउँदै आएका छन्।सामुदायिकमा रहदा विद्युत् बिग्रिँदा समयमै नबन्ने, बढी महसुल तिर्नु पर्ने बाध्यतामा आफुहरू रहेको स्थानीय उपभोक्ताहरूले गुनासो गर्दै आएका छन्।