• ५ असार २०८२, बिहिबार

हस्तकलाबाट अर्थतन्त्रको समृद्धि : दुई संस्थाबीच समझदारीपत्रमा हस्ताक्षर

blog

आईआरजीडीडीका अध्यक्ष तथा पूर्वराजदूत डा. शर्मिला पराजुली ढकाल र नेपाल हस्तकला संघका अध्यक्ष रवीन्द्र शाक्य समझदारी पत्रमा हस्ताक्षरपछि सामूहिक तस्बिरमा ।

काठमाडौं, असार ४ गते । नेपालको हस्तकलालाई प्रवर्धन गर्न इन्टरनेशनल रिलेसन्स एन्ड ग्लोबल डिप्लोमेसी डाइलग (आईआरडीजीडी) र नेपाल हस्तकला महासंघबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

आईआरजीडीडीकी अध्यक्ष तथा पूर्वराजदूत डा. शर्मिला पराजुली ढकाल र नेपाल हस्तकला संघका अध्यक्ष रवीन्द्र शाक्यले एक विशेष कार्यक्रममा बुधबार समझादरी पत्रमा हस्ताक्षर गर्नु भएको हो । दुवै संस्थाहरूले नेपाली हस्तकलालाई विश्वव्यापी ब्रान्ड बनाउन कूटनीति र सहयोगको प्रयोगमा विश्वास व्यक्त गरेका छन् । 

यस सम्झौता पत्रको उद्देश्य आईआरजीडीडी र हस्तकला महासंघ बीचको सहकार्यको रूपरेखालाई नेपालको हस्तकलाको प्रवर्धन , कारीगर सशक्तीकरण, अनुसन्धान, नीतिगत संवाद, प्रभाव र दृश्यतालाई अधिकतम बनाउन प्रत्येक पक्षको तुलनात्मक शक्तिको लाभ उठाउन संयुक्त रूपमा अगाडि बढाउनु हो । 

यो सम्झौता पत्रले नेपालको हस्तकला क्षेत्रको प्रबर्धन र नेपालको अर्थतन्त्रको दिगो विकासलाई समर्थन गर्ने पक्षहरूको साझा अभिप्रायलाई प्रतिबिम्बित गर्दछ । 

दुवै पक्षहरूले परम्परागत शिल्पको सांस्कृतिक र आर्थिक महत्त्वलाई मान्यता दिन्छन् र अनुसन्धान, कूटनीति, नवप्रवर्तन र वकालतमा संयुक्त प्रयासहरूमार्फत कारीगरहरूलाई सशक्त बनाउन, सम्पदाको संरक्षण गर्न र अन्तर्राष्ट्रिय दृश्यता बढाउन प्रतिबद्धता जनाएका छन् । 

आईआरजीडीडीकी अध्यक्ष डा. ढकालले नेपाली हस्तकला क्षेत्रलाई बढाउन सहकार्य गर्ने यो सुरुवात मात्र भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘‘‘यो सम्झौताले हामीलाई मिलेर काम गर्ने बाटो खोलेको छ। नेपाली जनताको हितको लागि मिलेर काम गरौं, एकअर्कालाई सहयोग गरौं । नेपाली उत्पादन र नेपालको प्रबर्धन गर्न नेपाल हस्तकथा महासंघसँग सहकार्य गर्न पाउँदा आईआरजीडीडी खुसी रहेको छ । हाम्रो उद्देश्य नेपालको सौर्य कुटनीति थप बलियो र प्रभावकारी बनाउदै लानु हो ।’’ 

नेपाल हस्तकथा महासंघका अध्यक्ष शाक्यले दुई संस्था बीचको सहकार्य महत्वपूर्ण रहेको बताउनु भयो । । ‘यो सम्झौतापत्रले हस्तकला क्षेत्रलाई मात्र नभई देशलाई पनि फाइदा पुराउनेछ । हामी विकासशील देशहरूमा बजारहरूलाई लक्षित गर्दैछौं,’ उहाँले भन्नुभयो,‘अब, हामी मुख्यतया महिला र युवाहरूसँग काम गरिरहेका छौं । किनभने सरकारले आफ्नो नीतिहरूमा महिला र युवाहरूलाई पनि प्राथमिकता दिएको छ । हामी आशा गर्छौं कि आईआरजीडीडी जस्तो संस्थाले हामीलाई प्रबर्धन गर्न सहयोग गर्न सक्छ। हामी विश्वमा नेपालको हस्तकला फैलाउन चाहन्छौं र यसले हस्तकला बजारलाई मात्र नभई देशका लागि पनि बढावा दिनेछ ।’’ 

समझदारीपत्र अनुसार दुवै संस्थाले नेपाली उत्पादनहरूको प्रबर्धन लागि मिलेर काम गर्नेछन् । जुन साझा विषयगत प्राथमिकताहरूसँग मिलेर योजना र कार्यान्वयन पहलहरूमा आधारित हुनेछ । यसबाहेक उत्पादन प्रवृत्ति, अन्तर्राष्ट्रिय मापदण्ड र बजार अवसरहरूमा संयुक्त अनुसन्धान गर्न शिक्षा र अनुसन्धान क्षेत्रमा सहकार्य हुनेछ । 

डिजाइन, नवप्रवर्तन, दिगोपन र गुणस्तरको बारेमा कारीगरहरूको ज्ञान सुधार गर्न प्रशिक्षण कार्यक्रमहरू र कार्यशालाहरू आयोजना गर्नेछ । 

यस्तै, गुणस्तर सुधार र उत्पादन विकास अन्तर्गत उनीहरूले अन्तर्राष्ट्रिय मागहरू पूरा गर्न उत्पादनको गुणस्तर र प्याकेजिङ सुधार गर्ने बारे प्राविधिक मार्गदर्शन प्रदान गर्नेछन् । परम्परागत विधिहरू र सांस्कृतिक महत्त्वको सम्मान र संरक्षण गर्दै नवप्रवर्तनको अन्वेषण गरिनेछ । 

सहयोगको अर्को क्षेत्र व्यापारिक सम्बन्ध र बजार पहुँच हो । जहाँ उनीहरूले नेपाली कारीगरहरूलाई विश्वव्यापी खरीददारहरू र साझेदारहरूसँग जोड्न बीटुबी (व्यवसाय–देखि–व्यवसाय) कार्यक्रमहरू आयोजना गर्नेछन् । सम्झौता पाँच वर्षसम्म मान्य रहनेछ ।