• ५ असार २०८२, बिहिबार

सहर छाडेर गाउँमा उद्योगपति

blog

मेघनाथ अर्याल दम्पती

टोपलाल अर्याल 

रेसुङ्गा (गुल्मी), असार ५ गते । गुल्मीको धुर्कोट गाउँपालिका–६, सिस्तुङका ५४ वर्षीय मेघनाथ अर्याल २०४८ सालमा गाउँबाट बुटवल झर्नुभयो । २०५९ सालमा कोरिया गएर तीन वर्षपछि २०६२ सालमा घर फर्किनुभयो । जीवनमा नपुग्दो केही थिएन । परदेशको कमाइले राम्रै पुगेकै थियो तर अर्याल कोभिडका बेला २०७७ सालमा गाउँ फर्किएपछि सहर झर्नुभएन । 

त्यसपछि खेतकै बिचमा घर बनाएर कृषि र पशुपालन गर्दै अहिले उहाँले चामल उद्योग सञ्चालन गर्नुभएको छ । सहरबाट गाउँ फर्किएका निकै कम छन् तर मेघनाथले गाउँ फर्किएर गरेको मेहनतले अहिले उद्योगपति बनाएको छ । गत वर्ष चार सय मुरी धान फलाउनुभएका अर्यालले चामल उद्योगको राम्रो सम्भावना देखेरै योजना बनाउनुभयो । अर्याल बस्ने चौरासी फाँट, फूलबारी, किसानटारी, गानटारी, हुलाके र छल्दीका थुप्रै फाँटमा धान खेती राम्रो हुँदै आएको छ । 

चामल उद्योग सञ्चालनसँगै माग धेरै आएकाले सबै फाँटका धान खरिद गर्न आफूलाई कुनै समस्या नरहेको अर्यालले बताउनुभयो । धुर्कोट गाउँपालिका, हेफर प्रोजेक्ट नेपाल र अर्याल आफैँले लगानी गरेर अर्याल खाद्यान्य प्रशोधन तथा प्याकेजिङ उद्योग सञ्चालन गरेर धुर्कोटे चामलको बजारीकरण सुरु गरिएको छ । उद्योग सञ्चालक अर्यालले आगामी वर्षदेखि गाउँकै मकै, कोदो र फापरको पिठोलाई प्रशोधन तथा प्याकेजिङ गरेर बजार पठाउने योजना रहेको बताउनुभयो ।

उहाँले बाहिरबाट हुने आयातलाई सानो परिमाणमा भए पनि रोक्ने र पहाडको अर्गानिक उत्पादन सहरसम्म पुर्‍याउने आफ्नो उद्देश्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मैले उत्पादन र प्रशोधन मात्रै नभएर खरिद गर्ने उद्देश्यले उद्योग सञ्चालन गरेको छु । सबैको सहयोग पाए आयात प्रतिस्थापन गर्ने हो ।” अर्यालले अहिलेसम्म सरकारका सबै तह र निकायबाट सहयोग प्राप्त गरेको बताउनुभयो । अहिले २५ किलोको बोराबाट चामल बिक्री भइरहेको छ । अर्यालकोमा २० जनाले नियमित रोजगारीसमेत पाएका छन् ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट सबै प्रक्रिया पूरा गरेर चामल बिक्रीवितरण सुरु गरिएको धुर्कोट गाउँपालिका अध्यक्ष भूपाल पोख्रेलले बताउनुभयो । उहाँले गाउँपालिकाले प्रविधि, उद्योग सञ्चालनसँगै चामल प्याकेजिङ तथा बजारीकरणमा सहयोग गरेको बताउनुभयो । अर्याललाई धुर्कोट गाउँपालिकाले नगद ६७ हजार रुपियाँसहित सम्मान पनि गरेको छ । पालिकाका नीति तथा कार्यक्रम अनुसार धानबालीतर्फ अर्याललाई सम्मान गरिएको धुर्कोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीले बताउनुभयो । 

मेघनाथ अर्यालले एक करोड लगानी गरेर व्यावसायिक भैँसीपालन सुरु गरेको पाँच वर्ष भयो । फर्ममा माउ १७, साना पाडापाडी १२ गरेर २९ वटा भैँसी पालन गर्नुभएको छ । उहाँले दैनिक सय लिटर दुध उत्पादन गरेर बिक्री गर्दै आउनुभएको छ । कृषि र पशुपालनमा स्थानीय २० जनाले दैनिक रोजगारी पाइरहेका छन् । आगामी वर्षबाट उद्योगमा अझै धेरैलाई रोजगारी सिर्जना हुने अर्यालले बताउनुभयो ।