• २७ वैशाख २०८२, शनिबार

दरौदी नदीमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु

blog

गुणबहादुर रोका
सुलीकोट, वैशाख २७ गते ।
गोरखाको दरौदी नदीमा पौडी खेल्ने क्रममा डुबेर एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा बारपाक सुलीकोट गाउँपालिका–८ गैरीछाप स्थायी घर भएका २३ वर्षीय आयुश गुरुङ भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक ईन्द्र प्रसाद सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार शुक्रबार बिहान गोरखाको पालुङटार नगरपालिका–२ लिगलिगकोट लगायतका ठाउँहरूमा साथीसँग घुम्न गएका बेला गोरखातर्फ आउँदै गर्दा गोरखा नगरपालिका–१० छेपेटारको दरौदी नदीमा पौडी खेल्ने क्रममा डुबेर गुरुङको मृत्यु भएको उहाँले बताउनुभयो ।

घटनाबारे सूचना पाउने बित्तिकै जिल्ला प्रहरी कार्यालय गोरखाको प्रहरी टोली र सशस्त्र प्रहरीको गोताखोर टोलीले शुक्रबार राति ८ः३० बजे दरौदीको रुवाबाट नदीबाट गुरुङको शव फेला पारेको हो । 

मृतकको आफन्त र प्रहरी टोलीले घटनास्थलमा प्रारम्भिक अनुसन्धान कार्य पूरा गरी मृतक शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल गोरखामा राखिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।