काठमाडौँ, वैशाख २७ गते । नेपालको खेल क्षेत्रले जति सफलता र सनसनीपूर्ण अन्तर्राष्ट्रिय नतिजाले चर्चा पाउँछ त्यो भन्दा बढी त्यसभित्र रहेका विवाद र खराब राजनीतिले घेरिने गर्दछ ।
राजनीति पार्टीहरूले खेल सङ्घहरूलाई स्वार्थका लागि प्रयोग गरिरहँदा नेपालको खेलकुद क्षेत्रमा विवाद झनै बढ्दै गइरहेको अवस्था छ । त्यस किसिमको विवाद र सदैव द्वन्द सिर्जना हुने खेल सङ्घ हो । नेपाली फुटबलको प्रशासकीय निकाय अखिल नेपाल फुटबल सङ्घ [एन्फा] । स्थापनाको सात दशक पार गरिसकेको एन्फामा सदैव आन्तरिक कलहमा परिरहँदा नेपालको फुटबल त्यति राम्रो विकास हुन सकिरहेको छैन । नेतृत्वमा पुग्न विभिन्न गुट उपगुटका बनाउँदै सधैँ कलहमा एन्फा पर्दै आएको छ । एन्फाभित्र विवाद भइरहँदा त्यसको केन्द्रमा रहने व्यक्ति हुन्, गणेश थापा । अर्थात् पूर्वराष्ट्रिय खेलाडी एवं एन्फामा २१ वर्षे अध्यक्षको नेतृत्व गरेका व्यक्ति ।
उनी विश्व फुटबलको सबैभन्दा उच्च ओहोदा पुग्ने नेपाली पनि हुन् । थापा एएफसीका पूर्व अध्यक्ष पनि हुन् । तर २०७१ सालदेखि भने उनी नेपाली फुटबलमा सक्रिय थिएनन् । त्यसको एक मात्र कारण हो । भ्रष्टाचारको आरोप उनीमाथि फिफाले १० वर्षको प्रतिबन्ध लगाएको थियो । तर त्यो प्रतिबन्ध केही समयअगाडि मात्र थापाले पूरा गरेका छन् । त्यसयता उनी फेरि नेपाली फुटबलमा सक्रिय हुन थालेका छन् । तर प्रतिबन्धका समयमा पनि उनी भित्रभित्रै नेपाली फुटबलको राजनीतिमा प्रभाव राख्दै आएका पात्र भने थिए । अझ भनौँ एन्फाको नेतृत्वमा जाने चाहने व्यक्तिले पनि उनकै सहाराले लिने गरेका थिए । तीमध्ये एक हुन्, एन्फाका वर्तमान पङ्कजविक्रम नेम्बाङ ।
कर्मा छिरिङ शेर्पा नेतृत्वलाई एन्फाको निर्वाचनमा हराउन उनै गणेश थापाले पङ्कजलाई सघाएका थिए । एक समय गणेश थापाको नेतृत्वको नेपाली फुटबलबाटै फाल्नुपर्छ भन्दै कर्मा छिरिङ र पङ्कज दुवै एकै ठाउँमा उभिएका सारथि हुन् । थापालाई भ्रष्टाचारका कारण प्रतिबन्ध लागेपछि थापाको निकटस्थ व्यक्तिहरूलाई एन्फाबाट हटाउन सक्रिय कर्मा र पंकजबिचको सम्बन्ध पनि नेपाली फुटबलको सत्तामा पुगेपछि चिसिन पुग्यो । अहिले यी दुई एक अर्काको कट्टर विरोधी हुन् । कर्मालाई नै हराउन भ्रष्टाचारको प्रतिबन्धमा रहेका थापाको सहारा लिएका पङ्कजका लागि पनि उनै थापा सबैभन्दा ठुलो समस्या भइरहेका छन् । १० वर्षको प्रतिबन्ध फुकुवा भएपछि थापा अहिले फेरि नेपाली फुटबलमा सक्रिय हुन थालेका छन् ।
सत्तामा पुग्न कहिले कोसँग मिल्ने र कहिले कोसँग मिल्ने यी गुटका कारण नेपाली फुटबलको विकास राम्रोसँग हुन सकिरहेको छैन । नेपालको फुटबल विकासमा मेरुदण्ड मानिने शहीद स्मारक ‘ए’ डिभिजन लिग २०७९ सालयता भएको छैन । तर त्यसमा नत वर्तमान नेतृत्व सक्रिय छ । नत एन्फाको सत्तामा पुग्न फेरि लालायित गुटहरू नै । कहिले गीता राणा र गणेश थापाको बिचको द्वन्द्व, कहिले इन्द्रमान तुलाधरले चलाएको विद्रोह र कहिले कर्मा छिरिङ नेतृत्वले गरेको चेन्ज एन्फा नामका सत्ता विरोध गतिविधिका कारण नेपालको फुटबल विकासमा असर परिरहेको छ । सत्ताका लागि एक अर्काको विरोध गरिरहने यी गुटले गर्दा नेपाली फुटबलको नतिजामा पनि त्यसको असर परेका छन् ।
नियमित रूपमा लिग सञ्चालन नहुनु र अन्य गतिविधिमा पनि प्रभावित भइरहँदा नेपाली फुटबलरहरू बिदेसिनु परेको अवस्था छ । तर फुटबल विकास र भ्रष्टाचारीको विरोधका नामबाट समयाअनुकुल फरक कित्ताबाट चलिरहेका यी गुटहरूलाई त्यसको कुनै वास्ता नै छैन । बस् जसरी हुन्छ कुनै पनि नाराबाट पालैपालो एन्फाको सत्तामा पुग्ने लक्ष्य मात्र छ । यस्तै दृश्यमध्ये एक हो, भ्रष्टाचार नै प्रमाणित भएका गणेश थापा नेपाली फुटबलमा सक्रिय हुनु । बिहीबार एन्फाको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को साधारण सभा तय गरिएको थियो । त्यो साधारण सभामा थापा सहभागी हुन चाहेका थिए । तर एन्फाको वर्तमान नेतृत्वले उनलाई रोक्यो ।
थापा साधारण सभामा भाग लिने अदालतको कागजसहित शुक्रafर बिहानै धुलिखेल पुगेका थिए । तर उनीसँग साधारण सभाकf लागि एन्फाले जारी गरेको पास थिएन । सोही पास नभएको भन्दै थापा र उनका छोरा गौरव थापालाई प्रवेश दिइएन । कहिबेर स्थिति तनावपूर्ण पनि बन्यो । निकै आक्रोशित बनेका थापाले अदालतको निर्णय मान्नुपर्ने मागसहित लामो समय विवाद गरेका थिए । उनी शहीद स्मारक ‘बी’ डिभिजन लिग क्लब आरसी ३२ को सदस्यको रूपमा साधारण सभामा सहभागी हुन पुगेका थिए । थापालाई साथै दिँदै एन्फाका वर्तमान वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्ष विराटजंग शाही तथा सदस्य रवीन्द्र चन्द र रूपेश अधिकारी पनि उद्घाटन समारोहमा सहभागी भएनन् ।
एन्फाले आफूलाई रोक्न सक्ने भन्दै उहाँले साधारण सभामा भाग लिन पाउनुपर्ने मागसहित उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । वैशाख २१ मा उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्टको इजलासले थापाकै पक्षमा फैसला गरेपछि उनी साधारण सभामा भाग लिन धुलिखेल पुगेका थिए । तर अदालतको आदेश भए पनि थापालाई किन त्यहाँ सहभागी हुन दिइएको भन्ने प्रश्नमा एन्फाका प्रवक्ताका सुरेश साहले साधारण सभामा सहभागी बन्न आवश्यक प्रक्रिया पूरा नभएकाले थापालाई रोकिएको भन्ने जबाफ दिए ।
थापा फेरि फुटबलमा सक्रिय हुन खोज्नु र वर्तमान नेतृत्वले उनलाई रोक्ने प्रयास गरिरहनु फुटबल विकासका लागि भएको गतिविधि भन्दा पनि एन्फाको सत्तामा पुग्नका लागि भइरहेको गतिविधि नै हुन् । जुन विवाद र द्वन्द्व पछिल्लो तीन दशकदेखि नेपाली फुटबल जरो गाडेर बसेको छ । २०५१ सालमा एमालेको ९ महिने सरकारको पालामा राष्ट्रिय खेलकुद परिषद् सदस्यसचिव केशव स्थापितले रुक्मशमशेर राणालाई हटाएर पूर्व खेलाडी थापालाई एन्फाको अध्यक्ष बनाएका थिए । त्यसयता हरेक समयमा फरक फरक व्यक्तिका नामबाट चलेका गुटहरू र स्वार्थ समूहले नेपाली फुटबललाई विवादमा ल्याइरहेका छन् । जुन शृङ्खला तीन दशक पार गरिसक्दा पनि रोकिएको छैन । यसले गर्दा खेलाडी, प्रशिक्षक, फुटबल समर्थक मात्र होइन समग्र नेपालको खेल क्षेत्र नै चिन्तित बनिरहेको छ ।