सिराज खान
नेपालगन्ज, वैशाख २७ गते । बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ वेलासपुरमा बसोवास गर्ने अत्यधिक पिछिडिएको मानिने चिडिमार समुदायका लागि आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा २६५ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।
चिडिमार समुदायको हकहित र सेवामा सक्रिय बहेलिया चिडिमार विकास समाजले आयोजना गरेको सो स्वास्थ्य शिविरमा उनिहरुको कान र आँखाको उपचार गरिएको बहेलिया चिडिमार विकास समाजका अध्यक्ष रामु चिडिमारले जानकारी दिनुभयो ।
उहाँले पश्चिम नेपालकै स्वास्थ्य हबको रुपमा परिचित नेपालगन्जमा बसेर पनि आँखा तथा कानको परीक्षण गराउन अस्पताल र स्वास्थ्य संस्थासम्म नपुग्ने गरेका चिडिमारहरुका लागि सो शिविर आयोजना गरिएको बताउनुभयो ।
उक्त शिविरमा २६५ जना चिडिमार समुदायका महिला पुरुष र बालबालिकाले आँखा र कान चेकजाँच गराएको जनाउँदै बहेलिया चिडिमार विकास समाजका अध्यक्ष रामु चिडिमारले सो शिविरमा आएका मध्ये धेरैजनाको कान र आँखामा समस्या देखिएको बताउनुभयो ।
सो शिविरमा जाँच गरिएका बिरामीमध्ये समस्या बढी भएर शल्यक्रिया गर्नुपर्ने देखिएका बिरामीहरु सम्बन्धित अस्पताल गएमा ५० प्रतिशत छुटमा शल्यक्रिया गरिने आयोजक संस्था बहेलिया चिडिमार विकास समाजले जनाएको छ ।
उक्त निःशुल्क स्वास्थ्य शिविरमा नेपालगन्जस्थित भिजन आँखा अस्पताल र ब्रिनोज कान सामुदायिक सेवा केन्द्रका चिकित्सकहरुले परीक्षण गर्नुभएको थियो भने सो कार्यमा बास नेपाल बाँके र गौरवस्मृति तथा बियोर सेल्फ फाउण्डेशनको सहकार्य थियो ।
स्वास्थ्य शिविरमा गैरसरकारी संस्था महासङ्घ नेपालका केन्द्रीय सचिव तथा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाह, बहेलिया चिडिमार विकास समाजका अध्यक्ष रामु चिडिमार, बास नेपालका कार्यक्रम संयोजक रबिन्द्र बोहरा, गौरव स्मृति तथा बियोर सेल्फ फाउण्डेशनका अध्यक्ष प्रदीप साहुलगायत बहेलिया चिडिमार विकास समाजका पदाधिकारीहरुको सहभागिता थियो ।