धर्बेन्द्र झा
धनुषा, असार ३१ गते । नसर्ने रोगको रोकथाम र नियन्त्रण गर्ने उद्देश्यले मधुमेह तथा उच्च रक्तचापको स्क्रिनिङ्गका लागि स्वास्थ्य निर्देशनालय मधेश प्रदेशले ग्रामीणस्तरमा सञ्चालन गरेको दुईवटा शिविर बाट पाँच सयभन्दा बढी सर्वसधारणले लाभ लिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
शिविर सञ्चालनका लागि निर्देशनालयले तोकेको फोकलपर्सन आशिष मिश्रले स्वास्थ्य सेवामा पहुँच नभएको र विकट स्थानलाई प्राथमिकतामा राखेर आइतबार मनराशिशवा नगरपालिका –९ बथनाहा र लोहरपट्टी नगरपालिका –४ बरोटोल खुटटमा शिबिर सञ्चालन गरिएको बताउनुभयो ।
दुबै स्थान गरी पाँच सयभन्दा बढी व्यक्तिले मधुमेह तथा उच्च रक्तचापको जाँच गराउनुको साथै आवश्यकताको अधारमा औषधि समेत वितरण गरिएको निर्देशनालयले जनाएको छ । ग्रामीण क्षेत्रका बासिन्दाले कामकाजमा व्यस्त रहने गरिएको र स्वास्थ्यप्रति सजग देखिएकाले प्रदेश सरकारको निर्धारित कार्यक्रम बमोजिम स्वास्थ्यप्रति सजग बनाउन शिविरको आयोजना गरिएको स्वास्थ्य निर्देशक राजिव झाले जानकारी दिनुभयो ।
रोग हुँदा पनि स्वास्थ्य परीक्षणको अभावमा धेरैजसो व्यक्तिले समयमा रोगको पहिचान गर्न नसकेपछि ज्यानसम्म जानेगरेको घटनाहरु रहेको भन्दै उहाँले यसप्रकारको शिविरमा जाँच गराएपछि शरीरको अवस्थाबारे जानकारी हुने उहाँको भनाइ छ । कुनै रोग देखा परेमा समयमै उपचार गरेमा निको हुने उहाँले बताउनुभयो । बरोटोल खुटटमा एमडी इन्टर्नल मेडिसिन डा. धिरेज झाको नेतृत्वमा १२ जानको टोली र बथनाहामा एमडी डा. सुदिप यादवको नेतृत्वमा १० जनाको टोली परिचालन गरी शिबिर सम्पन्न भएको स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका जनस्वास्थ्य निरीक्षक गिरिन्द्र झाले जानकारी दिनुभयो ।
शिबिरबाट लाभ लिएका लोहरपट्टी नपा –४ का सुगा मुखियाले प्रदेश सरकारले यस प्रकारको शिविर गरेपछि हामी गरिब जनतालाई धेरै लाभ भएको बताउनुभयो । उहाँले चिकित्सकले जाँच गरेपछि लेखेका टेस्टहरु पनि शिबिरमै उपलब्ध भएपछि सहज भएको बताउनुभयो ।
शिबिरमा एमडीजीपी डा.उदय प्रताप दिवाकर, जनस्वास्थ्य अधिकृत रामनाथ साह, स्वास्थ्य निर्देशनालयका प्रतिनिधि विनोद यादव, स्थानीय जनप्रतिनिधि शशीभूषण झासहितको सहभागिता रहेको स्वास्थ्य निर्देशनालयका फोकलपर्सन मिश्रले बताउनुभयो ।