तनहुँ समाचारदाता
तनहुँ, असार ३१ गते । भानुभक्त आचार्यलाई आदिकवि बनाउने प्रेरणास्थल घाँसी कुवा संरक्षण गर्ने प्रतिबद्धता सरोकारवालाले गरेका छन्। भानु घाँसी संरक्षण पार्कले २१० औँ भानुजयन्तीको अवसरमा व्यास नगरपालिका–१२, घाँसी कुवामा गरिएको कार्यक्रमममा यस्तो प्रतिबद्धता व्यक्त गरिएको हो। प्रतिबद्धता व्यक्त गरेपछि घाँसी कुवा र पार्कको संरक्षण हुनेमा स्थानीय आशावादी भएका छन्।
पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्ड विस्तार भइरहेकाले घाँसी कुवामा रहेको कुवा र पार्कमा सडक पुग्ने भएकाले मासिने जोखिम रहेको छ। स्थानीयले यसको संरक्षण गर्नुपर्ने माग राख्दै आएका छन्।
जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले कुवाको संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। वाग्लेले भन्नुभयो, “संरक्षणका लागि पहलकदमी गरिरहेको छौँ। योजनासँग कुरा भएको छ उहाँहरूले अस्तित्व जोगाएर राजमार्ग विस्तार गर्ने बताउनुभएको छ, चिन्ता लिनुपर्दैन।”
सडक विस्तार गर्दा कुवा र पार्कलाई जोगाउने उपाय अपनाउन आयोजनालाई आग्रह गरिएको उहाँको भनाइ छ। व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेले सम्बन्धित पक्षसँग कुरा गरिएको र त्यहाँ जमिनलाई व्यवस्थित गरेर कुवा जोगाउन प्रयत्न गरिएको बताउनुभयो। उहाँले भन्नुभयो, “न्यून आय भएका कमजोर व्यक्तिले पनि प्रेरणा, माया र शिक्षा दिन सक्दा रहेछन् भन्ने सन्देश घाँसी कुवाले दिइरहेको छ। हालको भन्दा थोरै तल कुवा सारेर घाँसी कुवाको मूल्यलाई स्थापित गर्छौं।” प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले संरक्षण गर्नु राज्यको दायित्व भएकाले अस्तित्व जोगाएर राजमार्ग विस्तारको काम गर्न निर्देशन दिइएको बताउनुभयो।
भानुभक्त ससुराली मानहुँ पुगेर पैदल बाटो फर्किने क्रममा घाँसी कुवामा घाँसीसँग भेट भएको थियो। घाँसीले घाँस काटेर भएको आम्दानीबाट कुवा खनाउने भन्ने महान् विचारबाट प्रेरित भई भानुले कविता रचना गर्नुभएको थियो।
घाँसीले घाँस काटेरै कुवा बनाउने प्रेरणाबाट भानुभक्तले रामायणलाई नेपाली भाषामा अनुवाद गरी नेपाली भाषाको विस्तार गर्नुभएको थियो। भानु घाँसी स्मारक पार्क संरक्षण समितिका कर्मचारी तथा स्थानीय प्रेमराज पन्थले ऐतिहासिक महत्वपूर्ण र सबैले चिन्ने स्थान रहेकाले जसरी पनि संरक्षण गरिनुपर्ने बताउनुभयो। पन्थले भन्नुभयो, “ऐतिहासिक महत्वपूर्ण र सबैले चिन्ने स्थान हो। यसलाई संरक्षण गरिनु पर्छ।”