• २२ वैशाख २०८१, शनिबार

विश्वका राष्ट्रिय गानको सँगालो नेपालीमा

blog

काठमाडौँ, असार ३१ गते । ‘सयौँ थुँगा फूलका हामी एउटै माला नेपाली...’ नेपाली राष्ट्रिय गानको पहिलो हरफले अनेक फूल जस्तै विविधतायुक्त नेपालीको एकताको प्रतिनिधित्व गर्छ । संवैधानिक मर्मले पनि त्यही बोल्छ । 

त्यस्तै राष्ट्रिय गान, राष्ट्रिय झन्डा, राष्ट्रिय भाषा र राष्ट्रिय निसान छाप कुनै पनि देशको राष्ट्रियताको परिचय दिने अभिन्न अङ्ग हुन् । यी सबैमा आआफ्नै देशको आफ्नै माटोको सुवास पनि मिसिएको हुन्छ । ती सबै सुवासलाई एउटै फेरोमा कस्दै शनिबार विश्वका राष्ट्रिय गानको सँगालो नेपालमा सार्वजनिक भएको छ ।

प्रदीप निरौलाको अनुवाद र नेपाल वाङ्मय फाउन्डेसनको प्रकाशनमा विश्वका १९५ मुलुकका राष्ट्रिय गान नेपाली भाषामा आउँदा नेपालले विश्व समाजलाई नै एउटै मालामा गाँसेको हो । नेपाली राष्ट्रिय गानको सयौँ थुँगा फूलमा विश्वका अन्य सयौँ थुँगा फूल मिसाएर ल्याउँदा साँच्चै विश्व ‘बसुधैव कुटुम्बक्’ तर्फ अग्रसर भएको महसुस नेपालको राजधानी काठमाडौँमा गरियो । 

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गान कुनै पनि राष्ट्रको सामाजिक, सांस्कृतिक, ऐतिहासिक तथा मनोवैज्ञानिक पक्षको साझा र एकीकृत अभिव्यक्ति भएको सन्देश दिनुभयो । जसले विगतका गौरव, वर्तमानका उपलब्धि र भविष्यका आशाको उज्यालो प्रकाशलाई बोकेको हुन्छ । संयुक्त राष्ट्रसङ्घमा आबद्ध मुलुकको राष्ट्रिय गानको अनुवादित सङ्ग्रहले विश्वशान्ति, भातृत्व एवं उच्च सद्भावको कामनासहित नेपाली पाठकमा राष्ट्रियता, देशभक्ति र मानव कल्याणको सकारात्मक सन्देश प्रवाहित गर्न योगदान पु-याउने विश्वास राष्ट्रपतिले सन्देशमार्फत व्यक्त गर्नुभयो । 

अनेक भूगोल, भाषा, धर्म संस्कार, संस्कृति, राष्ट्रभक्ति, वीरताको मिश्रण अनुवादको सङ्लो पहलबाट विश्वलाई सँगाल्न सक्दा विश्वलाई नियाल्न सक्ने एउटा सुन्दर आँखीझ्याल बनेको टिप्पणी परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले गर्नुभयो । 

उहाँले भन्नुभयो, “दुनियाँ विभाजित छ र पनि एकताबद्ध हुने अवसर दिँदै सबैलाई एउटै मालामा गाँस्ने कामले इतिहास पनि नियाल्ने अवसर दिएको छ ।” उहाँका अनुसार राष्ट्रिय गान देशको विम्ब जस्तै हो जसले इतिहास, राज्यको संरचना र भावी मार्गदिशा अभिव्यक्त गर्छ । तिनको सङ्ग्रहले सबै देशलाई एकाकार हुने ठाउँ दिएकाले यसको वैश्विक महत्वको रहेको उहाँको ठम्याइ थियो । 

संयुक्त राष्ट्रसङ्घका तर्फबाट नेपालका लागि आवासीय प्रतिनिधि हाना सिङ्गर ह्याम्डीले राष्ट्रिय गान अरू राष्ट्रिय प्रतीक जस्तै देशको प्रतीक भएको र जसले देशको नागरिक, इतिहास र देशको विश्वासको प्रतिनिधित्व गर्ने सन्देश दिनुभयो । सन्देशमा यसरी अनुवाद भएर विश्वमै पहिलो पटक नेपाली भाषामा सबै राष्ट्रिय गानको सँगालो आउँदा सुखद अनुभूति भएको उहाँले उल्लेख गर्नुभयो । 

राष्ट्रिय गानका विषयमा विशेष प्रवचन दिँदै पूर्वराजदूत मधुरमण आचार्यले विश्वमा राष्ट्रिय गानको उद्भव नेदरल्यान्डबाट भएको जानकारी दिनुभयो । एउटा देश बन्न भूगोल, जनता, सार्वभौमिकतासँगै राष्ट्रियता झल्काउने प्रतिविम्बको आवश्यकता पर्छ । राष्ट्रियता बोल्ने एटा प्रमुख माध्यम राष्ट्रिय गान भएको आचार्यले बताउनुभयो । हरेक राष्ट्रिय गानमा देशभक्ति, साहित्य तथा साङ्गीतिक प्रस्तुती, वीरता, समयसापेक्षता, खुसी र दुख दुवैको साक्षी हुन सक्ने खुबी, सङ्घर्ष र इतिहासको झल्को पाइने गरेको औँल्याउनुभयो । 

एकीकृत सँगालोमा रहेका राष्ट्रिय गानमा भूमिप्रतिको आस्था, जनताको बहुलता, विविधता, वैचारिकता, शान्तिको पक्षधरता, सार्वभौमिकता जस्ता समानता पाइएको टिप्पणी गर्नुभयो । उहाँका अनुसार पुराना कालखण्ड र केही वर्तमानमा पनि केही मुलुकका राष्ट्रिय गानमा राजाको स्तुति समावेश गरिएको पाइन्छ । त्यति मात्र नभई देशप्रतिको उत्तरदायित्व र प्रतिबद्धता त्यो गानले बोल्छ तर धेरै जसो राष्ट्रिय गान मातृत्वमैत्री भावलाई बेवास्ता गर्दै पितृत्वमुखी भावमा रचिएको आलोचना उहाँले गर्नुभयो । 

फाउन्डेसनका अध्यक्ष डा. विप्लव ढकालले संस्थाको सुरुवातसँगै राष्ट्रिय गानको सँगालो ल्याउन पाउँदाको खुसी व्यक्त गर्नुभयो । विभिन्न मुलुकका राष्ट्रिय गानको काव्यिक र शाब्दिक अनुवादलाई सूक्ष्म रूपले केलाउँदै मर्मस्पर्शी अनुवाद गरिएको ढकालले बताउनुभयो । सँगालोको लोकार्पणसँगै संस्थाको औपचारिक सुरुवातको उद्घाटन पनि गरिएको थियो ।