• २५ मङ्सिर २०८२, बिहिबार

पाँच शव नेपाल ल्याउने तयारी

blog

काठमाडौँ, मङ्सिर २५ गते । भारतको गोवास्थित एक नाइटक्लबमा गत शनिबार भएको आगलागीमा परेर मृत्यु भएका पाँच जना नेपाली नागरिकको शव नेपाल ल्याउन सरकारले पहल थालेको छ ।

उक्त नाइटक्लबको भान्सामा सिलिन्डर विस्फोट भएर आगो लाग्दा पाँच जना नेपालीसहित २५ जनाको मृत्यु भएको थियो । अन्य छ जनाभन्दा बढी घाइते भएका थिए । गोवा प्रहरीका अनुसार उक्त घटनामा मृत्यु भएका नेपाली नागरिकमा दाङका ३१ वर्षीय चूर्णबहादुर पुन, सिन्धुलीका विवेक अर्थात् लीलबहादुर कटुवाल, झापाका सबिन विश्वकर्मा र सुदीप गुरुङ हुनुहुन्छ । त्यस्तै मृत्यु हुनेमा डडेलधुराका मनोज जोरा पनि रहेको जनाइएको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार उक्त आगलागीमा परेर मृत्यु भएका पाँचै जनाको सनाखत भएको छ । दिल्लीस्थित नेपाली दूतावास तथा त्यहाँ काम गर्न बसेका अन्य स्थानीय नेपालीको समन्वयमा नेपाली नागरिकहरूको शव नेपाल ल्याउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । यसका लागि दूतावासले आवश्यक कागजपत्र बनाउने प्रव्रिmया सकेको छ । गोवा प्रहरीको सहयोगमा चूर्णबहादुरको शवलाई एयर एम्बुलेन्समार्फत लखनउ र त्यहाँबाट शव वाहनमार्फत घरसम्म पु¥याउने व्यवस्था गरिएको छ । अन्यको हकमा पनि थप पहल जारी रहेको र स्थानीय नेपालीहरूले आर्थिक जोहोसमेत गरेर शव पठाउने व्यवस्थामा सघाइरहनुभएको जनाइएको छ ।

म्यानमारबाट थप ४७ जनाको उद्धार

कामको बहानामा म्यानमार लगेर अवैध कम्प्युटर गेम स्क्याममा लगाइएका थप ४७ जना नेपाली नागरिकको उद्धार गरी स्वदेश फर्काइएको छ । थाइल्यान्डस्थित नेपाली दूतावासले दिएको जानकारी अनुसार विभिन्न प्रलोभनमा विभिन्न माध्यमबाट म्यानमारमा पु¥याई त्यहाँ अवैध रूपमा सञ्चालन भएका अनलाइन स्क्यामिङ केन्द्रहरूमा बन्धक बनाई काम लगाइएका ४७ जना नेपाली नागरिकको उद्धारपछि स्वदेश फर्काइएको हो ।

बैङ्ककस्थित नेपाली दूतावासले थाइल्यान्डका सम्बन्धित निकायहरूको समन्वय र सहयोगमा उद्धारपछि बुधबार स्वदेश फर्काएको जनाइएको छ । यसरी पठाइएकामा १७ वर्षदेखि ४१ वर्ष उमेर समूहका ४५ जना पुरुष र दुई जना महिला रहनु भएको जनाइएको छ । यसरी गएकाहरूको २०८० साउनदेखि यता उद्धार थालिएको थियो । त्यसयता हालसम्म तीन सय ६५ जनाको उद्धार गरेर स्वदेश फिर्ता गरिएको छ । आर्थिक वर्ष २०८०/८१ मा ६८ जना, २०८१/८२ मा १५६ जना र चालु आर्थिक वर्षमा १४१ जना नेपाली नागरिकको उद्धार गरी नेपाल पठाइएको जनाइएको छ ।

जानकारी आउन थालेपश्चात सो क्षेत्रमा रोजगारीको प्रलोभनमा परी नजानका लागि अनुरोध गर्दै राजदूतावासले २०८० साउन २३ गतेदेखि यात्रा सचेतना (ट्राभल एडभाइजरी) जारी गर्न सुरु गरेको थियो भने अलपत्र परेका नेपालीलाई थाइल्यान्ड सरकारसँगको समन्वयमा मानव तस्कर पीडितको रूपमा उद्धार गर्न सुरु गरेको हो ।  अवैध ओसारपसार बढेपछि थाइल्यान्ड सरकारले कार्यसञ्चालन निर्देशिका नै बनाएर उद्धार तथा विभिन्न मुलुकका बासिन्दालाई फिर्ता पठाउन सहज बनाएको छ । निर्देशिका अनुसार नेपालको परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर म्यानमारको म्यावडीमा बन्धक बनाएर काम लगाइएकाहरूको उद्धार गरिरहेको छ ।