काठमाडौँ, पुस ५ गते । नेपालबाट रुद्रकली र खगेन्द्रप्रसादसहितको जोडी हात्ती कतार सरकारलाई उपहार भर्खरै पठाइयो । यी जोडी हात्ती त्यसै कतार पुगेका भने होइनन् । सन् २०१८ ताका तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले कतार भ्रमण गर्दा कतार सरकारले नेपालसँग एक जोडी हात्ती उपहार अपेक्षा ग¥यो । नेपाल सरकारले उपहार दिने पनि भन्यो तर वन्यजन्तु ओसारपसारसम्बन्धी कानुनी झमेलाका कारण त्यो प्रक्रियामा विलम्ब भयो अनि अन्योल पनि ।
गत वर्ष नेपाल भ्रमणमा आउनुभएका कतारका अमिर सेख तमिम बिन हमाद अल थानीले हात्ती उपहारको सन्दर्भ राष्ट्रपति रामचन्द्र पौडेलसँगको द्विपक्षीय भेटमा स्मरण गराउनुभयो । त्यसपछि राष्ट्रपति पौडेलकै पहलमा जोडी हात्तीलाई तयार गर्न चितवको सौराहास्थित हात्ती प्रजनन केन्द्रलाई भनियो । यसबिचमा अलमलिएको कानुनी तारतम्य मिलेपछि चितवन राष्ट्रिय निकुञ्जको निर्णयमा गत सोमबार खोरसोरबाट रुद्रकली र खगेन्द्रप्रसाद कतार जान बिदा भए । बुधबार दुवै हात्ती कतारतर्फ उडेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक बुद्धिसागर पौडेलले बताउनुभयो ।
कतार पुगेलगत्तै रुद्रकली र खगेन्द्रप्रसादको भव्य स्वागत गरिएको छ । रुद्रकली सात वर्ष पुगिन् भने सन् २०१९ मा जन्मेको खगेन्द्रप्रसाद उनीभन्दा एक वर्ष कान्छो छ वर्ष पुगे । जोडी हात्तीले त्यहाँ प्रजनन गरेर सन्तान बढोत्तरी र हेर्नेलाई रमाइलो गराउने मात्र होइनन् । पौडेलले भन्नुभयो, “कतारमा उनीहरूले नेपाल र कतारबिचको द्विपक्षीय सम्बन्धलाई अझ सुमधुर बनाउने माया र सद्भावको मियोको भूमिका खेल्ने छन् ।”
कतार नेपालको महत्वपूर्ण श्रम गन्तव्य हो । त्यहाँ चार लाख बढीको सङ्ख्यामा नेपाली श्रमिक काम गर्न पुगेका छन् । विदेशबाट नेपाल आएका पाहुना मात्र होइन, सरकारका नेतृत्व पनि यहाँको प्रकृति र वन्यजन्तु देखेर लोभिन्छन् । तिनलाई आफ्नै देशमा देख्ने चाहका साथ वन्यजन्तु कूटनीतिमार्फत पहल गर्छन् र नेपालबाट उपहार पाउँछन् । उहाँका अनुसार यसरी बाह्य मुलुकलाई दिइने उपहाररूपी वन्यजन्तुले नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारसँगै आपसी सौहार्दता कायम राख्दै वन्यजन्तु कूटनीतिलाई बढावा दिएको छ ।
प्राकृतिक तथा जैविक विविधताले भरिपूर्ण नेपालको ऐतिहासिक कालखण्डदेखि दुर्लभ वन्यजन्तु दिने परम्परा नै छ । सन् २०१८ मा छिमेकी चीनलाई मित्रताको चिनोस्वरूप दुई जोडी भालेपोथी एक सिङ्गे गैँडा नेपाल सरकारले उपहार पठाएको थियो । त्यसमध्ये एउटा भाले गैँडा बिरामी भएर मरेको थियो । बिजोडी बनेको पोथीलाई अर्को भाले गैँडा साथी पठाउने तयारी पनि सरकारका तर्फबट विभागले गरिरहेको महानिर्देशक पौडेलले जानकारी दिनुभयो । पत्राचार र अन्य कागजी प्रक्रियाकै क्रममा रहेकाले छिट्टै पठाइने विभागले जनाएको छ ।
देश–देश र सरकार–सरकारबिच मात्र होइन, वन्यजन्तु उपहार दिने चलनले दुई देशबिचको जनसम्बन्ध थप प्रगाढ बनाउने विश्वास पौडेलको छ । पौडेल थप्नुहुन्छ, “यस्तो प्रचलनले कारणवश कुनै देशमा कुनै प्रजातिका वन्यजन्तु लोप भयो वा हुने अवस्थामा पुग्यो भने त्यसरी उपहार दिइएका स्थानबाट बिउका रूपमा फेरि ती वन्यजन्तुको जनसङ्ख्या विस्तारमा सघाउ पुग्ने छ ।” विदेशबाट भने नगन्य रूपमा नेपालमा दुर्लभ रहेका वन्यजन्तु मात्र उपहार बनेर नेपालमा आउने गरेको विभागले जनाएको छ ।
विगतमा कहाँ कति उपहार
इतिहास केलाउने हो भने सन् १९८५ मा पहिलो पटक छिमेकी मुलुक भारतको दुधवा राष्ट्रिय निकुञ्जका लागि नेपाल सरकारले दुई जोडी (चार वटा) गैँडा उपहार दिएको थियो । त्यसपछि मात्र तेस्रो मुलुकमा वन्यजन्तु उपहार दिने चलन बसेको हो । हालसम्म त्यसरी उपहार दिइएका वन्यजन्तुको यकिन सङ्ख्या भने अन्योलमै छ । सरकारी तथ्याङ्क अनुसार हालसम्म २६ वटा एकसिङे गैँडा मित्रराष्ट्रलाई उपहार दिइएको छ ।
जस अनुसार सन् १९८७ मा तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनलाई नेपालका तर्फबाट दुई गैँडा उपहार दिइएको थियो । त्यही दिन अमेरिकाकै नेसनल जुओलोजिकल पार्कका लागि थप दुई वटा गैँडा उपहार दिइएको थियो । सन् १९९० मा अमेरिकाको फेर्टवर्ज जुओलोजिकल एसोसिएसनलाई फेरि भाले र पोथी दुई बच्चा गैँडा थप दिइएको थियो । यसरी नेपालबाट सबैभन्दा बढी छ वटा एकसिङे गैँडा लग्ने देश अमेरिका नै हो ।
सन् १९९० जनवरी १७ मा म्युनिख जु जर्मनीका लागि संरक्षण शिक्षाका लागि भनेर एक गैँडा उपहार दिइएको थियो । त्यही साल सिङ्गापुरलाई पनि एक जोडी गैँडा उपहार पठाइएको थियो । त्यसपछि सन् १९९३ मा विलहेल्मा जु जर्मनीका लागि थप एक पोथी गैँडा उपहार दिइएको थियो । त्यही वर्ष मिरपुर नेसनल जु ढाका बङ्गलादेशलाई दुई गैँडा उपहार दिइएको थियो ।
नेपाल सरकारका तर्फबाट सन् १९९८ मा जुओलोजिकल सोसाइटी अफ लन्डनका लागि दुई वटा पोथी गैँडा उपहार दिइएको थियो । सन् २००२ मा तामा जुओलोजिकल पार्क जापानलाई एक जोडी गैँडा उपहार दिइएको थियो । सन् २००६ फेबु्रअरीमा अस्ट्रियाको ‘भियना जु’ का लागि दुई गैँडा उपहार पठाइएको थियो ।
यीबाहेक सन् १९९२ मा जापानलाई एउटा हिमाली ब्वाँसो उपहार दिइएको थियो । जर्मनीलाई सन् १९९० मा दुइटा घडियाल गोही, सन् १९९४ र ९५ मा गरी जापानलाई ६० घडियाल र ६० मगर गोहीका अन्डा र १९८७ मा एउटा घडियाल गोही उपहार पठाइएको थियो । त्यस्तै सन् २००० मा फ्रान्सलाई छ वटा घडियाल गोही र भारतलाई चितुवा उपहार दिइएको थियो ।
सन् २००४ मा भुटानलाई दुई वटा घडियाल गोही उपहार दिइएको थियो । सन् १९९८ मा साउदी अरेबियालाई एउटा पाटेबाघ, एउटा चितुवा, गौरी गाई एउटा जरायो, एउटा काठेभालु र एउटा खरमजुर नेपालले उपहार दिएको थियो । त्यसै गरी पठाइएका वन्यजन्तुको अभिलेखीकरण गर्न थप खोजी भइरहेको विभागले जनाएको छ ।