भवानीदत्त भट्ट
बेलौरी (कञ्चनपुर), पुस ६ गते । कञ्चनपुर कारागारमा ऐनविपरीत चौकीदार, नाइके र सहनाइके तोकिएको खुलासा भएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले त्यसबारेमा छानबिन गर्ने भएको छ । कारागार व्यवस्था ऐन, २०७९ को दफा ५४ को (३) उपदफा (१) बमोजिम कारागारको आन्तरिक व्यवस्थापनका लागि तोकिने चौकीदार, नाइके वा सहनाइके तोक्दा एक वर्षभन्दा बढी समयका लागि तोक्नु हुँदैन तर कञ्चनपुर कारागार प्रशासनमा विगत आठ वर्षदेखि एउटै कैदीबन्दीलाई चौकीदार र नाइके तोकेको पाइएको छ । कारागार प्रशासनले कैदीहरूबाट अनुचित लाभ प्राप्त गर्नका लागि विगत आठ वर्षदेखि एउटै कैदीलाई चौकीदार, नाइके तोकेको भन्दै कैदीबन्दीले आरोप लगाएका छन् ।
यसका बारेमा जिल्ला प्रशासन कार्यालयले आइतबार एक छानबिन समिति गठन गरी छानबिन गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले कारागारमा यसरी हुँदै आएको घोटाला र आर्थिक हिनामिनाबारे आफू भर्खर थाहा पाएको बताउनुभयो । यस विषयमा छानबिन गर्नका लागि आइतबार एक समिति गठन गरेर थप अनुसन्धान गरिने उहाँले बताउनुभयो ।
कारागार प्रशासनले विगत आठ वर्षदेखि प्रकाश मल्ललाई मूल चौकीदार राखेको छ । करणबहादुर कुँवर विगत चार वर्षदेखि नाइके छन्, रोशन शाही, मदन गिरी पनि विगत चार वर्षदेखि नाइके छन् । कुटपिटबाट घाइते भएर महाकाली प्रादेशिक अस्पतालमा उपचाररत नाइके करणबहादुर कुँवरले विगत आठ वर्षदेखि एउटै कैदीलाई मूल चौकीदार तथा नाइके राखिएको बताउनुभयो । चौकीदार र आउटडोर कैदीलाई प्रशासनका सुब्बा रामदत्त जोशी र लेखापाल रमेश भट्टको मिलेमतोमा बर्सौंदेखि त्यही व्यक्तिहरूलाई राखेर आर्थिक हिनामिना गर्ने र दोष सबै नाइके र सहनाइकेमाथि थुपार्ने काम गरेको भन्दै नाइके कुँवरले आपत्ति जनाउनुभयो ।
कारागार प्रशासनले यसरी ऐनविपरीत नाइके तोकेर आफू अनुकूल वातावरण सिर्जना गरी आफूहरूले पाउनुपर्ने सुविधा खोस्ने गरेको भन्दै कैदीबन्दीले शुक्रबार आन्दोलन गरेका थिए । कैदीबन्दीले कारागार प्रशासनले प्रतिकैदी चार हजार पोसाकबापत उपलब्ध गराउनुपर्नेमा दुई हजार पाँच सय रुपियाँ मात्रै प्रदान गरिएको भन्दै आपत्ति जनाएका थिए । यसै गरी रासनमा समेत कारागारका कर्मचारी, चौकीदार र नाइकेले घोटाला गर्ने गरेको आरोप कैदीबन्दीहरूको छ ।
साथै, कैदीबन्दीहरूले कारागार प्रशासन र चौकीदारको विरोध जनाउने कैदीहरूलाई झुठा प्रतिवेदन बनाएर अन्य जिल्लाका कारागारमा स्थानान्तरण गरिँदै आएको समेत गुनासो गरेका छन् । जसले गर्दा चौकीदार, नाइकेसँगको मिलेमतोमा कारागारका जेलरलगायतका कर्मचारीले कैदीहरूलाई प्रदान गर्दै आएको सुविधाबाट अनुचित रूपमा लाभ लिने गरेको गुनासो कैदीबन्दीले गरेका हुन् ।
कारागार ऐन, २०७९ को दफा २० अनुसार कारागार प्रशासकले बन्दीलाई मौसम अनुसारको पोसाकको व्यवस्था गर्नुपर्ने उल्लेख छ तर कञ्चनपुर कारागार प्रशासनले मौसम अनुसारको पोसाकको व्यवस्था गर्नुपर्नेमा ऐनविपरीत निर्णय गर्दै वर्षमा दुई पटक नगद चार हजार रुपियाँ नगद उपलब्ध गराउने निर्णय गरेको छ । सो रकमसमेत कैदी बन्दीलाई उपलब्ध नगराउने गरेको गुनासो कैदीबन्दीको छ । कैदीबन्दीहरूले यस पटक दुई हजार पाँच सय रुपियाँ मात्रै प्रदान गरेको भन्दै विरोध जनाउँदा शुक्रबार कारागारमै सामान्य कैदी र नाइकेबिच भनाभन भएको थियो ।
कैदीबन्दीहरूले यस पटक पनि पोसाकबापतको रकममा प्रशासनका कर्मचारी, चौकीदार र नाइेके मिलेर तीन लाख ८४ हजार रुपियाँ भ्रष्टाचार गरेको बताएका छन् । कारागारमा भएको झडपका क्रममा आठ जना नाइके र सहनाइके गम्भीर घाइते छन् । घाइते हुनेहरूमा किरण सिंह, मदन गिरी, सन्दिप भण्डारी, जनक खड्का, दिनेश कुँवर, राजेन्द्र सुनार, रोशन शाही र करण कुँवर छन् । उनीहरू नाइके र सहनाइके हुन् । उनीहरूको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
अदालत र प्रशासनको चरम लापर्बाही
कारागार व्यवस्था ऐन, २०७९ अनुसार जिल्ला अदालतका न्यायाधीशले जिल्लाभित्रको कारागारमा वर्षमा एक पटक निरीक्षण गर्नुपर्ने हुन्छ तर कञ्चनपुर अदालतका न्यायाधीशले चालु आवमा कारागारको निरीक्षणसमेत गर्नुभएको छैन । विगतका वर्षमा अदालतका न्यायाधीशले निरीक्षण गर्दै आउनुभएको थियो । विगतमा अनुगमन गर्दा कैदीको समस्यामा कुनै ध्यान नदिएको कैदीबन्दीहरूको आरोप छ ।
सोही ऐनअनुरूप प्रमुख जिल्ला अधिकारीले समेत तीन महिनामा कम्तीमा एक पटक कैदीबन्दीका लागि उपलब्ध हुने रासन समयमा प्राप्त हुने गरेको/नगरेको, प्रचलित कानुन अनुसार सेवा सुविधा प्राप्त हुने गरे/नगरेको, कैदीको औषधी उपचारको व्यवस्था भए/नभएको लगायत विषयमा निरीक्षण गर्नुपर्ने हुन्छ तर प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले पनि पछिल्लो तीन महिनायता कारागारको निरीक्षण नगरेको कारागार प्रशासनले जनाएको छ । कञ्चनपुर कारागारमा १६ नाइकेसहित ३८४ कैदीबन्दी रहेका छन् ।