• १७ असार २०८१, सोमबार

प्रेस युनियन गोरखापत्र शाखा अध्यक्षमा राधा चालिसे निर्वाचित

blog

अधिवेशनको उद्घाटन गर्नुहुँदै नेपाल प्रेस युनियनका राष्ट्रिय अध्यक्ष शिव लम्साल । तस्बिर : मनोजरत्न शाही

काठमाडौं, असार २४ गते । नेपाल प्रेस युनियन गोरखापत्र प्रतिष्ठान शाखाको अध्यक्षमा राधा चालिसे निर्वाचित हुनुभएको छ । 

नेपाल प्रेस युनियनका सचिव एवम् केन्द्रीय प्रतिनिधि केदार दाहालको रोहवरमा शाखाको आइतबार सम्पन्न साधारण सभाले चालिसेको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।


गोरखापत्र प्रतिष्ठान शाखाको अध्यक्षमा नवनिर्वाचित राधा चालिसेलाई बधाई दिनु हुँदै नेपाल प्रेस युनियनका राष्ट्रिय अध्यक्ष शिव लम्साल । तस्बिर : शेखर चौलागाई

शाखाको उपाध्यक्षमा बमबहादुर रायमाझी र महिला उपाध्यक्षमा सीता शर्मा, सचिवमा पल्लव भुसाल, कोषाध्यक्षमा सुकृत नेपाल र सहसचिवमा अजिता रिजाल निर्विरोध निर्वाचित हुनुभएको छ । 

यस्तै, सदस्यहरूमा ईश्वरचन्द्र झा, रमेशबहादुर थापा, मीनराज भण्डारी, दिनेश लुइँटेल, शङ्कर लामिछाने, मनिस तिमिल्सिना, प्रजित शाक्य, सनम महर्जन र सिर्जना खत्री निर्विरोध निर्वाचित हुनुभएको छ । 

यसअघि साधारण सभाको नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल, गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी, महाप्रबन्धक लालबहादुर ऐरीलगायतले उद्घाटन गर्नुभएको थियो । 

साधारण सभाको उद्घाटन गर्दै नेपाल प्रेस युनियनका अध्यक्ष लम्सालले प्रेस युनियन प्रजातन्त्र र लोकतन्त्रमा विश्वास गर्ने श्रमजीवी पत्रकारहरूको साझा संस्था भएको बताउनुभयो । उहाँले युनियन सञ्चार प्रतिष्ठानमा काम गर्ने श्रमजीवीप्रति जिम्मेवार रहेको धारणा राख्दै ट्रेड युनियन अधिकारका लागि सधैँ लागिरहने प्रतिबद्धता जनाउनुभयो । 

उहाँले भन्नुभयो, ‘‘लोकतन्त्रमा मात्र पत्रकारिता जीवित रहन्छ । गोरखापत्र संस्थानले श्रमजीवीको सुरक्षा र सुविधामा विशेष ध्यान दिँदै राजनीतिक दबाबबाट मुक्त रहन आवश्यक छ ।’’

यसैगरी, संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले नेपाली पत्रकारितामा प्रेस युनियनको भूमिका रचनात्मक र प्रशंसनीय रहेको बताउनुभयो । 

‘‘पछिल्लो समय गोरखापत्रको लेआउट र समाचार सामग्री सुधार भएको छ । पाठकबाट सकारात्मक प्रतिक्रिया पाएका छौँ । गोरखापत्रका तीन धर्म छन्–राज्य, नागरिक र बजारको धर्म । यी तीनवटै धर्मलाई अङ्गीकार गरेर गोरखापत्रलाई समयसापेक्ष सुधार गर्ने जमर्को गरिरहेका छौँ,’’ अध्यक्ष सुवेदीले भन्नुभयो । 

उहाँले संस्थानमा कार्यरत पत्रकार र कर्मचारीको वृत्ति विकासका लागि व्यवस्थापनले उचित निर्णय लिने प्रतिबद्धता पनि जनाउनुभयो । 

यस्तै, महाप्रबन्धक ऐरीले गोरखापत्र नेपाली पत्रकारिताको अभ्यास र पाठशाला भएको बताउनुभयो । 

‘‘प्रेस युनियन लोकतन्त्रमा विश्वास गर्ने पत्रकारहरूको संस्था हो । श्रमजीवीको पेसागत हकहितका लागि लड्दै आएको यस संस्थाप्रति सबैको भरोसा रहेको छ । गोरखापत्र अहिले पनि राज्य को हो कि ? सरकारको भन्ने द्विविधा छ, तर नागरिकको हो भन्नेतर्फ लैजानु पर्छ,’’ महाप्रबन्धक ऐरीले भन्नुभयो । 


नेपाल प्रेस युनियन गोरखापत्र प्रतिष्ठान शाखाको अध्यक्ष शरदराज सुवेदीको अध्यक्षतामा भएको साधारण सभाको उद्घाटन सत्रमा गोरखापत्र दैनिकका निमित्त प्रधान सम्पादक शिवकुमार भट्टराई, नेपाल प्रेस युनियनका उपाध्यक्ष नकुल अर्याल र जीवन भण्डारी, महासचिव दिलप पौडेल, युनियन प्रदेश उपत्यका प्रतिष्ठान शाखाका अध्यक्ष लीलाराज खनाल, नेपाल पत्रकार महासङ्घ गोरखापत्र प्रतिष्ठान शाखाका अध्यक्ष सरोज ढुङ्गेललगायत सहभागी हुनुहुन्थ्यो । 


दि राइजिङ नेपालका नायब कार्यकारी सम्पादक विष्णु गौतमलाई सम्मानित गरिँदै । 

कार्यक्रममा प्रेस युनियन गोरखापत्र प्रतिष्ठान शाखाले दि राइजिङ नेपालका नायब कार्यकारी सम्पादक विष्णु गौतमलाई सम्मान पत्रबाट सम्मानित गरेको छ । गौतमले लामो समय गोरखापत्र संस्थानमा पुराएको योगदानको कदर गर्दै सम्मान गरेको जानकारी युनियनले दिएको छ । गौतमलाई युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल, गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी र महाप्रबन्धक लालबहादुर ऐरीले सम्मान गर्नुभएको थियो ।