• १९ असार २०८१, बुधबार

नेपाल वायुसेवा निगम ६७औँ वर्ष प्रवेश

blog

नेपाल वायुसेवा निगम ६७औँ वर्ष प्रवेश गरेको अवसरमा आयोजना गरिएको पदयात्रामा सहभागीहरू । तस्बिर: छेटु शेर्पा 

काठमाडौँ, असार १७ गते । नेपाल वायुसेवा निगम ६७औँ वर्ष प्रवेश गरेको छ । नेपाल सरकार साझेदारी रहेको एक मात्र वायुसेवा कम्पनीले ६६ औँ वर्ष सफलतापूर्वक पार गरेको छ । 

हवाई यातायात क्षेत्रको विकास र विस्तारमा योगदान पुऱ्याएको बताउँदै सेवा विस्तार र जनताको मन जित्ने गरीको कार्यशैली अगाडी बढाउन निगमलाई प्रधानमन्त्री पुष्पकमल दाहालले शुभकामना दिनुभएको छ । 

नेपाली जनताले उच्च मूल्याङ्कन गर्नेको सेवा विस्तार गर्नुपर्ने भन्दै वार्षिकोत्सव अवसरमा निगम परिवार र सम्बद्ध सबैमा हार्दिक शुभकामना दिनुभएको हो । स्थापना दिवसको अवसरमा निगमले सोमबार बिहान पदयात्राको आयोजना गरिएको थियो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङ सहित उच्चपदस्थ अधिकारीहरूको पदयात्रामा सहभागिता थियो । 

आफ्नो गौरवशाली र उदाहरणीय इतिहास सहित पर्यटन प्रवर्द्धन तथा आर्थिक सामाजिक क्षेत्रमा योगदान पुऱ्याउँदै निगमले आफ्नो स्रोतसाधनको अधिकतम उपयोग गरी सेवा प्रदान गर्ने निगमले जनाएको छ । 

समयानुकूल प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्नु, परम्परागत कार्यशैलीको सट्टा समयसापेक्ष र नतिजामुखी कार्यशैली अवलम्बन गर्नु, कार्य सम्पादनमा पारदर्शिता कायम गर्नुजस्ता चुनौतीहरू देखिएका छन् ।

निगमसँग भएका जहाजले मात्र अन्तर्राष्ट्रिय र राष्ट्रिय गन्तव्य बिस्तार गर्न पर्याप्त नभएकोले जहाजको सङ्ख्या वृद्धि गर्दै सुरक्षित, सुलभ, सस्तो र भरपर्दो हवाई सेवा उपलब्ध गराउन जोड दिनु आवश्यक छ ।