• १९ असार २०८१, बुधबार

सिँचाइ पोखरी निर्माण

blog

सिन्धुली समाचारदाता

सिन्धुलीमाढी, असार १७ गते । सिन्धुली जिल्लामा जुनारको पकेट क्षेत्रमा यो वर्ष ४५ वटा सिँचाइ पोखरी निर्माण गरिएको छ । सुक्खा मौसममा जुनारका बिरुवामा सिँचाइ गर्ने उद्देश्यले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुनार सुपर जोन कार्यक्रमको ५० प्रतिशत अनुदानमा ती पोखरी निर्माण गरिएको हो । यी पोखरीसहित जुनारको पकेट क्षेत्रमा तीन वर्षभित्रमा १५७ वटा पोखरी निर्माण भएको परियोजनाले जनाएको छ ।

गोलान्जोर गाउँपालिका–५, विजयछाप निवासी विना हायूले गत चैत महिनामा आफ्नो ५० प्रतिशत लगानी र सुपर जोनको ५० प्रतिशत अनुदानमा छ मिटर लम्बाइ र तीन मिटर चौडाइको सिँचाइ पोखरी बनाउनुभयो । करिब पाँच रोपनी जमिनमा गरेको जुनार खेतीलाई सुक्खा मौसममा सिँचाइ गर्न उक्त पोखरी बनाएको उहाँले बताउनुभयो ।

पोखरी बनाउन दुई लाख ४६ हजार आठ सय रुपियाँ लागेको र त्यसमा आफ्नो लगानी एक लाख २३ हजार चार सय रुपियाँ परेको उहाँले सुनाउनुभयो । त्यसो त जुनार किसान हायूले झन्डै १० वर्षदेखि व्यावसायिक रूपमा जुनार खेती गर्दै आउनुभएको छ । 

त्यस्तै गोलन्जोर गाउँपालिका–४, तीनकन्या निवासी नीरबहादुर मगरले १६ घनमिटर पानी अट्ने सिँचाइ पोखरी भर्खरै बनाउनुभएको छ । उहाँले भन्नुभयो, “करिब चार रोपनी जमिनमा हुर्कंदै गरेका जुनारका बिरुवा जोगाउन प्राविधिक स्टिमेट अनुसार पोखरी बनाएको छु । सिँचाइको अभावमा लामो खडेरी हुँदा सुक्खा मौसममा जुनारका बिरुवा मर्ने भएकाले सिँचाइ पोखरी निर्माणसँगै धेरै सजिलो भएको छ ।”

सिँचाइ पोखरी निर्माणमा खटिनुभएका जुनार सुपर जोन कार्यक्रमका प्राविधिक दिलीप कार्कीका अनुसार यो वर्ष सुपर जोन कार्यव्रmम लागु भएको ठाउँमा ४५ वटा सिँचाइ पोखरी निर्माण भएको छ । 

जुनार सुपर जोनको ५० प्रतिशत अनुदानमा नै आव २०७८/७९ मा ६७ वटा, २०७९/८० मा ४५ वटा र चालु आवमा ४५ वटा पोखरी जुनार पकेट क्षेत्रमा निर्माण भइसकेका छन् ।

प्राविधिक कार्कीले भन्नुभयो, “हामीले दिने अनुदानमा किसानले कम्तीमा त्यति नै रकम थप्नुपर्ने र अझ बढी लगानी गरी झन् ठुलो पोखरी पनि बनाएका छन् ।” यो आवमा निर्माण गरेका सिँचाइ पोखरीमध्ये सुनकोशी गाउँपालिकाको वडा नं. ७ मझुवामा दुई वटा, गोलन्जोर गाउँपालिकाको वडा नं. १ मा दुई वटा, २ मा छ वटा, ३ मा चार वटा, ४ मा १९ वटा, ५ मा १० वटा र ६ मा दुई वटा रहेको जुनार सुपर जोन परियोजनाले जनाएको छ ।

जिल्लाको कमलामाई नगरपालिका–३, गोलन्जोर गाउ“पालिका–१, २, ३, ४, ५, ६, तीनपाटन गाउ“पालिका–७ र सुनकोशी गाउ“पालिका–७ परियोजनाको कार्य क्षेत्र हो । परियोजनाको कार्य क्षेत्रमा जुनार खेतीले दस हजार पाँच सय हेक्टर ढाकेको छ । जिल्लामा जुनार खेती हुँदै आएको कुल क्षेत्रफल करिब १३ हजार हेक्टर रहेको छ । गएको याममा जिल्लामा जुनार उत्पादन नौ हजार पाँच सय मेट्रिक टन उत्पादन भएको परियोजनाले जनाएको छ ।