• १८ असार २०८१, मङ्गलबार

नेकपा (एस) महाधिवेशन : नेतृत्वमा नेपाल र भुसालको दाबी

blog

काठमाडौं,  असार १६ गते । नेकपा (एकीकृत समाजवादी) को राष्ट्रिय महाधिवेशनको सरगर्मी बढेसँगै नेतृत्व चयनमा सहमति प्रयासका लागि नेताहरूको दौडधुप सुरुभएको छ ।

एमालेबाट विभाजनपछि एकीकृत समाजवादीको पहिलो पटक हुन गइरहेको राष्ट्रिय महाधिवेशनबाट पुरानै अनुहार दोहोरिन्छन् या नयाँ नेतृत्व चयन हुन्छन् भन्ने विषय यतिबेला चासोको विषय बनेको छ । 

नेकपा एसका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार असार १६ देखि २० गतेसम्म काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा आयोजना हुने महाधिवेशनमा एक हजार आठसय ५० जना प्रतिनिधि सहभागी छन् । आज महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष माधवकुमार नेपालले गर्नुभयो । 

उहाँले वर्तमान अध्यक्ष माधवकुमार नेपालको नेतृत्व सर्वसम्मति हुने सम्भावना रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “माधव नेपालको नेतृत्वमा सर्वसम्मत हुने कुरा सबैले सोचेका छन् । उहाँले छोड्नुभयो भने अरूको नाममा सर्वसम्मत गर्ने कुरा हुन्छ । तर, उहाँले पनि छाड्ने कुरा मैले देखेको छैन । उहाँले नछाडी सर्वसम्मत अर्काको नाममा हुने भएन ।” तर पनि, उम्मेदवारी मनोनयनको अन्तिम समयसम्म सबै कुरा टुङ्गो नहुने उहाँको भनाइ छ । 

उहाँले नेतृत्व चयनका लागि शीर्ष नेताहरूबिच सहमतिको प्रयास जारी रहेको बताउनुभयो । खतिवडाले भन्नुभयो, “बजारमा सुन्नुभएको चर्चामा सत्यता हुन पनि सक्छ । अन्तिममा नोमिनेसन गर्ने दिनसम्म नपुगीकन सबै कुरा टुङ्गो हुँदैन । पार्टी नेतृत्वमा रहनुभएका नेताहरूले सहमतिको प्रयास गरिरहनुभएको छ । त्यसले किनारा पाइसकेको छैन । त्यसकारण, आजसम्म संशय, अलिअलि अन्यौलता यस्तै–यस्तै भइरहेको छ ।”

नयाँ नेतृत्व चयनको माग 

एस निकट अनेरास्ववियू केन्द्रीय कमिटीका अध्यक्ष आरती लामाले जनताले नयाँ नेतृत्व खोजेको बताउनुभयो । उहाँले एमाले पार्टीभित्र विद्रोहपछि हुन गइरहेको राष्ट्रिय महाधिवेशन भएका कारण युवा वर्गमा उत्साह, ऊर्जा मिलेको भनाइ राख्नुभयो ।

उहाँले भन्नुभयो, “पार्टी विद्रोहपछिको महाधिवेशन भएको कारणले हामीमा एउटा उत्साह, ऊर्जा छ, अझ युवा साथीहरूमा यो उत्साह छ किनभने जुन उद्देश्यका साथ विद्रोह भएको थियो त्यो विद्रोहको औचित्यलाई अझ संस्थागत गर्न, पुष्टि गर्नका निम्ति पनि यो महाधिवेशन निकै महत्त्वपूर्ण छ ।”

महाधिवेशनबाट युवा नेतृत्व आउने सम्भावना कति छ भन्ने जिज्ञासामा उहाँले ४० वर्ष मुनिका २० प्रतिशत युवा सहभागिताको कुरा विधानमा व्यवस्था भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिलेको देश, समाज र जनताले के खोजिरहेको छन् भन्दा पनि पार्टीभित्र, सदन पालिका सबै ठाउँमा जनप्रतिनिधिको रूपमा युवा नेतृत्व खोजिरहेको अवस्था छ, यो कुरालाई पार्टीले समाउनुपर्छ । हामीले ४० वर्ष मुनिका युवा सहभागीताका लागि अभियान चलाएका थियौँ । त्यसकारण, केन्द्रीय कमिटीमा २० प्रतिशत युवाको सहभागिता हुन्छ भन्ने कुराको सुनिश्चितता छ ।”

उहाँले राष्ट्रिय पार्टी निर्माण एवम् यसको नेतृत्वका लागि महाधिवेशनबाट नयाँ नेतृत्व आउनेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “नेतृत्व परिवर्तन हुनेमा हामी विश्वस्त छौँ । किनभने यो बिचमा हामीले राष्ट्रिय पार्टी बनाउन सकेनौँ । जनताले त्यो आशा, भरोसाको केन्द्रको रूपमा हामीलाई हेरेन । अब चाहिँ नयाँ नेतृत्व, नयाँ पुस्तान्तरण र नयाँ राजनीतिक नेतृत्वमा हामी गयौँ भन्ने मलाई लाग्छ ।”

यस्तै, नेकपा एस निकट समाजवादी प्रेस सङ्गठन नेपालका अध्यक्ष विश्वमणि सुवेदीले माधव नेपालको नेतृत्वमा पार्टी विद्रोह भएकोले महाधिवेशनले उहाँकै नेतृत्वलाई अनुमोदन गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यो विद्रोहको नेतृत्व गरेकाले माधव नेपालको विकल्प छैन । फेरि पनि उहाँ नै पार्टी अध्यक्षको रूपमा अनुमोदित हुने र एमालेबाट गरेको विद्रोहलाई अनुमोदन गर्ने काम गर्छ ।”

उहाँले नेतृत्वमा आकाङ्क्षीहरू हुनु स्वाभाविक रहेको तर अन्तिममा वर्तमान नेतृत्वलाई नै सर्वसम्मत अध्यक्ष मानेर जानेमा सबै एकमत देखिएको धारणा राख्नुभयो । 

उहाँले भन्नुभयो, “केन्द्रीय कमिटीमा ४० वर्ष मुनिका २० प्रतिशत युवा नेताहरू सुनिश्चित गरिएको छ । पार्टीको मूल नेतृत्व वृद्ध भए पनि युवाहरूको उपस्थिति सुनिश्चित छ । सबैभन्दा ठुलो कुरा त पुस्तान्तरण हुँदैछ भन्ने नै हो । माधव नेपालले बनाउनुभएको पार्टी अगाडि बढ्छ ।”

आइतबारदेखि सुरुभएको नेकपा (एस) को महाधिवेशनले नयाँ नेतृत्वसहित कार्य समिति नयाँ चयन गर्नेछ । अध्यक्षका लागि नेता नेपाल, हालका महासचिव घनश्याम भुसालको आकाङ्क्षा छ । सर्वसम्मत नेतृत्व चयन भएमा नेपालको नाममा हुने, निर्वाचन भए दुई जनाबिच प्रतिस्पर्धा हुने पार्टीका नेताहरूको बुझाइ छ । नेता नेपालको नेतृत्वमा भएको गत निर्वाचनमा पार्टी राष्ट्रिय दल पनि बन्न नसकेको गुनासो युवामाझ रहेकाले नयाँ नेतृत्वको आवश्यकता भएको कतिपय पार्टी नेता तथा कार्यकर्ताको माग रहेको बताइन्छ । 

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।