• १८ असार २०८१, मङ्गलबार

समस्याग्रस्त सहकारीका कागजात माग्ने छानबिन विशेष समितिको निर्णय

blog

काठमाडौँ, असार १६ गते। सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले समस्याग्रस्त २० वटा सहकारीका कागजात माग्ने निर्णय गरेको छ।  आइतबार बसेको समितिको ७ औँ बैठकले समस्याग्रस्त व्यवस्थापन समिति अन्तर्गत रहेका २० वटा सहकारीका आवश्यक कागजात माग्न पत्राचार गर्ने निर्णय गरेको हो। 

समस्याग्रस्त सहकारीका कागजात सहकारी व्यवस्थापन समितिका तर्फबाट प्राप्त भएपनि अन्य धेरै विवरण, जानकारी र तथ्य आवश्यक पर्ने भएकाले सो निर्णय गरिएको सभापति सूर्यबहादुर थापाले जानकारी दिनुभयो। 

बैठकमा २०४७ सालमा सहकारी अध्ययन गर्न गठित कार्यदलका संयोजक राधाकृष्ण मैनाली, ०६१/०६२ मा सहकारी अध्ययनका लागि गठित कार्यदलका संयोजक डा. युवराज खतिवडा र २०७० सालमा समस्याग्रस्त सहकारीको सम्बन्धमा जाँचबुझ गर्न गठित आयोगका संयोजक गौरीबहादुर कार्कीसँग सल्लाह सुझाव मागिएको पनि उहाँले बताउनुभयो।

उहाँले भन्नुभयो, ‘‘आजको बैठकले खासगरी समस्याग्रस्त भनेर समस्याग्रस्त व्यवस्थापन समिति अन्तर्गत रहेका २० वटा सहकारीका कागजात, तिनका आवश्यक सबै कागजात माग्नका लागि पत्राचार गर्ने निर्णय भएको छ। ९ वटा विवादित रहेको भनिएका सहकारीको कागजात माग्ने निर्णय योभन्दा अगाडिको छैटौँ बैठकबाट गरेका छौँ। समस्याग्रस्त सहकारीका सन्दर्भमा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका तर्फबाट प्राप्त भएको छ। तर अरू धेरै विवरण, जानकारी, तथ्यहरू आवश्यक पर्ने देखिएपछि हामीले आजको बैठकबाट यो निर्णय गरेका हौँ।’’

समितिले सहकारीसँग सम्बन्धित ८ वटा अध्ययन, छानबिन, जाँचबुझ आयोगसहितका विषयमा प्रतिनिधिमूलक ढङ्गले कुरा सुन्ने काम गरेको जानकारी दिनुभयो।