• १९ असार २०८१, बुधबार

बढ्दै छन् लागुपदार्थ दुर्व्यसनी

blog

घोराही समाचारदाता

घोराही, असार १७ गते ।  दाङमा लागुपदार्थ दुर्व्यसनको दलदलमा फसेका झन्डै तीन सय जनाको उपचार भइरहेको छ । जिल्लाका १३ वटा पुनस्र्थापना केन्द्रमा २९५ उपचाररत छन् । चालु आर्थिक वर्षको असार महिनासम्म ५६६ जना उपचार गरेर घर फर्किएका छन् । 

जिल्ला प्रहरी कार्यालय दाङको तथ्याङ्कले बर्सेनि जिल्लामा लागुऔषध अपराधका मुद्दा बढ्दो क्रममा रहेको देखाएको छ । २०७६/०७७ मा ३४ वटा लागुऔषध अपराधमा मुद्दा दर्ता भएकोमा २०७७/७८ मा त्यो सङ्ख्या बढेर ३९ पुग्यो । २०७८/७९ मा झन् बढेर ५९ पुग्यो भने २०७९/८० मा पनि ५९ वटा लागुऔषध अपराधका मुद्दा दर्ता भए । चालु आवमा हालसम्म ४५ वटा मुद्दा दर्ता भएका छन् । 

गत आवमा लागुऔषध अपराधमा १६ जना महिलासहित ११९ जना अभियुक्त पक्राउ परेका थिए भने यस वर्ष ८८ जनाविरुद्ध अभियोग दर्ता भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिनुभएको छ । लागुऔषध अपराधमा मुद्दा दर्ता बढ्दो क्रममा देखिएका छन् । पैसाको लोभसँगै अरूको देखासिकी, अभिभावकको लापरबाही, साथीको सङ्गतका कारण धेरै युवायुवती लागुऔषधको कारोबार तथा सेवनमा लाग्ने गरेको देखिएको छ । 

लागुऔषध दुर्व्यसन रोक्नका लागि हरेक अभिभावकले आफ्ना छोराछोरीको दैनिक क्रियाकलापप्रति चासो बढाउनुका साथै सचेतनामूलक कक्षा विद्यालय तहदेखि नै दिन आवश्यक रहेको उहाँले बताउनुभयो । प्रहरी नायब उपरीक्षक मल्लले भन्नुभयो, “लागुऔषध मुद्दामा पक्राउ परेकाको बयानका आधारमा अरूको देखासिकीसँगै साथीभाइको लहलहैमा दुर्व्यसनीको कारोबार तथा सेवनमा फस्ने गरेको देखिएको छ ।”

जिल्लामा बर्सेनि थपिएका पुनस्र्थापना केन्द्रसँगै ती केन्द्रमा उपचाररतको सङ्ख्याले पनि लागुऔषध दुर्व्यसनीमा फस्नेको सङ्ख्या बढिरहेको देखाउने गरेको छ । उहाँका अनुसार जिल्लामा कारोबारीसँगै सेवनकर्ता बढ्दै गएका छन् । प्रहरी नायब उपरीक्षक मल्लका अनुसार जिल्लामा यस वर्ष प्रहरीले लागुऔषध कारोबारमा ८८ जनाविरुद्ध मुद्दा चलाएको छ । प्रहरीको रेकर्ड अनुसार जिल्लामा मादक पदार्थ सेवन गर्नेभन्दा लागुऔषध र गाँजा सेवन गर्नेको सङ्ख्या बढी छ ।  जिल्लामा रहेका १३ वटा लागुऔषध पुनस्र्थापना केन्द्रमध्ये १२ मा पुरुष र एकमा महिला राखेर सञ्चालन हुँदै आएका छन् ।