• १८ असार २०८१, मङ्गलबार

फुट्कीको व्यापार बढ्यो

blog

फुट्की बिक्री गर्नुहुँदै राप्तीसोनारी गाउँपालिका २ मदुवाकी स्थानीय मालती कुरेसी । तस्बिरः गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, असार १६ गते । बाँकेको जङ्गलतिर अहिले फुट्की च्याउ खोज्न जाने स्थानीयहरुको भीड लाग्नेगरेको छ । पानी परेपछि फुट्की खोज्न जङ्गलतिर जाने स्थानीयको भीड लाग्ने गरेको छ ।

बाँकेको राप्तीसोनारी गाउँपालिका अन्तर्गतका विभिन्न वडाभित्र पर्ने राष्ट्रिय वन र सामुदायिक वनमा आजभोलि विहानै स्थानीयहरु फुट्की खोज्न जङ्गलतिर जाने गरेका छन् ।

राप्तीसोनारी गाउँपालिका –२ मदुवाकी स्थानीय मालती कुरेसीले आइतबार बिहानै जङ्गल गएर फुट्की खोजेर ल्याएको बताउनुभयो । “हिजो राति पानी परेपछि बिहानै म लगायत गाउँका स्थानीयहरु फुट्की खोज्न जङ्गलतिर गयौं, यो वर्षको पहिलो पटक आज आधा किलो भेटाएँ ।” उहाँले भन्नुभयो, “जङ्गलबाट घर ल्याउनेवित्तिकै फुट्की खोज्ने व्यापारी गाउँमै आइपुगे र बिक्री गर्दैछु ।”

“व्यापारीले छसय रुपियाँ किलोमा माग्दै थियो, हामीले दिएनौं, आठसय रुपियाँ किलोको दरले बिक्री गर्दैछौं ।” उहाँले भन्नुभयो, “फुट्की भेटिने समयमा बिहान तीन चार घण्टा जङ्गल गएर फुट्की खोज्दा कहिले थोरै कहिले धेरै भेटिन्छ, यो वर्षको पहिलो बोहोनी भयो ।”

उहाँका अनुसार दिउँसोको समयमा जङ्गलमा फुट्की देखिदैन । पानी परेको भोलिपल्ट बिहानैको समयमा मात्र फुट्की माटो बाहिर देखिने गर्दछ । उहाँका अनुसार फुट्की जति भेटिए पनि बिक्री गर्न समस्या छैन, बिहानै घुमन्ते व्यापारीहरु घरघरमै पुग्ने गर्दछन् ।

उहाँसँगै फुट्की खोज्न जङ्गल जानुभएका हरिराम चौधरीले आज पहिलो दिन डेढ किलो फुट्की फेला पारेको बताउनुभयो । “हिजो राती पानी प¥यो, गाउँका अन्य साथीहरुसँग म पनि बिहान जङ्गल गएँ, यो वर्ष पहिलो पटक जङ्गल गएको डेढ किलो फुट्की पाएँ र आठसय रुपियाँकै दरले व्यापारीलाई बिक्री गर्दैछु ।”

अर्की स्थानीय राधा थारुले पनि आज पहिलो दिन आधा किलो फुट्की फेला पारेको बताउनुभयो । उहाँले पनि गाउँमा फुट्की खोज्दै आएका व्यापारीलाई आठसय रुपियाँकै दरमा उक्त फुट्की बिक्री गरेको बताउनुभयो । “आज पहिलो दिन खोजेर ल्याएको आधा किलो फुट्की बेचेँ, जङ्गल नजिकै छ, सधैभरी बिहान खोज्न जान्छौं, व्यापारी आयो भने बेच्छौं, नभए घरमै खाने गरेका छौं ।”

फुट्की असार महिनामा पानी परेपछि जङ्गलमा भेटिन्छ, यो असार महिनाभरी मात्र भेटिने स्थानीय बताउँछन् । खानामा पनि स्वाद हुने र पौष्टिक मात्रा पनि प्रशस्त हुने हुँदा यसका पारखीले व्यापारीले भनेको मोल तिरेरै खरिद गर्ने गरेका छन् ।