• १८ असार २०८१, मङ्गलबार

यथास्थितिमा देश अगाडि जान सक्दैन : अध्यक्ष ओली

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली।

काठमाडौँ, असार १६ गते। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले यथास्थितिमा देश अगाडि जानसक्ने अवस्थामा नरहेको बताउनुभएको छ। 

आइतबार काठमाडौँ आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले यथास्थितिमा देश अघि बढ्छ भनेर कसैले पनि जिद्दी गर्न नहुने बताउनुभयो। 

उहाँले अहिलेको आवश्यकता उद्यमशीलता र व्यावसायिकता भएको उल्लेख गर्नुभयो। उहाँले उद्यमशीलता र व्यावसायिकताले कृषिको आधुनिकीकरण गर्ने र कृषिको आधुनिकीकरणले रोजगारीका अवसर सिर्जना गर्ने बताउनुभयो। 

उहाँले भन्नुभयो, ‘‘यथास्थितिमा देश अगाडि जानसक्ने अवस्थामा छैन। कसैले जिद्दी गर्नुहुँदैन। अहिलेको आवश्यकता उद्यमशीलता र व्यावसायिकता हो। उद्यमशीलता र व्यावसायिकताले कृषिको आधुनिकीकरण गर्दछ। कृषिको आधुनिकीकरणले रोजगारीका थुप्रै अवसर सिर्जना गर्दछन्, कृषि आधारित ससाना उद्योग र त्यो बिस्तारै गएर ठुला उद्योगमा परिणत हुनसक्छ। कृषि आधारित उद्योगले निर्यातमूलक उद्योगको रूप लिनसक्छ।’’ 

उहाँले गरिबीबाट माथि उठ्न मसिनो चामल नभई आफ्नै देशमा मोटो चामलको भएपनि उत्पादन बढाउनुपर्ने बताउनुभयो। अध्यक्ष ओलीले पहाडमा उत्पादन हुने उत्पादनले जीविका चल्न छोडेपछि गाउँ अहिले उजाड बनेको बताउनुभयो। 

उहाँले नेपालको अहिलेको सबैभन्दा ठुलो चुनौती निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसङ्ख्यालाई खान लगाउन पाउने अवस्थामा पुर्‍याउनु रहेको बताउनुभयो। गरिबीसँगै बेरोजगारी बढ्दै जाने उहाँको भनाइ छ। 

‘‘हामीले अहिले चिन्ता गर्नुपर्ने कुरा भनेको, मसिनो खाने बानी पर्‍यो, मसिनो खाने बानी परेकालाई खान दिऊँ। तर मसिनो होइन हामीलाई मोटा चामल भएपनि खान पुग्नुपरेको छ। गरिबीबाट माथि उठ्न परेको छ। मसिनो चामल मोटो चामल जति फल्दैन। त्यसलाई त्यत्तिकै फल्नेमा पुर्‍याउनुपर्छ। हामीले यसलाई आधुनिकीकरणतर्फ लैजानुपर्छ, टेक्नोलोजीको प्रयोगतर्फ लैजानुपर्छ भनिरहेका छौँ, तर सरकारी तवरबाट यस सम्बन्धमा नीति निर्माण हुन सकेको छैन। ठोस नीति निर्माण हुनुपर्छ’’, अध्यक्ष ओलीले भन्नुभयो। 

अध्यक्ष ओलीले आफूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सानातिना नियुक्तिमा नअल्झिन परिस्थितिलाई विचार गरेर अघि बढ्न आग्रह गरेको बताउनुभयो।