• १८ असार २०८१, मङ्गलबार

प्रधानमन्त्री प्रचण्ड, अध्यक्ष ओली र गृहमन्त्री लामिछानेबिच भेटवार्ता

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने। फाइल तस्बिर

काठमाडौँ, असार १६ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबिच सिंहदरबारमा भेटवार्ता भएको छ। 

आइतबार सत्तारुढ दुई दलका नेताबिच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भेटवार्ता भएको हो।

भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको छ। शनिबार नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा पुगेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भेट्नुभएको विषयमा सामान्य कुराकानी भएको बताइएको छ। 

शनिबार सभापति देउवा र ओलीबिच बालकोटमा भेटवार्ता भएको थियो। भेटपछि विभिन्न आशङ्का व्यक्त गरिए पनि एमाले अध्यक्ष ओली अस्वस्थ भएका कारण देउवा भेटघाटका लागि जानुभएको बताइएको छ। 

प्रधानमन्त्री प्रचण्डसँग भेट गरेपछि अध्यक्ष ओलीले भेटवार्ता भइरहने बताउनुभयो। प्रधानमन्त्री र अध्यक्ष ओलीको भेटका क्रममा जोडिनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भेटवार्तालाई नियमित भन्नुभएको छ।