• १३ मंसिर २०८१, बिहिबार

नवलपरासी पूर्वमा नौ प्रतिशत धान रोपाइँ

blog

फोटो क्यापसन साथमा पूर्वी नवलपरासीमा धान रोप्दै किसान । तस्बिरः होमराज रानाभाट

कावासोती (नवलपरासी) असार १५ गते । आज राष्ट्रिय धान दिवस । किसान धान रोप्नमा व्यस्त हुन थालेका छन् । कृषिमा आश्रित किसान यतिबेला  खेतमा रमाइरहँदा गत वर्ष आजका दिनसम्म २५ प्रतिशत रोपाइँ भएकोमा यो वर्ष भने नौ प्रतिशत खेतमा धान रोपाइँ सकिएको छ । 

गत वर्ष यो समयमा २५ प्रतिशत रोपाइँ भएकोमा असार १५ धान दिवस मनाइरहँदासम्म नौ प्रतिशत रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख गोपाल लामिछानेले बताउनुभयो। 

पूर्वी नवलपरासीमा कुल २२ हजार आठ सय १६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन्छ । आजसम्म दुई हजार हेक्टर क्षेत्रफलमा धान रोप्नेकाम सकिएको छ । यो महिनाको अन्तिमसम्म ८० प्रतिशत धान रोपाइँ हुने अनुमान गरिएको प्रमुख लामिछानेले बताउनुभयो । 

विशेष गरेर पहाडी क्षेत्रमासमेत मूल फुट्न थालेको भित्री मधेशमा पानी प्रशस्त परिरहेको र असार मसान्तसम्म ८० प्रतिशत धान रोपाइँ भइसक्ने र साउनको १५ सम्म ९९ प्रतिशतसम्म धान रोपाइँ सकिने लक्ष्य रहेको प्रमुख लामिछानेले बताउनुभयो । 

धान दिवसको अवसर पारेर असार १५ गते विशेष रूपमा धान दिवस मनाइएको छ । पानी पर्न थालेपछि अहिले धान रोपाइँले तीव्रता पाउन थालेपछि मधेशबाट समेत पुरुष ल्याएर धान रोपाइँ  गर्न किसानलाई भ्याईनभ्याई भएको देबचुली नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष होमनाथ पौडेलले जानकारी दिनुभयो ।