देवराम यादव
सप्तरी पुस १० गते । तराई –मधेशका सप्तरीसहितका जिल्लामा विगत केही दिन यता बढेको चिसो हावासँगै शीतलहरको कारण यहाँको जनजीवन प्रभावीत बनेको छ । चिसो हावाका कारण सर्वसाधारणको दैनिकी कष्टकर बन्दै गएपछि डिभिजन वन कार्यालय सप्तरीले निःशुल्क दाउरा वितरण कार्यक्रम सञ्चालन गरेको कार्यालय प्रमुख सुभाषचन्द्र दासले बताउनुभयो । उहाँले जाडोबाट बच्न तथा आगो ताप्ने प्रयोजनका लागि राजविराज नगरपालिका क्षेत्रभित्र रहेका विभिन्न सार्वजनिक स्थानमा दाउरा वितरण गरिएको जानकारी दिनुभयो ।
पहिलो चरणअन्तर्गत राजविराज नगरपालिका भित्रका गजेन्द्र नारायण सिह अस्पताल, सगरमाथा चौधरी आँखा अस्पताल, रूपनी मोड, गजेन्द्र चोक, दर्शन चोकलगायत भीडभाड हुने स्थानहरूमा दाउरा वितरण गरिएको डिभिजन वन कार्यालयले जनाएको छ । विशेष गरी अस्पताल परिसर र बजार क्षेत्रमा बिहान–साँझ आगो ताप्न आउने सर्वसाधारण, बिरामीका आफन्त, ज्येष्ठ नागरिक तथा विपन्न वर्गलाई लक्षित गरी दाउरा उपलब्ध गराइएको डिभिजन वन कार्यालयले जनाएको छ ।
डिभिजन वन कार्यालय सप्तरीका वन अधिकृत पंकज मिश्रका अनुसार शीतलहरको असर कायमै रहेसम्म आवश्यकता अनुसार थप स्थानमा पनि दाउरा वितरण गरिने जानकारी दिनुभयो । उहाँले जाडोका कारण जनस्वास्थ्यमा असर नपरोस् भन्ने उद्देश्यले निःशुल्क दाउरा वितरण गरिएको बताउनुभयो ।