लोकतन्त्र, स्वतन्त्रता र मानव अधिकारका नाममा राजनीतिको प्रभाव विस्तार गर्ने पश्चिमा मुलुकको प्रयासमा ‘ब्रेक’ लागेको छ । चार वर्षदेखि जारी रुस–युक्रेन युद्धमा युक्रेनलाई जिताएर रुसलाई कमजोर बनाउने रणनीति र कूटनीति सफल भएन । दोस्रो आर्थिक शक्ति बनेको चीन व्यापार युद्धमा दह्रो रूपमा प्रस्तुत भयो । पछाडि हटेन । अमेरिका सम्झौता गर्न बाध्य भयो । भारतलाई पनि आफ्नो पक्षधर बनाउन सकेन । भारत, चीन र रुसबिच निकटता बढ्यो । चीनको तियान्जिनमा साङ्घाई सहयोग सङ्गठनको दुईदिने शिखर सम्मेलन सम्पन्न भयो । अगस्त ३१ मा सुरु भई सेप्टेम्बर १ मा सम्पन्न शिखर सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, चीनका राष्ट्रपति सी चिनफिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिन एउटै मञ्चमा सहभागी हुनुभयो । उहाँहरूले विश्व व्यवस्थामा नयाँ समीकरण निर्माण भएको घोषणा गर्नुभयो । यो घोषणा एसियामा पश्चिमा प्रभाव घटेको सङ्केत हो । चीन सिधै अमेरिकालाई टक्कर दिने तहमा पुग्यो । आर्थिक हिसाबले भारत पनि थप शक्तिशाली बन्यो । मे २५ मा जापानलाई उछिन्दै भारत विश्वको चौथो अर्थतन्त्र भएको मुलुकमा उक्लियो ।
अमेरिकाले १८५ मुलुकमा १० प्रतिशत भन्सार कर थप गरेसँगै विश्व बजारमा नयाँ हलचल पैदा भयो । अमेरिकाले चीनलाई २४५ प्रतिशत भन्सार कर लगाएपछि चीनद्वारा अमेरिकी वस्तुमा १२५ प्रतिशत कर लगायो । अक्टोबर ३० मा अमेरिकाका राष्ट्रपति ट्रम्प र चीनका राष्ट्रपति सीबिच दक्षिण कोरियाको बुसान सहरमा वार्ता भयो । व्यापार युद्ध मत्थर गर्ने सहमतिसँगै तनाव कम भयो । अमेरिका र चीन एकअर्काविरुद्ध लगाएको भन्सार कर १२५ प्रतिशतले घटाउने सहमति भयो ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले फेब्रुअरीमा अमेरिकाको भ्रमण गर्नुभयो । उहाँले अमेरिकासँग थप तेल र ग्यास किन्न सहमति गर्नुभयो तर अमेरिका पक्षधर बन्न अस्वीकार गर्नुभयो । डिसेम्बर ४ र ५ मा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले भारत भ्रमण गर्नुभयो । अमेरिकी दबाबलाई बेवास्ता गर्दै भारतलाई तेल बिक्री जारी राख्ने पुटिनले आश्वासन दिनुभयो । भारत र रुसबिचको पुरानो सम्बन्ध झन् प्रगाढ बन्यो ।
नोभेम्बर ४ मा न्युयोर्कको मेयरमा डेमोक्रेटिक पार्टी समर्थक वामपन्थी नेता जोहरान ममदानी निर्वाचित भएसँगै अमेरिकाको राजनीतिमा नयाँ हलचल पैदा भयो । ३४ वर्षीय उहाँ पहिलो मुस्लिम र दक्षिण एसिया मूलबाट निर्वाचित हुने पहिलो मेयर बन्नुभयो । दलहरूबिचको खटपटले नोभेम्बर १३ मा अमेरिकाको इतिहासकै लामो ४३ दिनको सरकारी बन्द अन्त्य भयो । यो बन्दले सार्वजनिक सेवा तथा यातायात क्षेत्र प्रभावित बन्यो ।
अमेरिका–भेनेजुयला तनाव
अमेरिका र भेनेजुयलाबिच तनाव उत्कर्षमा पुगेको छ । अमेरिकाका राष्ट्रपति ट्रम्प जसरी पनि भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोलाई सत्ताच्युत गराउने तयारीमा लाग्नुभएको छ । ल्याटिन अमेरिका नजिकै जलक्षेत्रमा विमानवाहक युद्धपोत युएसएस जेराल्ड आर फोर्ड तैनाथ गरेसँगै अमेरिका र भेनेजुएलाबिचको बढ्दो तनावले एउटा नयाँ मोड लिएको छ । अमेरिकाले सन् १९८९ मा पानमामा आक्रमण गरेयताको त्यस क्षेत्रमा अमेरिकाको सबैभन्दा ठुलो सैन्य परिचालन गरेको छ । अमेरिकाले भेनेजुयलाका विशाल तेल ट्याङ्कर कब्जा गर्नुका साथै तेल बोक्ने छ वटा पानीजहाजमाथि प्रतिबन्ध लगाएको छ । भेनेजुयलाका राष्ट्रपति मदुरोको तेस्रो कार्यकाल जनबरी १० बाट सुरु भयो । अमेरिकाले उहाँलाई पक्राउ गर्नेलाई दुई करोड ५० लाख पुरस्कार दिने घोषणा गरेको छ । मदुरोको कट्टर विरोधी विपक्षी नेतृ मारिआ कोरिना मचाडोयस वर्षको नोबेल शान्ति पुरस्कार दिएर मदुरोको सत्ताविरुद्ध जनमत बढाउने प्रयास गरियो ।
जलवायु मुद्दा ओझेलमा
अमेरिकाका निर्वाचित राष्ट्रपति ट्रम्पले जनवरी २० मा दोस्रो पटक पदभार ग्रहण गर्नुभयो । उहाँले विश्व स्वास्थ्य सङ्गठन र जलवायुसम्बन्धी पेरिस सम्झौताबाट अमेरिका अलग भएको घोषणा गर्नुभयो । नोभेम्बर ६ देखि २२ सम्म ब्राजिलमा भएको संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप ३०) मा जीवाश्म इन्धन घटाउनेबारे गहन छलफल भए पनि अमेरिकाको अनुपस्थितिले कुनै सहमति भएन । जलवायु परिवर्तनको असर सर्वत्र पर्न थालेको छ । जुलाई ५ मा अमेरिकाको टेक्सासमा विनाशकारी बाढी, एक सयभन्दा बढीको मृत्यु भयो । जुलाई १७ मा दक्षिण कोरियामा १२० वर्षयताकै ठुलो वर्षाले जनजीवन प्रभावित भयो । नोभेम्बरको अन्तिम सातामा दक्षिणपूर्वी एसियाली मुलुक श्रीलङ्का, थाइल्यान्ड र इन्डोनेसिया भीषण वर्षा, बाढीपहिरोमा परी १५ सयभन्दा बढीको मृत्यु भयो । एक करोड १० लाख मानिस प्रभावित भए । अगस्त ५ मा भारतको उत्तराखण्डमा भीषण बाढीपहिरो जाँदाचार जनाको मृत्यु भयो भने एक सयभन्दा बढी बेपत्ता भए । अगस्त १४ मा भारतको जम्मु–कश्मीरमा मुसलधारे वर्षासँगै आएको बाढीपहिरोमा परी १२ जनाको मृत्यु भयो भने दुई सयभन्दा बढी बेपत्ता भए ।
दसौँ पटक मुख्यमन्त्री
भारतको विहार राज्यमा नोभेम्बर ६ र ११ मा भएको २४३ सदस्यीय विधान सभाको निर्वाचनमा सत्तारूढ गठबन्धन एनडिएले २०२ सिट जित्न सफल भयो । विपक्षी कंग्रेस आइसहितको महागठबन्धन ३५ सिटमा सीमित भयो । विहारका मुख्यमन्त्री नितिस कुमार १० औँ पटक मुख्यमन्त्री बनेर इतिहास रच्नुभयो । दिल्ली विधान सभाको चुनावमा भाजपालाई बहुमत प्राप्त भयो । आम आदमी पार्टी पराजित भयो । विधान सभाको ७० सिटमध्ये भाजपा ४८ र आप २२ सिटमा विजयी भए । भाजपा नेतृ रेखा गुप्ता दिल्लीको मुख्यमन्त्री बन्नुभयो ।
हत्याको विरोधमा युद्ध
भारतको कश्मीरस्थित पहलगाममा आतङ्कवादी आक्रमणमा एक नेपालीसहित २६ जना पर्यटकको हत्या भयो । त्यसको विरोधमा मे ७ देखि १० सम्म भारतद्वारा पाकिस्तानमाथि अपरेसन सिन्दुर सैन्य कारबाही सुरु गरेपछि दुई देशबिच चारदिने युद्ध भयो । अमेरिकाका राष्ट्रपति ट्रम्पको मध्यस्थतामा युद्धविराम भयो । नोभेम्बर १० मा भारतको राजधानी नयाँ दिल्लीस्थित लाल किल्लामा आतङ्कवादी समूहले कार बम विस्फोट गराउँदा १३ जनाको मृत्यु भयो । नोभेम्बर ११ मा पाकिस्तानको राजधानी इस्लामावादस्थित अदालत परिसरमा आत्मघाती बम विस्फोटमा १२ जनाको मृत्यु हुनुका साथै २७ जना घाइते भए । यी घटनालाई दिएर भारत र पाकिस्तानले एकअर्कालाई आरोप प्रत्यारोप गरे ।
जुन १३ मा इजरायलद्वारा इरानमाथि आक्रमण गरी सेना प्रमुखसहित २० जना सैन्य अधिकारी र आठ जना आणविक वैज्ञानिकको हत्या गरेपछि इरानद्वारा जवाफी आक्रमण सुरु ग¥यो । जुन २२ मा अमेरिकाद्वारा इरानका तीन वटा परमाणु केन्द्रमा शक्तिशाली बङ्कर बम प्रहार गरी क्षति पु¥यायो । जुन २४ अमेरिकाको आग्रहमा इजरायल र इरानबिच युद्धविरामसँगै १२ दिने युद्ध अन्त्य भयो ।
जुलाई २८ मा मलेसियामा भएको शान्तिवार्तापछि थाइल्यान्ड र कम्बोडियाबिच युद्धविराम भयो । जुलाई २४ मा सुरु भएको पाँच दिनको युद्धमा दुवैतर्फ गरी ३५ जनाको मृत्यु, दुई सयभन्दा बढी घाइते, दुई लाख मानिस विस्थापित भए । अक्टोबर २७ मा अमेरिकाका राष्ट्रपति ट्रम्पको उपस्थितिमा थाइल्यान्ड र कम्बोडियाबिच युद्धविराम सम्झौतामा हस्ताक्षर भयो । डिसेम्बरको पहिलो साता पुनः थाइल्यान्ड र कम्बोडियाबिच युद्धविराम भङ्ग भएसँगै युद्ध जारी छ ।
अक्टोबर ९ मा अमेरिकाका राष्ट्रपति ट्रम्पको पहलमा इजरायल र हमासबिच युद्धविराम भयो । दुई वर्षदेखि चलेको युद्ध रोकियो । यो युद्धमा १२ सय इजरायली र ७० हजार प्यालेस्टिनीको मृत्यु भयो । युद्धका कारण प्यालेस्टाइनको गाजा क्षेत्र पूर्ण रूपले तहसनहस भयो । फ्रान्स, बेलायत क्यानडा, अस्ट्रेलिया र पोर्चुगलद्वारा प्यालेस्टाइनलाई नयाँ राष्ट्रको मान्यता दिए ।
विमान दुर्घटनामा क्षति
जुन १२ मा भारतको अहमदावादबाट लन्डनका लागि उडेको एयर इन्डियाको जेट विमान दुर्घटना हुँदा विमानमा रहेको २४२ मध्ये २४१ जना र जमिनका गरी २७५ जनाको मृत्यु भयो । अमेरिकामा जेट विमान र हेलिकोप्टर ठोक्किएर भएको दुर्घटनामा ६७ जनाको मृत्यु भयो । बङ्गलादेशमा सैनिकको लडाकु विमान दुर्घटना हुँदा २७ जनाको मृत्यु भयो भने १७० जना घाइते भए । कलेजमा खसेको सो विमानका कारण मर्ने र घाइते हुनेहरूमा अधिकांश परीक्षा दिने विद्यार्थी थिए । रुसमा यात्रुवाहक विमान दुर्घटना हुँदा ४९ जनाको मृत्यु भयो । कङ्गोमा पानीजहाजमा आगलागी हुँदा १५० जनाको मृत्यु भयो । यमनमा डुङ्गा दुर्घटनामा ६८ जना आप्रवासीको मृत्यु भयो भने कैयौँ बेपत्ता भए । भारतको प्रयागराजमा महाकुम्भ मेला लाग्यो । ४५ दिनसम्म चलेको मेलामा ६५ करोड भक्तजन सहभागी भए । मेलामा भागदौड हुँदा ३० जनाको ज्यान गयो । पाकिस्तानको बलुचिस्तानमा रेल बन्धक प्रकरणमा ५८ जनाको मृत्यु भयो । तीन सयभन्दा बढीको उद्धार गरियो ।
हसिनालाई मृत्युदण्डको फैसला
नोभेम्बर १७ मा बङ्गलादेशको अन्तर्राष्ट्रिय फौजदारी अदालतद्वारा पूर्वप्रधानमन्त्री सेख हसिना वाजेदलाई मानवताविरोधी अपराध गरेको ठहर गर्दै मृत्युदण्ड दिने फैसला गरेको छ । सन् २०२२ को राष्ट्रपति निर्वाचनमा ‘कु’ गर्न खोजेको आरोपमा २७ वर्ष जेल सजाय पाएका ब्राजिलका पूर्वराष्ट्रपति जायर बोल्सोनारोलाई पक्राउ गरी जेल चलान गरियो । पेरुका पूर्वराष्ट्रपति मार्टिन भिन्कारालाई भ्रष्टाचारको मुद्दामा १४ वर्ष जेल सजाय गरियो । दक्षिण कोरियामा महाभियोग लगाइएका राष्ट्रपति युन सुक यउल पक्राउ गरियो । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई भ्रष्टाचारको आरोपमा १४ र १७ वर्ष जेल सजाय भयो । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलमाथिको महाभियोग संवैधानिक अदालतले सदर गरेपछि पदमुक्त हुनुभयो । अगस्ट २२ मा राज्य कोषको दुरुपयोग गरेको आरोपमा श्रीलङ्काका पूर्वराष्ट्रपति रनिल विक्रमासिङ्घे पक्राउ गरियो । आचरणको सीमा नाघेको भन्दै अगस्त २८ मा थाइल्यान्डको संवैधानिक अदालतद्वारा प्रधानमत्री पेटोन्टार्न बर्खास्त गर्ने फैसला गरेसँगै उहाँ पदमुक्त हुनुभयो । थअनुतिन चार्नविराकुललाई नयाँ प्रधानमन्त्री बनाइयो । सेप्टेम्बर २ मा थाइल्यान्डमा संसद् विघटन गरियो । फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीलाई लिबियाबाट चुनावमा रकम लिएको भन्दै पाँच वर्ष जेल सजाय गरियो । अक्टोबर २९ मा तान्जानियाको राष्ट्रपतिमा समिया सुलुहु हसन पुनःनिर्वाचित हुनुभयो । निर्वाचनमा धाँधली भएको भन्दै हिंसात्मक प्रदर्शन हुँदा पाँच सय जनाको मृत्यु भयो ।
जुलाई १७ मा इराकको सपिङ मलमा आगलागी हुँदा ६१ जनाको मृत्यु भयो भने ११ जना बेपत्ता भए । हङकङका ३१ तले आठ वटा आवासीय भवनमा भीषण आगलागी हुँदा १५८ जनाको मृत्यु भयो भने दुई सयभन्दा बढी बेपत्ता भए । जुलाई १९ मा चीनद्वारा बह्मापुत्र (यार्लुङ स्याङ्ग्पो) नदीमा विश्वकै ठुलो ७० हजार मेगावाटको जलविद्युत् परियोजना निर्माण सुरु भयो । यो परियोजनामा १६७ अर्ब डलर लाग्ने अनुमान गरिएको छ । अमेरिका र जापानबिच ५५० अर्ब डलरको व्यापार सम्झौता भयो । सम्झौता अनुसार जापानले अमेरिकामा लगानी गर्ने भएको छ । अमेरिकाका राष्ट्रपति ट्रम्प मे १४ मा साउदी अरेबिया आउनुभयो । साउदी अरबलाई १४२ अर्ब डलरको हतियार बेच्ने सम्झौता भयो ।
भूकम्पबाट मृत्यु
म्यान्मारमा ७.७ रेक्टर स्केलको भूकम्प गयो । यस घटनामा २७ सयभन्दा बढीको मृत्यु भयो । चीनको तिब्बतमा ७ रेक्टरको भूकम्प जाँदा १२६ जनाको मृत्यु भयो । जुलाई ३० मा रुसमा ८.८ म्याग्निच्युडको महाभूकम्पले प्रशान्त महासागरमा सुनामी आयो । २० लाख मानिसलाई सुरक्षित ठाउँमा सारियो । अगस्त ३१ मा अफगानिस्तानमा ६ म्याग्निच्युडका भूकम्प जाँदा १४ सय जनाको मृत्यु भयो । तीन हजारभन्दा बढी घाइते भए ।
यस वर्ष विश्वभर ६७ जना पत्रकार मारिए । मारिनेमध्ये २९ जना गाजा क्षेत्रमा मारिएका प्यालेस्टिनी पत्रकार हुन् । डिसेम्बर १६ मा अमेरिकाका राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलर क्षतिपूर्ति माग गरी फ्लोरिडास्थित सङ्घीय अदालतमा मानहानि मुद्दा दायर गर्नुभयो । बिबिसीले सन् २०२१ मा बनाएको पानारोमा वृत्तचित्रमा ट्रम्पको भनाइ तोडमोड गरिएको आरोप लगाइएको छ । वृत्तचित्र बनाउँदा कमजोरी भएको स्वीकार गरी बिबिसीको उच्च नेतृत्वले राजीनामा दिएको थियो । इसाई धर्मगुरु पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा भ्याटिकन सिटीमा निधन भयो । अमेरिकाका रोबर्ट प्रेमोस्ट नयाँ पोप नियुक्त हुनुभयो । उहाँलाई लिओ चौधौँ भनिन्छ ।