• ११ मंसिर २०८१, मङ्गलबार

आईएमएफ र पाकिस्तानबीच ३ अर्ब डलरको स्ट्यान्डबाइ सम्झौता

blog

इस्लामाबाद, असार १५ गते । पाकिस्तानले बिहीबार वाशिङ्गटनमा आईएमएफले तीन अर्ब डलरको नयाँ स्ट्यान्ड–बाइ सम्झौताको व्यवस्था गरेसँगै केही राहत अनुभव गरेको छ । चुलिँदो वैदेशिक ऋणले आक्रान्त बन्दै गएको देशमा यसले अस्थायी राहत अनुभव गर्ने छ ।

अर्थतन्त्र भुक्तान सन्तुलनको सङ्कटबाट प्रभावित भएको पाकिस्तानमा महिनौँ देखिको राजनीतिक अराजकताले सम्भावित विदेशी लगानी भित्रिने वातावरण पनि बिथोलिन सक्ने प्रक्षेपण गरिएको छ । हाल मुद्रास्फीति ह्वात्तै बढेको छ । मुद्रा अवमूल्यनको जोखिम बढ्दो छ । 

आईएमएफका अधिकारी नाथन पोर्टरले भन्नुभएको छ, ‘म यो घोषणा गर्न पाउँदा खुसी छु, अन्तर्राष्ट्रिय मुद्रा कोषका टोलीले पाकिस्तानी अधिकारीहरूसँग एसडीआर २, २५० मिलियन (लगभग $ ३ बिलियन) को रकममा नौ महिनाको स्ट्यान्डबाइ व्यवस्थामा कर्मचारी स्तरको सम्झौतामा पुगेका छन् ।’

यो सङ्ख्याले पाकिस्तानको अन्तर्राष्ट्रिय मुद्रा कोष कोटाको १११ प्रतिशत प्रतिनिधित्व गर्दछ । यो सम्झौता जुलाईको मध्यमा आईएमएफको कार्यकारी बोर्डले अनुमोदन गर्नुपर्ने पनि पोर्टरले उल्लेख गरेका छन् ।

सन् २०१९ मा सहमत भएको $ ६.५  अर्ब बेलआउट प्याकेजको अन्तिम किस्ताको लागि कोषसँग पाकिस्तानको वार्ता नोभेम्बरदेखि रोकिएको छ । सरकारले सम्झौताका आवश्यकताहरू पूरा गर्न प्रयास गर्ने उद्देश्यले राष्ट्रिय बजेटमा अन्तिम मिनेटमा परिवर्तन गरेको छ । रासस/एएफपी