• ९ मंसिर २०८१, आइतबार

खवास जातिको संस्कार, संस्कृति र परम्परा

blog

नेपालका विभिन्न जिल्लामा छिरलिएर बसेको एक जाति खवास जाति हो । मझ्यौला कदका, गहुँगोरो वर्णका, आफ्नो समुदायमा एकै ठाउँमा आबद्ध भएर बस्ने गरेको यस जातिको आफ्नै पहिचान छ । तैपनि यो जाति हरेक दृष्टिले ओझेलमा परेको छ । यो जाति न आदिवासी जनजाति हो, न त खसआर्य तागाधारी हो । न त दलित हो । यस जातिको राष्ट्रिय दृष्टिकोणले पहिचान भएको छैन । सायद नेपाल राज्यभरि नै यस जातिको पहिचान छैन । सरल प्रकृतिका सोझा शान्त खालका, मानिसहरू यस जातिभित्र पाइन्छन् । यस जातिको अलग्गै मातृभाषा छैन । भाषिक कारोबार नेपाली भाषाबाट नै चल्छ । 

वासस्थानः

यो जाति नेपालका विभिन्न ठाउँमा छिरलिएर बसेको पाइन्छ । लमजुङको हकमा भन्ने हो भने जिता, बाङ्ग्रे, उदिपुर, बेँसीसहर, चिती तथा सोतीपसलमा यस जातिको बसोबास भेटिन्छ । लमजुङबाहेक तनहुँ, कास्की, गोरखा, स्याङ्जा, धादिङ जस्ता धेरै जिल्लामा यस जातिको बसोबास भेटिन्छ । विभिन्न ठाउँको बस्ती भए पनि आफ्नो समुदाय प्रायः एकै ठाउँमा नजिकै नजिकै बसोबास गर्ने गरेको पाइएको छ ।   

बालचन्द्र शर्माद्वारा लिखित ‘नेपालको इतिहास’ नामक पुस्तकमा चौबिसे राज्यकालको समयमा कास्की राज्यमा खाण ठकुरी र खाण खवास भन्ने दुई मूलका खाणको उल्लेख भएको पाइन्छ । तीमध्ये खाण ठकुरी चाहिँ शाहवंशीय ठकुरी राजखलकका रूपमा देखापरे । तिनैका वंशका पृथ्वीनारायण शाहले विशाल नेपाल खडा गरे । खाण खवास चाहिँ रैतीदुनियाँका रूपमा रहे । सोही पुस्तकमा जङ्गबहादुर राणाले कोतपर्व घटाएको समयमा गगनसिंह खवास दरबारिया भारदारका रूपमा रहेको पाइन्छ । त्यति बेला तत्कालीन राजा सुरेन्द्र विव्रmम शाह कच्चा उमेरका थिए । उनकी आमाको प्रिय पात्रका रूपमा गगनसिंह खवास थिए । यी दुई मिले भने आफू बाहिरिनुपर्ने स्थिति आउन सक्ने सम्भावना देखेर जङ्गबहादुरले कोतमा उनको हत्या गराइदिए । यसरी नेपालको इतिहासमा खवास जातिको प्रसङ्ग भेटिन्छ ।

जन्म संस्कारः

बच्चा जन्मने अवस्थामा गाउँका आमाहरू त्यस घरमा जुट्छन् । प्रसूति महिलालाई सहयोग पु¥याउँछन् । त्यसरी जुट्ने र सहयोग पु¥याउने महिला बच्चाबच्चीको आमा भइसकेको हुनुपर्छ । बच्चा जन्मेपछि तिनले सालनाल बढाउँछन् । अनि सालको व्यवस्थापन गर्छन् । आजकाल अस्पतालमा बच्चा जन्माउने चलन आएको छ ।

छैटीः

बच्चा जन्मेको छैटौँ दिनको साँझमा गाउँघरका आमाबाबु तथा युवायुवतीहरू त्यस घरमा जुट्छन् । रातभर नाचगान बजान गर्छन् । रोटी, चिया, रक्सी खान्छन् । रातभर जाग्राम बस्छन् । नवजात शिशुले जन्मदाको साइतमा जस्तो भाग्य ल्याएको छ त्यसैलाई महìव दिने कुरा आउँछ । कहीँकतैबाट भावी आएर छुट्टै केही लेख्न नपाओस् भन्ने यसको आशय हो । 

न्वारानः

शिशु जन्मेको ११ दिनमा बल्ल उसलाई घरबाहिर निकालिन्छ । पहिले नुवाइधुवाइ गराइन्छ । अनि न्वारानको काम सुरु गरिन्छ । ब्राह्मण जातिका गुरुपुरोहितद्वारा होम आहुती गराइन्छ । अनि वैदिकविधि अनुसार नामकरण गरिन्छ । त्यसपछि घरभित्र तथा सुत्केरीलाई गहुँत छर्किने काम गरिन्छ । यति गरेपछि घर पनि सुत्केरी आमा पनि शुद्ध भएको मानिन्छ । त्यस दिन छरछिमेकीहरूलाई पनि बोलाइएको हुन्छ । खसी या कुखुरा काटेर मासु र भात खान्छन् । पहिले १५ दिनमा पानी छुने चलन थियो । आजकाल न्वारान गरेपछि पानी छुने चलन छ । 

पास्नी (भात खुवाइ)ः

छोराको ६ वा ८ र छोरीको ५ वा ७ महिनामा भात खुवाइ गरिन्छ । त्यति बेला छरछिमेकी तथा इष्टमित्रहरूलाई निम्ता गरिन्छ । शिशुलाई टीका लगाएर नयाँ कपडा फेराइन्छ । सुन घोटेको चाँदीको सिक्काको सहायताले सुरुमा पालैपालो तीन वटी कन्याका हातबाट भात खुवाउँछन् । अनि आमाबाबु लगायत अरू सबैले भात खुवाउँछन् । 

क्षौरकर्मः

छोरो ६, ८, १० (जोर) वर्षको हुँदा क्षौरकर्म गरिन्छ । यस कर्ममा कुमारको मामालाई बोलाइन्छ । कुमारलाई गाईको गोठमा लगिन्छ । दीप, कलश र गणेशको पूजा गरिन्छ । कुमारलाई गाईको दाम्लाले घाँटीमा बाँधिन्छ । अनि मामालाई कपाल काट्न लगाइन्छ । मामाले नयाँ कपडा ल्याइदिएका हुन्छन् । उनले भान्जालाई ती कपडा लगाइदिन्छन् । त्यसपछि भान्जालाई टीका लगाएर दक्षिणा दिन्छन् । यति गरेपछि छोराको कर्म चलेको मानिन्छ । 

नाक कान छेड्नेः

छोरी छ महिना कटेपछि उपयुक्त समय मिलाएर उनको नाक कान छेडिन्छ । अनि गहना लगाइदिने गरिन्छ । आजकाल कान मात्र छेड्ने चलन आएको छ । कान छेडेर मुन्द्रा लगाइदिने गरिन्छ । छोरी ७, ८ वर्षकी भएपछि रजस्वला नहुँदै गुन्युचोलो गुन्युचोलो दिने चलन छ । त्यति भएपछि छोरीको कर्म चलेको मानिन्छ । 

विवाहः

विवाह कर्म गर्ने समयमा सबैभन्दा पहिले फरक गोत्रवाला इष्टमित्रकहाँ आफन्तमध्येका दुई जनालाई पठाइन्छ । त्यसरी विवाहको कुरा लिएर जाने व्यक्तिलाई लमी भनिन्छ । लमीले इष्टमित्रसँग विवाहको कुरा गर्ने व्रिmयाकलापलाई कलियो हाल्ने भनिन्छ । कुरा मिल्ने सम्भावना भएपछि अर्को दिनमा दुलहाका बाबुछोरा र उनै लमी दुई जनासमेत (आवश्यक परेमा अरू पनि) साथै कन्याका घरमा जान्छन् । त्यतिखेर एउटा दहीको ठेकी र रु. १ को चाँदीको सिक्का साथैमा लगेका हुन्छन् । कन्याका बाबु, दाजुलगायतका जिम्मेवार व्यक्ति त्यहाँ जुट्छन् । दुलहाका बाबुले दुलहीका बाबुलाई दहीको ठेकी र सिक्का दिन्छन् । दुलहीका बाबुले सोही सिक्काले ठेकीको बिर्को खोल्छन् । अलिकति दही एउटा भाँडामा खन्याउँछन् । त्यसमा रातो रङ र अक्षता मलिन्छ । अनि कन्याका बाबुले  मेरी ... नाम गरेकी छोरी तपाईं ...गोत्रको ... को छोरा ... लाई दिएँ । उचित दिन र लग्न ठहराएर लिन आउनुहोला भन्दै यो वाक्दन्त बोल्छन । वर पक्षलाई राता अक्षताको टीका लगाइदिन्छन् र आफूहरू पनि लगाउँछन् । उपयुक्त लग्न भएको दिन ठह¥याएर विवाह गर्ने सल्लाह हुन्छ । विवाहमा जगिया लगाइन्छ । जगियाभित्र वेदी बनाइन्छ । चँदुवा टाँगिन्छ । ब्राह्मणलाई गुरुपुरोहित बनाएर वैदिक विधि अनुसार विवाह गरिन्छ ।   

 मृत्युः

मान्छेको मृत्यु हुने अवस्थामा उसलाई घरको पिँढीमा राखिन्छ । त्यहीँ उसको प्राण जान्छ । अनि लास लैजाने समय नभइन्जेल त्यसलाई त्यहीँ नै राखिन्छ । लास बाँधछाँद गर्ने बेलामा मात्र आँगनमा लगिन्छ । लास गङ्गाजीमा लगेर अन्त्यष्टि गरिन्छ । पोलेर खाक गराउने चलन छ । छोराहरूको घाटमा नै कपाल काटिन्छ । उताबाट घर फर्केपछि उनीहरू एकान्तवासमा बस्छन् । चोखो खाएर बस्छन् । अरू कसैसँग छुवाछूत हुँदैन । 

हिन्दू सनातन धर्म अनुसार व्रिmया गर्दछन् । १३ औँ दिनमा ब्राह्मणद्वारा होम आहुती गराई गहुँत खाएर शुद्ध हुन्छन् । यसमा तिलकुश दिने र व्रिmया गराउने काम ब्राह्मणले गर्दछन् । साथै यस अवस्थामा ब्राह्मणलाई गरुडपुराण भन्न लगाएर कर्ता परिवारले सुन्ने चलन पनि छ । 

धर्म

खवास जातिले हिन्दु धर्म मान्छन् । यस जातिका मानिसले हिन्दु सनातन धर्म अनुसार गाई तथा गङ्गाको पूजा गर्छन् । संस्कार तथा संस्कृतिजन्य कुरा सबै हिन्दु सनातन धर्मभित्र पर्छन् ।     

ऋषितर्पणीमा धागो बाँध्ने, कृष्ण अष्टमीका दिन छोरा मान्छे व्रत बस्ने, तीजका दिन छोरी मान्छे व्रत बस्ने गर्छन् । खवास महिलाहरूले ऋषिपञ्चमीका दिन दत्तिवन पनि लगाउँदैनन् र सप्तर्षिको पूजा पनि गर्दैनन् । यस जातिले दसैँ राम्रोसँग मान्छ । बडादसैँको अष्टमीको अपराह्नदेखि दुर्गापूजा सुरु हुन्छ । पूजा रातिसम्म हुन्छ । त्यस पूजालाई कालरात्रि जगाउने भन्छन् । पूजा सकेपछि बासेको कुखुराको भाले काटेर भोग दिन्छन् । रातिमा नै प्रसाद खान्छन् । नवमीका दिन बिहान सबै परिवारका घरका आँगनमा अलिकति ठाउँ रातोमाटो र गाइको गोबरले लिपपोत गरेर शुद्ध बनाउँछन् । त्यस शुद्ध ठाउँमा चामलको पिठाको एउटा षट्कोण बनाउँछन् । त्यसलाई देवीको प्रतीक मान्छन् । नजिकै अर्को ठाउँमा बडादसैँमा ठाडा सात वटा र तेर्सा नौ वटा धर्सा तान्छन् । चैतेदसैँमा चाहिँ ठाडा नौ वटा र तेर्सा सात वटा धर्सा तान्छन् । यसको आशय बडादसैँ सूर्य दक्षिणायनको समय भएको हँुदा सात वटा ठाडा धर्सा तानिएको हो भने चैतेदसैँ सूर्य उत्तरायण भएको समय हुनाले नौ वटा ठाडा धर्सा तानिएको हो । सूर्यको सात रङको प्रतीक सात वटा धर्सा हुन् भने नवरात्रका नौ दिनको प्रतीक नौ वटा धर्सा तानिएको हो । गुरुपुरोहितले त्यस्ता धर्सा तानिदिन्छन् । धर्सा अनुसारका रोटी पनि नैवेद्यका रूपमा त्यहीँ राखिन्छन् । यसरी सूर्य र नवरात्रका बिचमा समन्वय गराइएको पाइन्छ । विजया दशमीका दिन मान्यजनका हातबाट टीका र जमरा लगाई आशीर्वाद ग्रहण गर्छन् । यस जातिले तिहार पनि राम्रोसँग मान्दछ । महाशिवरात्रि, फागुपूर्णिमा, चैतेदसैँ पनि राम्रोसँग मनाउँछ । 

खवास जातिले विभिन्न किसिमका पूजाआजा गर्ने गरेको पाइएको छ । तिनको छोटो विवरण तल दिइएको छ । सात सय जितालीले प्रत्येक वर्ष कात्तिक र चैतमा पूजा गर्ने जिताकोटमा अवस्थित गुठभँयरका पुजारी गुरुङ र खवास छन् । नेपालको चौबिसे राज्यकालमा लमजुङेराजा यशोब्रह्म शाहका पालामा स्थापित आठ वटा कोटमध्ये एउटा जिताकोट हो । दुवै दसैँमा प्रत्येक वर्ष कोटघरमा दुर्गा भगवतीको पूजा गरिन्छ । कोटघरको पूजा र गुठभयँरको पूजाका बिच समन्वय हुन्छ । भयँरको गुठीबाट आउने आम्दानी नगद या जिन्सीमध्येबाट पूजा चलाउने काम हुन्छ । अपुग रकम मध्यनेपाल नगरपालिका–१ को कार्यालयले सहयोग गरिदिन्छ । चौबिसे राज्यकालमा जिताकोटका भयँरको पूजा गर्नका लागि डाँडागाउँ, गैरीगाउँ र खलागाउँ यति तीन गाउँका  जिम्मेवार व्यक्तिलाई पुजारी नियुक्त गरिएको थियो । त्यो परम्परा अहिलेसम्म पनि कायमै छ । डाँडागाउँ र गैरीगाउँका पुजारी पहिलेका गुरुङका सन्तान गुरुङ नै छन् भने खलागाउँका पुजारी पहिलेका खवासका सन्तान खवास नै छन् । त्यसो हुँदा सामूहिक पूजामा पनि संलग्न हुन्छन् भने पुजारी पनि उनैमध्येबाट हुन्छन् । यसरी हेर्दा सरकारी तवरबाट पनि खवास जातिलाई महìवपूर्ण कामको जिम्मा दिइआएको पाइन्छ । यो चाहिँ जिताभित्रको कुरा हो भने यस अध्ययनको केन्द्रबिन्दु पनि जिता नै हो ।

विवाहको लग्न पारेर कुलपूजा गर्ने चलन छ । आफ्ना गोलटोलका वन्धुबान्धव मिलेर सामूहिक रूपमा कुलपूजा गर्दछन् । जेठोहाँगोबाट प्रतिनिधित्व हुने गरी २, ३ जना कर्ता बस्छन् । सबै घरबाट पूजा सामग्री ल्याइसकेपछि तिनै कर्ताले पूजा गर्छन् । यसमा गुरुपुरोहितको आवश्यकता पर्दैन । पूजा गरिसकेपछि भेडाको साँढ काटेर भोग दिन्छन् । प्रत्येक तीन वर्षमा कुलपूजा गरिन्छ । यीबाहेक स्थानीय देवदेवी तथा पानीको उपभोग गर्ने पँधेरामा जलदेवी तथा नागको पूजा पनि गरिन्छ । 

प्रत्येक वर्ष वैशाख पूर्णिमाका दिन सबै पविारले आआफ्ना गोठमा गौडीपूजा गर्छन् । पूजा गरिसकेपछि बासेको कुखुराको भाले काटेर भोग दिन्छन् । गोठमा वस्तुभाउ फैलाऊन् र रोगव्याधको भय नहोस् भनी गोष्ठदेवताको पूजा गर्ने गरेको पाइन्छ । साउने सङ्व्रmान्तिको दिन विभिन्न वनस्पति जम्मा गरेर साँझमा कन्डारक पूजा गरी अगुल्टा बर्साउने परम्परा छ । यसबाट मानिसमा रोगव्याध नआओस् भन्ने मूल आशय देखिन्छ । भोलिपल्ट  राँको बार्ने चलन छ । त्यस दिन हलखेतालाको काम हुँदैन नाचगान गरेर रमाइलो गर्छन् । यतिन्जेल थन्क्याइराखेको मादल बजाउन पनि फुकुवा भएको हुन्छ । त्यस दिन ठाडोभाका र झ्याउरे गीत गाउँछन् । वाद्यवादन मुख्य रूपमा मादल नै प्रयोग गर्छन् । पुस १५ मा छोरीबेटीलाई बोलाएर मासु तथा लट्टे खाने परम्परा छ । त्यसलाई पुसे १५ को खाजा खाने भनिन्छ । 

महिला जाति रजस्वला हुँदा तीन दिन र सुत्केरी हुँदा दस दिनसम्म अरूसँग  छुवाछूत नगर्ने परम्परा छ । साथै उक्त अवसरमा पूजाआजाको काम पनि गर्दैनन् । 

रोदी बस्ने परम्परा पनि यस जातिको पहिचानको विषय हो । आजकाल पठनपाठनका कारण त्यो परम्परा मलिन हुँदै गएको छ । 

यस जातिभित्र तन्त्रमन्त्र, धामीझाँक्री, झारफुक जस्ता तन्त्रशास्त्रमा विश्वास राख्ने परम्परा पनि देखिन्छ । यस जातिले आआफ्ना आँगनका छेउमा तुलसी रोपेको पाइँदैन । तुलसी रोपेको खण्डमा घरआँगनबाट अलिकति पर रोप्छन् । तुलसी कमै रोप्ने गरेको पाइन्छ । आवश्यकता अनुसार तुलसीपत्रको प्रयोग भने गर्छन् । तुलसीलाई मर्यादाका दृष्टिले हेर्छन् ।

हरेलो गर्ने भनेकोे खेतमा कुनै किसिमको बिघ्नबाधा नपरोस् भनी किसानले भूमे देवताको पूजा गर्ने परम्परा हो । तीज आउनुभन्दा अघिल्लो मङ्गलबारका दिन हरेलो गरिन्छ । यसमा धान, मकै, कोदो, मास, भट्ट, गहुँ र बोडीसमेत सात किसिमका अन्न जम्मा गर्ने, ढिकीको सानो रुन्को र जाँताको सानो कण झिकेर त्यसैमा मिसाइन्छ । अनि मकैका खोसेलामा सात वटा पोका पारिन्छ । तिनलाई एउटा धागामा जेलेर माला जस्तो बनाइन्छ । हाँडी या त्यस्तै माटाको भाँडामा धानको भुस राखेर त्यसैमा आगो सल्काइन्छ । त्यसलाई खेतमा लगिन्छ । अनि एउटा सिमालीको हाँगो खेतको आलीमा उभ्याइन्छ । त्यसको तल्लो भागमा हाँडी राखिन्छ । माथि तिनै सातपोके लहरो झुन्ड्याइन्छ । त्यसपछि कृषिका अधिष्ठाता देवदेवीको पूजा गरिन्छ । अनि धूपधुवाँर गरिन्छ । यसो गर्नाले खेतका सिमेभुमे खुसी हुन्छन् र मुसाले धान काटेर खाँदैन, विनाश गर्दैन भन्ने विश्वास लिइन्छ । हरेलोको काम सकेपछि खाना खाएर खोलामा माछा मार्न जाने परम्परा छ । त्यस दिन माछा मार्नका लागि जसका खेतको कुलो भाँचे पनि खतबात लाग्दैन भन्ने परम्परा छ । त्यस दिन  हलखेतालाको काम गरिँदैन ।  लमजुङ दरबारमा अवस्थित लमजुङ कालिका पूजा गर्दा बडादसैँ र चैतेदसैँमा खवास महिलाहरूले दरबारको पटाङ्गिनीमा उभिएर मालश्री गाउने परम्परा छ । यसको सन्दर्भ चौबिसे राज्यकालमा यशोब्रह्म शाहले लमजुङ दरबारको पूजा व्यवस्थापन मिलाउँदा राजगुरु कुश्माखर घिमिरे र भारदारिया खजे दुरासमेतको सरसल्लाह अनुसार स्थानीय महिलाहरूको स्वर परीक्षण गर्दा खवास महिलाको सबैभन्दा राम्रो स्वर भएको हुँदा लमजुङ कालिकाका २२ सुसारेमध्ये एक सुसारे मालश्री गायिकाका रूपमा खवास महिला दुई जना नियुक्त भएका हुन् । तिनका सन्तानले अहिलेसम्म पनि पुस्तौँ पुस्ताका रूपमा अविरल रूपमा उक्त अवसरमा मालश्री गाउने परम्परा रहिआएको छ ।          

खवास समुदायमा बेग्लाबेग्लै थर हुँदैनन् । खवास जातले मात्र परिचित हुन्छन् । त्यसो हँुदा विवाह गर्दा थर खोजिँदैन । फरक गोत्र भएको इष्टमित्रसँग लेनदेन व्यवहार गरिन्छ । आत्रेय, कश्यप, काश्यप, वैशम्पायन जस्ता धेरै गोत्र यस जातिभित्र भेटिन्छन् । अरू जातिको जस्तो थर नभई एक मात्र जाति र विभिन्न गोत्र हुनु यस जातिको एउटा विशेषता हो ।  

यस समुदायका मानिस पुस मसान्तका दिन जङ्गलमा तरुल खोज्न जाने परम्परा छ । तरुल खनेर साँझमा घर आउँछन् । त्यसै दिन तरुल उसिनेर राख्छन् । सेलरोटी पनि पकाएर राख्छन् । भोलिपल्ट अर्थात् माघेसङ्व्रmान्तिको दिन ती चिजलाई पुसको पाक्के भनेर खान्छन् । 

छोराले आमा, बाबु तथा दाजुलाई, बुहारीले नन्द आमाजूलाई, दिदीले बहिनीलाई गोडामा ढोग्ने, छोरीबेटीले आमा, बाबु र दाजुलाई,  नन्द, आमाजूले नमस्कार गर्ने प्रचलन छ । 

यस्तै दाजुभाइले दिदीबहिनीलाई, मामाले भान्जालाई गोडामा ढोग्ने, भान्जाले मामालाई, सम्धी सम्धी र सम्धिनीबिच र सम्धिनी सम्धिनीबिच नमस्कार गर्ने गरिन्छ । बुहारीले सासूलाई, देउरानीले जेठानीलाई गोडामा ढोग्ने, जेठानीले देउरानीलाई आशीर्वाद दिने गरिन्छ । 

विभिन्न ठाउँमा बस्ती छिरलिएको तर आफ्नो समुदायको बस्ती भने प्रायः एकत्रित भएर बस्तै आएको खवास जातिको आफ्नै पहिचान छ । संस्कार, संस्कृति खसआर्यसँग मिल्ने, हिन्दु सनातन धर्म मान्ने, बेग्लै मातृभाषा नभएको जाति यो हो । 

खानपिन, केही चलनचल्ती र परम्परा चाहिँ गुरुङ समुदायसँग मिल्दोजुल्दो पनि भेटिन्छ । स्थानीय बासिन्दा छरछिमेकीको सङ्गतले गर्दा बोलीचालीमा कहीँ गुरुङ जातिको, कहीँ ठकुरी जातिको र कहीँ मगर जातिको लवज पनि भेटिन्छ ।