• २३ माघ २०८२, शुक्रबार

खोला गड्तीरमा दैनिक पाक्छ खुदो र सखर

blog

खुदो र सखर बनाउन व्यस्त किसान । तस्बिर : राधा लुइटेल

राधा लुइटेल

फिदिम, माघ २२ गते गते । पाँचथरको हिलिहाङ र फिदिम नगरपालिकालाई सिमाना छुट्याएर बग्ने हेंवा खोला गड्तीरका किसानलाई हिजो हाज उखु काट्ने, धोइ पखाली गर्ने र त्यसपछि खुदो र सखर बनाउने चटारो छ ।

हरेक हिँउदको पुष १५ देखि फागुन १५ सम्म उनीहरुको व्यस्तता यस्तै हुन्छ । हेँवा खोला आसपास उत्पादित ज्ञवरा जातका उखु पकाएर तयार पारिएको सखर औषधीका रुपमा प्रयोग हुने भएकाले यस क्षेत्रका किसान धान खेती छोडेर उखु रोप्न थालेका हुन् ।


किसानका अनुसार फागुन–उखुका विरुवा फागुन–चैत महिनामा रापिन्छ । ती बिरुवा बैशाखदेखि गोलमेल गरिन्छ ।

ती उखु पुष १५ भित्रै वयस्क भएर रस पेल्न योग्य हुन्छन् । यस क्षेत्रमा उत्पादित उखुबाट प्रायः किसान सखर नै बनाँउछन् । अगुवा किसान टिकारामा पोखरेलका अनुसार यी फाँटमा किसानले परापुर्वकालबाटै उखु खेती र सखर बनाउँदै आएका हुन् । अहिले फिदिम ४ र हिलिहाङ ७ मा मात्रै २५ परिवारले व्यवसायिक उखु खेती गरिरहेका छन् ।


यहाँ उत्पादिन उखुबाट निर्मित खुदो र सखर जिल्लाका विभिन्न स्थानबाट आएका उपभोक्ताले घरैबाट किनेर लैजान्छन् । यो सँगै झापा, काठमाडाैं र पोखरासम्म निर्यात हुने गरेको किसानहरु बताँउछन्। उच्च रक्तचाप, मधुमेह र कमलपित्त भएका विरामीले पनि खान मिल्ने ज्ञवरा जातको उखु पेलेर तयार पारिएको सखर औषधीय गुणले युक्त मानिन्छ ।

सखर चाकु,कसार,मिठाई लड्डु आदीमा पनि प्रयोग हुन्छ । केहि उपभोक्ताले चियामा पनि सखर मिलाएर पिउने गर्छन् ।